तस्बिर- रोयटर्स

अन्तर्राष्ट्रिय

रुसी दण्ड शिविरमा पुटिनका आलोचक नभाल्नीको मृत्यु

By खबरहब

February 16, 2024

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सेइ नभाल्नीको मृत्यु भएको छ । रुसी कारागार सेवाले नभाल्नीको मृत्यु भएको पुष्टि गरेको हो । उक्त कारागारमा नाभाल्नीले १९ वर्षको सजाय काटिरहेका थिए ।

रुसको दुर्गम आर्कटिक वृत्तमा रहेको एउटा दण्ड शिविरमा शुक्रबार नभाल्नी अचेत भएका थिए । त्यसलगत्तै ४७ वर्षीय नभाल्नीको मृत्यु भएको रुसी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

राजधानी मस्कोभन्दा १९ हजार किलोमिटर उत्तर पूर्वमा यमालो नेनेट्स स्वशासित जिल्लास्थित खार्प सहरमा रहेको आईके ३ दण्ड शिविरमा राखिएको थियो । शुक्रबार हिँड्दै गर्दा उनी बेहोस भएको संघीय कारागार सेवाले जनाएको छ ।

उनी बेहोस भएसँगै एम्बुलेन्स र स्वास्थ्यकर्मी बोलाइएको थियो । हरसम्भव प्रयत्न गर्दापनि नभाल्नीलाई बचाउन नसकिएको कारागार सेवालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार मृत्युको कारणबारे अनुसन्धान जारी छ । नभाल्नीको मृत्युबारे राष्ट्रपति पुटिनलाई जानकारी गराइएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जनाएका छन् ।