दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै थिए। मादल बनाउने उनको दैनिकी नै हो ।
६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गरेका हुन् । बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उनले मादल बनाउन सिकेका हुन् ।
पुर्ख्यौली पेसालाई निरन्तरता दिन आफूले यो पेसालाई अवलम्बन गरेको सार्कीले बताए। तर, केही समययता मादल बनाउन छाला नपाउँदा उहाँलाई समस्या हुन थालेको छ ।
‘बाबुकै कारणले म यो पेसामा पनि छु, मसँगै सीप सिकेर छोराले खैरेनीटारमा मादल पसल खोलेको छ’, उनले भने, ‘अहिले छाला नपाउँदा मादल बनाउन समस्या हुन थालेको छ ।’
नारायणगढ, कावासोती, पुट्टारलगायत ठाउँमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए। शुक्लागण्डकी नगरपालिका–९ मा गौ संरक्षण केन्द्रमा मरेका गाईका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उनले बताए।
उनले भने, ‘स्थानीयस्तरमा छाला फालिएको छ । नगरपालिकासँग आग्रह गरेको छु । निश्चित शुल्क तिरेर यही छाला किन्न पाए सजिलो हुन्थ्यो ।’
उनले मादलसँगै सारङ्गी, खैजडी, झ्याली, दमाहा, ढोलकी, टेम्पोलगायत वाद्यवादनका सामग्री बनाउँदै आएका छन् । त्यसका अलवा आरन पेसालाई पनि सँगसँगै अगाडि बढाएको उनको भनाइ छ ।
उनले भने, ‘म यो पेसाबाट सन्तुष्ट नै छु । तर विगतका वर्षजस्तो व्यापार छैन, निर्वाह भने चलेकै छ ।’ पछिल्लो समय आधुनिक वाद्यवादनका सामग्री प्रयोग बढी हुँदा मादल बिक्री कम हुन थालेको उनको भनाइ छ । यही पेसाबाटै घरखर्च चलिरहेको बताउँदै सार्कीले भने, ‘अहिलेसम्म चलेको यही पेसाबाटै हो । यसमा सन्तुष्ट नहुनुपर्ने कारण छैन ।’