समाचार

हिरासतमा ध्यानमग्न बमजनमाथि आरोपै आरोप

By खबरहब

January 16, 2024

काठमाडौं– आफूलाई तपस्वी बताउने रामबहादुर बमजन अहिले सर्लाहीको प्रहरी हिरासतमा छन् । मसला नहालेको ‘भेज’ खाना खाँदै हिरासतभित्रै योग र ध्यान गरिरहेका बमजनमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । बाल यौन हिंसाको आरोपमा काठमाडौंको बूढानीलकण्ठबाट पुस २४ गते ३ करोड रुपैयाँ भन्दा बढी नगदसहित समातिएका उनमाथिको आरोप भने एउटा मात्र छैन ।

सर्लाही जिल्ला अदालतले बमजनलाई ०७६ माघ २३ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । उनी झण्डै चार वर्षपछि पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्न ७७ वटै जिल्लाका प्रहरीलाई सजग गराई केही वर्षयता खोजी गरिँदै आएको सीआइबीले बताएको छ ।

पुस २४ गते पक्राउ परेका बमजनलाई प्रहरीले काठमाडौंमा सार्वजनिक गरेर २६ गते जिल्ला अदालत सर्लाहीमा पेश गरेको थियो । सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको छ । बमजनमाथि सर्लाहीको आश्रममा रहँदा आनीमाथि बाल यौन हिंसा गरेको आरोप छ ।

बमजनलाई पक्राउ गर्दा उनको घरमा छापा मारेको प्रहरीले कुल ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बराबरको नगद बरामद गरेको थियो । त्यस्तै १७ देशका विदेशी मुद्राहरू ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको बरामद गरेको थियो । उनीलाई विदेशी मुद्रा अपचलनमा समेत कारवाही हुने प्रहरीको भनाइ छ ।

के के छन् बमजनमाथिका आरोप ?

बाल यौन हिंसाको आरोपमा समातिए पनि बमजनमाथि अन्य थप आरोपसमेत लाग्दै आएको छ । यी आरोपहरुमा व्यक्तिलाई बेपत्ता पारेको र हत्यासम्म गरेको भन्नेसम्म छन्, जसको अनुसन्धान र पुष्टि हुन भने बाँकी नै छ ।

बमजनका मुख्य सहयोगी बाराका सुरेश आले मगर ८ वर्षदेखि बेपत्ता छन् । घरमा बसेका आलेलाई २०७२ जेठ दोस्रो साता बमजनको संरक्षण समितिको अगुवाइ गर्ने जसबहादुर वाइवाले लगेको परिवारको दाबी छ । त्यसयता उनी परिवारको सम्पर्कमा छैनन् ।

नुवाकोटको साबिक देउराली हाल मेघाङ– ३ की चुन्मो भन्ने चिनीमाया तामाङ ०६९ असोजदेखि बेपत्ता छिन् । उनी बमजनको सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रमबाट हराएको परिवारको दाबी छ ।

त्यस्तै, मकवानपुर हेटौंडा– १६ हटियाकी डोल्मो भन्ने फूलामाया रुम्बा २०७१ माघदेखि बेपत्ता छिन् । उनी पनि बमजनको सिन्धुपाल्चोक आश्रममा पुगेकी थिइन् ।

मकवानपुर हेटौंडा– १३ का सञ्चलाल वाइवा २०७१ चैतदेखि सिन्धुपाल्चोक आश्रमबाट बेपत्ता छन् । सर्लाही बागमती नगरपालिका काजीराम टोलकी रिता बोटे पनि बमजनको आश्रमबाट बेपत्ता रहेको परिवारको गुनासो छ ।

रौतहटकी एक युवतीले आफूलाई बम्जनले बलात्कार गरेको आरोप लगाएकी छिन् । उनले पत्रकार सम्मेलन गरेर त्यस्तो दाबी गरेकी हुन् । बमजनले हलखोरियास्थित तपस्या स्थलमा स्लोभाकियाकी मारिची नामकी महिलालाई बन्धक बनाएको आरोप छ ।  उनलाई प्रहरीले मुक्त गरेको थियो । स्लोभाकियाकी मारिचीसँगै निजगढ– ८ की एक महिलालाई पनि बन्धक बनाएको उनीमाथि आरोप छ । उनलाई पनि प्रहरीले मुक्त गराएको थियो ।

बमजनका नाममा दोहोरो जन्मदर्ता बनेको अर्को आरोप छ । रामलाल बमजनका नाममा जन्मदर्ता बनाएका उनले पछि धर्म संघ बमजनका नाममा दोस्रोपटक जन्मदर्ता गराएर सोही अनुसारको नागरिकता र रातो पासपोर्ट माग गरेका थिए ।

उनले २०६३ सालमा हलखोरिया जंगलमा रतनपुरीका एक युवामाथि तरबार प्रहार गरेको प्रहरीको दाबी छ ।

को हुन् बमजन ?

रामबहादुर बम्जनको घर बारा साविकको रतनपुरी गाविस ५ हाल निजगढ नगरपालिका ११ बुम्जोर हो । उनी पाँच दाजुभाइमध्ये साइँला हुन् । कक्षा ५ सम्म अध्ययन गरेका गरेका उनी बाराको जंगलमा तपस्या गरिरहेको अवस्थामा भेटिएपछि रामबहादुर बम्जनका नामले चिनिन थालेका हुन् ।

लामा शिक्षा पढ्न भारत गएका बम्जन एक वर्षमै नेपाल फर्किएका थिए । त्यसपछि उनी रतनपुरीको जंगलमा तपस्या गरिरहेको अवस्थामा भेटिएका थिए । २०६२ सालमा पहिलो पटक रतनपुरीको जंगलमा भेटिँदा बम्जन १५ वर्षका थिए । तपस्यामा रुचि भएको र  बुद्धसँगको तुलनाका कारण उनी ध्यानमा बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनको भिड लाग्ने गरेको थियो ।

अनुयायीहरूले विस्तारै उक्त क्षेत्रलाई धार्मिक ध्वजापताकाले सुसज्जित गरेपछि उक्त स्थान विस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो । उनी नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल भए । त्यसपछि उनले तपस्वीको भेष धारण गरे ।

बारा, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली लगायत ठाउँहरूमा आश्रम खोलेका बमजनले नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको संख्यासमेत बढाउँदै लगे ।

तपस्वीकै भेषमा बमजन वैवाहिक बन्धनमा पनि बाँधिएका थिए । उनी आफ्नै आश्रममा आएकी एक युवतीसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् । हाल ३४ वर्षका बम्जनका श्रीमती, एक छोरा र एक छोरी छन् ।