क्रिकेट

८ वर्षपछि एसिया कप खेल्ने नेपालको सपना अधुरै

By खबरहब

February 16, 2024

काठमाडौं – नेपाली महिला क्रिकेट टोलीको ८ वर्षपछि एसिया कप खेल्ने सपना अधुरै भएको छ ।

एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना सकिएको हो ।

मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ११५ रन बनायो । ११६ रनको विजयी लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेट्टायो । मलेसियाको जितमा इल्सा हन्टरले ६९ रन बनाइन् ।

नेपालकी कबिता जोशीले दुई विकेट लिइन् ।

यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले २९ रन बनाउँदा डली भट्टले २४ रन बनाइन् ।

मलेसियाको जितसँगै एसिया कप खेल्ने टिमको टुङ्गो लागेको छ । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै एसिया कपमा छनोट भएको थियो । अब एसिया कप वुमन्स प्रिमियर कपको फाइनलमा युएई र मलेसिया खेल्नेछन् ।

एसिया कपमा भने मलेसिया र युएईसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो ।