ब्रेकिङ स्टोरी

बाबुरामलाई छाडेर नेसपा र माओवादीबीच पार्टी एकता गर्ने सहमति

By खबरहब

March 16, 2024

काठमाडौँ– नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने सहमति भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा दुवै पार्टीको केन्द्रीय समितिको एकता संयोजन समितिको आज बालुवाटारमा बसेको बैठकले एकता गर्ने निर्णय गरेको हो ।

बैठकमा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेसपाका तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए ।

बैठकमा नेसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई भने बोलाइएको थिएन । भट्टराई पछिल्लो समय माओवादीसँग एकता नगर्ने अडानमा थिए । भट्टराईलाई छाडेर अर्का अध्यक्ष यादवले माओवादीसँग एकता गर्न लागेका हुन् ।

माओवादी र नेसपाको यादव पक्षले एकीकृत पाटीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरेको छ ।

पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न माओवादीबाट गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव रहेको कार्यदल रहेको छ ।