समाचार

राजनीतिक स्थितिको प्रभाव कानून निर्माणमा छ : अध्यक्ष दाहाल

By खबरहब

April 16, 2024

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून निर्माणमा समेत केही प्रभाव परेको बताएका छन्। 

उनले राष्ट्रियसभालाई गरिमामय ढङ्गबाट अघि बढाउन सूचना प्रवाहमा सहज पहुँच स्थापित गर्न आफू सजग र सचेत गरेको विश्वास दिलाए ।

सङ्घीय संसद्का विषयमा कार्यरत पत्रकारसँगको भेटघाटमा अध्यक्ष दाहालले भने, ‘सभालाई कति राम्रो गर्न सक्छु त्यो मेरो खुबी हो, नराम्रो गर्दिन, देश र जनताका निम्ति सबैले केही गरौँ ।’

राष्ट्रियसभामा कुनै पनि विधेयक र प्रस्ताव थाँती नरहेको जनाउँदै उहाँले सभाका गतिविधिलाई सञ्चारमाध्यमले आवश्यक स्थान दिनेमा विश्वस्त रहेको बताए।

सभाका कामकारवाही र गतिविधि गतिशील र चुस्त  भएमा सञ्चारमाध्यम स्वयंले पर्याप्त स्थान दिनेमा ढुक्क हुन सकिन्छ भन्दै अध्यक्ष दाहालले सभालाई कामकाजी, अर्थपूर्ण र व्यवस्थित गर्नका लागि हुने प्रयासमा सञ्चार जगत्को सहयोगको अपेक्षा गरे ।

अघिल्लो अधिवेशनसम्म कार्य जिम्मेवारी पूरा गर्ने हिसाबले राष्ट्रियसभा सफल भएको बताउँदै अध्यक्ष दाहालले  हरेक बैठक, अधिवेशन र कार्यक्रममा सफल हुनेमा दृढताका साथ काम गर्ने विश्वास दिलाए।

सो कार्यक्रममा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र प्रवक्ता एकराम गिरीलगायत सहभागी थिए।