काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र बुझाइमा एकरूपता नभएको बताएका छन्।
‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक’ राष्ट्रिय कार्यशालालाई आइतबार च्यासलमा सम्बोधन गर्दै पोखरेलले पार्टीको नीति सिद्धान्त र बुझाइमा सबैको एकरूपता चाहिने बताएका हुन् ।
उनले एमालेका केन्द्रदेखि स्थानीय तहसम्मका कमिटीमा एकताको भावना हुनुपर्ने बताउँदै सबैलाई पार्टीमा एकताबद्ध गराएर अघि बढ्नुपर्ने पनि उल्ललेख गरे ।
‘जनसेवाको भावनाले ओतपोत हुनेका मान्छेहरूको पार्टी बनाउनुपर्छ । यसो भयो भने अन्य पार्टीलाई परास्त गर्न सजिलो हुन्छ। जनसेवाको भावनाबाट विमुख हुँदा पार्टी नेतृत्वका रूपमा कार्यकर्तालाई विकास गर्न सकिँदैन।’
पार्टी नेतृत्वमा माथिदेखि तलसम्म एउटै विचार र सिद्धान्त नहुने भने पार्टी अगाडि बढ्न नसक्ने भन्दै गतिशील संगठन बनाउन नेतृत्वबीचमा पनि छलफल हुनुपर्ने बताए ।
‘चेन अफ कमान्ड कमजोर भए पार्टी अगाडि बढ्न सक्दैन। यसमा भर पर्नुपर्छ तर त्यसका कमजोरी सच्याउन पनि लाग्नुपर्छ । माथि होस् या तल चेन अफ कमान्ड दह्रो हुनुपर्छ’, उनले भने, ‘यो चिज बलियो बनाउन सके पार्टी मजबुत भएर जान्छ। पार्टीमा भावनात्मक एकता हुनुपर्छ ।’
उनले नेता-कार्यकर्ताले संगठन र विचारमा स्वामित्व खोज्ने भन्दै यसका लागि व्यापक छलफल र विमर्श गरेर स्वामित्व बोध हुने गरी काम अगाडि बढाउनु जरुरी रहेको पनि उल्लेख गरे ।