हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी राजनीतिक स्थिरताका कुरा पनि गरिराखेका छौं । सबै हिसाबबाट सतहमा हेर्दाखेरि सबै ठिकठाक छ । तर नागरिकको हिसाबबाट हेर्दा एकदमै चरम निराशा छ । एकदमै शून्यता छ, कुनै पनि हिसाबबाट भरोसायोग्य भएन, मेरो भाग्य पनि भएन, मेरो भविष्य पनि भएन भन्ने मात्रै भाष्य स्थापित भएको छ । यसमा मेरो तीन वटा किसिमका उत्तर छन् ।
एउटा संविधान संरचनाको कुरा छ । त्यसमा पनि यो सर्वसम्मत आएको होइन । हेर्नुस् यो एउटा सम्झौता, त्यति बेला संविधानसभा पूर्ण बहुमतबाट पास भए पनि कतिपय जस्तो संघीयतालगायतका विवादास्पद मुद्दाहरू जनमत विपरीत एउटा छ । आम जनताबाट सुझाव एउटा आएको छ । त्यस विपरीत थोपरिएको र त्यसको वकालत गर्ने पार्टीहरूले हाम्रो उपलब्धि नै त्यही हो भन्न थालेका छन् । जबकि जनताले त्यसलाई उपलब्धि मान्दैनन् , बरु विवादको चुरो ठान्छन् ।
अर्को, संविधान संरचनाले दुई-दुईचोटि संविधानसभा बनायो, त्यो ठिक छ । एउटा परिवर्तन ल्याउनु थियो मुलुकमा । अहिलेलाई लोकतन्त्र सुरक्षित छ भन्ने भयो । अर्को, संरचनाले मात्रै पनि हुँदैन, के संरचना चलाउने ? ड्राइभर कस्तो हुन्छ ? गाडी त एकदम राम्रो हामीले ल्याउँला तर त्यो चलाउने मान्छे कस्तो छ ? त्यसमा भर पर्छ ।
राजनीतिक सीटमा बसेकाहरू कोही गतिला भएनन् । र हरेक सङ्गठनमा लिडरसीप क्राइसिस भयो । त्यसको फाइदा उठाउन केही मान्छेहरू विकल्प हामी हौँ भनेर आए । हुँदाहुँदै अहिले राजनीतिमा नलागे पनि भोलि राजनीतिमा आशिका तामाङ जस्तो सडकबाटै हरेक कुराको समाधान चाहन्छन् । लोकप्रियतावादमा विश्वास गर्छन् ।
कानून नियमसँग मतलब छैन । मानिसको निराशा र दुखलाई भजाएर यस्ता किसिमका मान्छेहरू आएका छन् । यसले गर्दा अब राजनीतिमा ठूलो सुधारको आवश्यकता देखिराखेको छ । प्रणालीमा पनि देखिएको सुधार गर्नुपर्छ । अहिले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा पनि आएको छ । दुई प्रमुख दलहरूले सरकार बनाउँदा पनि संविधान संशोधन गर्नुपर्छ भनेका छन् । यो खाली एउटा देखावटी भन्नको लागि मात्र हैन । गठबन्धनको औचित्य साबित गर्न मात्र हैन । वास्तवमै त्यो गर्नुपर्ने भएको छ । तर उहाँहरू त्यसमा कत्तिको इमानदार हुनुहुन्छ ?
