काठमाडौं – लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । गायिका आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर अभिनेता राजेश हमाल र राष्ट्रिय सिनियर क्रिकेट टोलीका कप्तान रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन् ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरी जर्सी डिजाइन गरिएको क्लबको दाबी छ । गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा रहेको छ भने बायाँ भागमा आक्रामक अवतारको सिंहको टाउको प्रतीक छ ।
भगवान बुद्धको जन्मस्थान लुम्बिनी नेपालको एक पवित्र बौद्ध तीर्थस्थल हुनुको साथै विश्व सम्पदा स्थल पनि हो । विश्वका प्रमुख पवित्र धार्मिक स्थलहरूमध्ये लुम्बिनी एक हो, जसको भ्रमण गर्न बुद्धले आफ्ना अनुयायीहरूलाई सल्लाह दिएका थिए ।
जर्सी अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी आनी छोइङ डोल्माले भनिन्, ‘आज लुम्बिनी लायन्सको जर्सी औपचारिक रूपमा लोकार्पण भएको छ, मलाई एकदमै खुशी लागेको छ । जसरी संसारभरका सबै मानिसहरूको मन मस्तिष्कमा शान्ती फैलाउन भगवान बुद्धको भूमिका रहेको छ, त्यसैगरी लुम्बिनी लायन्सले पनि सबै जनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने कामना गर्दछु ।’
जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्स क्लबका ब्राण्ड एम्बास्डर राजेश हमालले भने, ‘क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रूपमा काम गरेको छ । हरेक वर्ग, उमेर र आस्थाका मानिसहरूलाई क्रिकेटले एकै ठाउँमा ल्याएको छ । लगाव, समूहमा मिलेर काम गर्ने क्षमता र दृढ अठोट – यी कुराहरूले हरेक क्रिकेट खेलाडी र क्रिकेट प्रेमीहरूलाई एकताबद्ध गर्दछन् र मलाई व्यक्तिगत रुपमा पनि यी गुणहरू अति आवश्यक लाग्छन् ।’
उनले लुम्बिनी लायन्सको जर्सी क्लबको पहिचान मात्र नभएर क्रिकेटरहरूको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरूको अटुट साथको प्रतिविम्ब पनि रहेको तर्क गरे । लुम्बिनी लायन्स क्लबमार्फत नेपाल प्रिमियर लिग एवम् समस्त नेपाली क्रिकेटसँग जोडिएर युवा क्रिकेटरहरूको प्रतिभालाई नजिकबाट नियाल्न पाउँदा आफू निकै उत्साहित भएको हमालले बताए ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, ‘आज हामीले लुम्बिनी लायन्सको जर्सी लुम्बिनीबाटै सगौरव सार्वजनिक गरेको छौँ । सम्पूर्ण लुम्बिनीबासीको भावना र लुम्बिनीको ऐतिहासिक तथा साँस्कृतिक महत्त्वलाई समेट्ने गरी हामीले यो जर्सी डिजाइन गरेका छौँ ।’
निलो रङ्गले सम्पूर्ण नेपालको शान्ति र समृद्घिको भावना बोकेको र सुनौलो रङ्गले लुम्बिनीभित्र रहेको अखण्ड दीपको प्रतिनिधित्व गरेको उनले बताए । साथै, सिंहको रङ्ग पनि सुनौलो नै हुने भएकोले सुनमा सुगन्ध छाएको जिसीको दाबी छ ।