काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेलमा कुशल भुर्तेल कप्तानीको पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ५ रनको झिनो हार बेहोर्यो ।
सुदूरपश्चिमसँगको मैदान उत्रिनुअगावै पोखराको प्लेअफको सम्भावना समाप्त भएको थियो । पोखराले लिग चरणका सात खेलमा दुई मात्रै जित्यो । लुम्बिनी लायन्स पहिलो जित र र विराटनगरबोल्टससँग सुपर ओभरमा पुगेको खेलमा पोखरा विजयी भएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनरसमेत रहेका पोखरा एभेन्जर्स कप्तान कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा लुम्बिनी जस्तै लिग चरणबाटै बिदा हुने टोली बन्यो ।
धरहरा परिसरमा गत मंसिर ११ गते आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आठै टिमका कप्तानको प्रशंसामा शब्द खर्चिएका थिए ।
आठ टिमका मार्की खेलाडीबाट ट्रफी सार्वजनिक कार्यक्रममा ओलीले पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलेको पनि खुलेर प्रशंसा गरेका थिए। ओलीले कुशलको प्रशंसा गर्दै ‘बलर हुन् कि ब्याटर छुट्याउन गाह्रो’ भनेका थिए । तर यस पटक कुशले न त बलिङ न त ब्याटिङ, कतै पनि कुशलता देखाउन सकेनन् ।
ओलीले मंसिर ११ मा कुशलको खेल कौशल आफूले मात्रै नभएर विश्वले नै छुट्याउन नसकेको पनि उल्लेख गर्न भ्याएका थिए ।
‘पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्याउन गाह्रो हुने उनको कौशल छ’, ओलीले भनेका थिए, ‘मैले मात्र होइन, विश्वले नै छुट्याउन सकेको छैन जस्तो लाग्छ । यसपटक ९९ मा आउट हुन नपरोस्। शतक हान्नु, मेरो शुभकामना छ ।’
ओलीद्वारा फूलबुट्टा भरेर प्रशंसा गरिएका उनै कुशल जारी एनपीएलमा फ्लप हुँदा उनी नेतृत्वको पोखरा एभेन्जर्स पनि प्रतियोगिताबाट बिदा भएको छ ।
जारी प्रतियोगितामा कुशलको ब्याटिङ नचल्दा त्यसको असर पोखरालाई पनि पर्यो । उनले दुई खेलमा रनको खाता नै खोल्न सकेनन् । दुई खेलमा दोहारो रन बनाउन सकेनन् । ६ खेलमा ब्याटिङमा उत्रिएका उनले जम्मा ५४ रन जोडे ।
७ मध्येमा ६ भुर्तेलले खेलमा भुर्तेलले ब्याटिङ गरे । चितवन राइनोजसँगको लिगको आफ्नो पहिलो खेलमा शून्यमा आउट भए । त्यस खेलमा उनी पहिलो ओभरको पहिल्यै बलमा आउट भएका हुन् । सोहल तानवीरले भुर्तेललाई रवि बोपारामार्फत क्याट गराए ।
दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पनि भुर्तेलको ब्याटिङ सम्झनलायक रहेन । ६ बलमा ६ रन जोडेर उनी पवेलियन फर्किए । ललितको बल सामना गर्दा भुर्तेल आशिफ शेखमार्फत क्याच आउट भए ।
तेस्रो खेल अर्थात् लुम्बिनी लायन्सविरुद्ध भुर्तेलले ब्याटिङ गर्नु नै परेन । ओपनरद्वय दिनेश खरेल र एन्ड्रिज गौसले १७६ रनको कीर्तिमानी साझेदारीले पोखराले लुम्बिनीविरुद्ध जित निकाल्यो । प्रतियोगितामा पोखराको यो पहिलो जित हो ।
कर्णाली याक्सका बलरमासामु पनि भुर्तेल निरीह बने । पोखराको उक्त चौथो खेलमा भुर्तेलले कर्णालीविरुद्ध मात्रै १० रन जोडे ।
पाँचौ खेल अर्थात् विराटनगर किङ्सविरुद्ध भुर्तेलले ३१ रन जोडे । जुन उनले प्रतियोगितामा जोडेको सर्वाधिक रन हो ।
काठमाडौं गुर्खाजविरुद्धको खेलमा अर्थात् पोखराको छैटौं खेलमा भुर्तेलले दोहोरो रन बनाउन सकेनन् । १० बल खर्चेर ७ रनको अवस्थामा उनी मैदानबाट बाहिरिनु पर्यो ।
पोखराको लागि एनपीएलको अन्तिम खेल अर्थात् सुदूरपश्चिमविरुद्ध भुर्तेलको ब्याटिङ फ्लप भयो । ३ बल सामना गरेर उनी रनको खाता नखोली आउट भए । उनलाई स्कट कुग्गेलिजनले ब्रान्डन म्याकमुल्लेको क्याचमार्फत् शून्यमै आउट गरेका हुन् ।