हामी भन्छौँ– यो प्रदेश, संघीयता चाहिँदैन तर उहाँहरूले थ्रेसहोल्डमा जोड दिनु भएको छ । थ्रेसहोल्ड पनि समस्या हो । थोरै थ्रेसहोल्ड राखेर गर्दा हुन्छ । त्यसैले संविधानभित्रैबाट संशोधन गरेर बिस्तारै यी कुराहरू गर्दै जानुपर्छ । र नेतृत्वले देशलाई सुशासन गराउन सक्ने समृद्धि दिन सक्ने त्यो अहिले देखिँदैन ।
अब पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी शर्मा ओली यतिका वर्ष प्रधानमन्त्री भइसक्नु भयो । अब के हुन्छ त उहाँहरूबाट । ‘अब म प्रधानमन्त्री हुँ, मेरो स्वास्थ्यले साथ दिउन्जेलसम्म म र मेरा वरपरका आसेपासेहरूलाई सुरक्षित स्थान दिऊँ, बनाइदिऊँ । भोलि चुनाव जित्न शक्ति, स्रोत र पैसा सङ्कलन गरौँ । चुनाव जितेर आऊँ’ भन्ने उहाँहरूले अब गर्न सक्ने केही छैन । त्यसैले पुस्तान्तरण गरेर अहिलेको चुनाव हारे पनि १० वर्षपछि भए पनि फर्केर आएर राजनीति गर्न सक्छु, देश बनाउँछु भन्ने पुस्ता चाहियो ।
अहिले आएका गगन थापा, विश्वप्रकाशहरू छन् तर भोलि उनीहरू नबिग्रेलान् त भन्न सकिँदैन । नत्र के मा आस गर्ने त ? यहि पारामा जितेर आउँछन् , आफ्नो स्वार्थको लागि सत्तामा पुग्छन् । गठबन्धन गरिरहन्छन् । यसै छोड्ने हो कि सामना गरेर अगाडि बढ्ने हो त ?
अब सिस्टमबाहिरबाट त नेतृत्व कोही आउँछ । राजा आउँछ भन्दा राजाले गरेको पनि हामीले देखेका छौँ । राजाले सुशासन दिने भ्रष्टााचार रोक्ने भएको भए त यस्तो हुँदै हुँदैनथ्यो ।
स्थानीय तहदेखि माथिसम्म नीतिगत भ्रष्टाचार गर्ने, मन्त्रिपरिषद्बाट नीतिगत निर्णय भन्दै करोडौं, अरबौँका ठेक्काहरू हात पारेर आफ्नो मान्छेलाई पार्ने चुनावका लागि पैसा जम्मा गर्ने काम भएको छ । अब त्यसमा सुधार गरेर जानुप¥यो र नेतृत्व फरक खोज्नु पर्यो ।
कांग्रेसका उपसभापति धनराज गुरुङले निराश पार्नुभयो । भोलि कांग्रेस पार्टीको नेतृत्वमा पुग्न सक्ने भनेको मान्छे कस्तो एक्टिभ, जता पनि कोही कांग्रेस पार्टी कार्यकर्ताको घरमा आमा बितेको ठाउँमा पुग्ने मान्छे अहिले आर्थिक अपचलनमा पर्नुभयो । अब त्यसबाट चोखिन सक्नुहुन्छ कि हुन्न ?
