समाचार

जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेट

By खबरहब

October 15, 2024

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको छ । 

उनीहरू बीच मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढीमा भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्ताका क्रममा कैद गरिएको तस्बिर विप्लवको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको छ । 

सीपीएन अफिसियल (विप्लव सी सचिवालय) नामक फेसबुक अकाउन्टबाट प्रभाकर र विप्लवको तस्बिर सार्वजनिक गरिएको हो । 

तस्बिरसँगै लेखिएको छ, ‘नेकपाको जनकम्युनमा प्रभाकर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बीच शिवगढीस्थित महासचिवको निवास भोकरमा भेटघाट भएको छ ।’

भेटका क्रममा दुई नेताहरूका बीचमा भएको छलफलका बारेमा भने विप्लवको सचिवालयले केही खुलाएको छैन ।