सहमहामन्त्री बद्री पाण्डे व्यक्तिगत रूपमा राम्रो भन्ने रिपोर्टहरू आएका छन् । तर शासकीय कुशलता भएन त्यो सिक्नु पर्यो उहाँले । खाली आदर्श भएर मिठो बोली बोलेर मात्र भएन । प्रदीप पौडेलमा केही गरौँ भन्ने हुटहुटी छ । उहाँ पहिलो पटक मन्त्री हुनु भएकोले यसअघिको अनुभव छैन । त्यसमा कुन चिज कस्तो भन्ने थाहा छैन । गगन थापा पहिलोचोटि स्वास्थ्यमन्त्री हुँदा विज्ञहरूको टोली बनाए । बजेट छ कि छैन यो कुरा गर्नुपर्ने रहेछ भन्ने सुनेर आफूले निर्णय गरे । उनीसंग निर्णय क्षमता छ । देशमा ०४६ सालभन्दा अगाडि कति बाटाघाटा थिए ? कति स्कुल थिए ? कति हस्पिटल थिए ? नेपाली औषधि उपचार गर्न दिल्ली जानुपथ्र्यो । गाउँ गाउँमा बाटो पुगेका छन् । यी तथ्यांकले भन्छ– हुँदै नभएको पनि होइन ।
वैदेशिक ऋणले मात्रै त्यो भएको हैन । कोही कांग्रेसका मन्त्रीहरू पैसा कमाउनतिर लागे । गिरिजाबाबुले कहिले पनि सुशासनका कुरा पढ्नु नै भएन । त्यो पार्टी विधिको शासनमा अलिकति चुकेकै हो । त्यो बेला उहाँले बौद्धिक नेतृत्व लिनु भएको भए अहिले यो अवस्था आउने थिएन होला । तर त्यति बेला लिएको उदार नीतिले नै यो देशमा एयरलायन्सहरु आएका हुन् । नेपालीले पासपोर्ट पाएर विदेश जान पाएका हुन् । बाहिर जानु नै नराम्रो भन्ने हैन । अमेरिकातिरका मानिसहरू पनि बाहिर जान्छन् । चिनियाँहरू पनि आफ्नै देशमा विकास हुँदा पनि कमाउन बाहिर गएका छन् ।
अहिलेको पुस्ताको नेतृत्वका ओलीको अलिकति बौद्धिकता त छ तर गुट बनाउने र प्याच्च बोल्ने बानी छ । प्रचण्डको जसरी पनि सत्तामा जाने । पुरानाप्रति मान्छे विरक्त भएर निराश भएर नै त्यसैको भोट राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका स्वतन्त्र पार्टीले पाएका हुन् । तर अहिले बालेनको आफ्नै छुट्टै भिजन छ । दल खोल्लान् नखोल्लान् तर जुनसुकै हिरो भए पनि राष्ट्रपति भन्दा बाहेक अहिले हाम्रो दलीय व्यवस्थामा उहाँले भोलि के गर्नुहुन्छ थाहा छैन । हर्क साम्पाङको बौद्धिक प्रदर्शनमा खडेरी छ । रास्वपाको कुरा गर्दा यसले जति निराश कुनै पार्टीले बनाएन ।
कांग्रेस एमाले बिग्रिन ३५ वर्ष लाग्यो । उनीहरू त्यो भन्दा अगाडि त क्रान्ति गरेर आन्दोलन गरेर पञ्चायत विरुद्ध लडेर जेलनेल खाएर, दुख पाएर, जागिर खान नपाएर, सर्वस्वहरण भएर लोकतन्त्रका लागि भएका आएका हुन् । उनीहरू त आज आएर यस्तो भए भने यी रास्वपा त फौजदारी एकपछि अर्को मुद्दा लागेको, ठगीको मुद्दा लागेको र कानूनी प्रक्रियामा जाँदा पनि खाली स्टन्टबाजी गर्ने, अर्कालाई कराउने, हरेक कुरामा विवाद छ । भोलि आफ्नो कुरामा सफाइ दिने, नम्र भएर प्रस्तुत हुनु त कहाँ हो कहाँ आफैँ अगाडि बढेर पहिलेकाले यसो गरेका थिए, हामीलाई यस्तो भन्ने भनेका छन् ।
गाउँ गाउँमा यी नै ठूला पार्टीका कार्यकर्ता मतदाता छन् । नेपालमा बंगलादेशको तुलना गर्नु हुँदैन । सेख हसिनाको अत्याचार धेरै थियो । नेपालमा त कांग्रेस एमालेले घर घरमा पुगेर अत्याचार त गरेका छैनन् । काम गरेनन् भन्नेमा निराशा बढेको हो । शुद्धीकरण अब दल भित्रैबाट आउनु पर्छ । अहिले नभए अर्को पुस्ताबाट आउँछ । नागरिक समाजले खबरदारी गर्दै जानु पर्छ । (पूर्वप्रशासक तथा विश्लेषक जैनेन्द्र जीवनले राखेको धारणाको सम्पादित अंश )