समाचार

सन्दीपले सफाइ पाउँदा स्वागतसँगै सुनियो विरोधको चर्को स्वर, कसले के भने ?

By खबरहब

May 16, 2024

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा बुधबार सफाइ दिइरहँदा बाजागाजा बज्यो, सडकसम्म नाचगानसिहतको जुलुस निस्कियो ।

नेपाली टोलीको कप्तान रहेका बेला क्लोज क्याम्पस छाडेर हिँडका सन्दीपलाई गौशाला २६ नामकी एक युवतीले बलात्कार मुद्दा हालेकी थिइन् । जसमा सन्दीपकै शब्दमा डेढ वर्षदेखिको लगातारको तनावबाट उनलाई केही राहत मिलेको छ ।

तर सन्दीपले उच्च अदालतबाट राहत पाएर अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्ने करिब निश्चित भएको छ । अदालतले सफाइ दिएसँगै नेपाल क्रिकेट संघले उनको निलम्बन फुकुवा गरिसकेको छ भने विश्वकपका लागि पठाउने तयारी पनि थालिएको छ ।

यी घटनाक्रमबीच सन्दीपलाई जिल्लाको फैसला उल्ट्याउँदै उच्चले सफाइ दिएकोमा एउटा तप्का भने आक्रोशित छ ।

अदालतले बलात्कार जस्तो जघन्य मुद्दामा सफाइ दिएर सेलिब्रिटी र स्टारड हुनेहरूका लागि अपराध गर्ने छुट दिएको तर्क उनीहरूको छ ।

जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाइरहँदा स्वागतमा उत्रिएको त्यो तप्काले अब आफ्ना छोरीचेली आफैंले जोगाउनुपर्ने अवस्था आएको पनि जिकिर गरिरहेको छ ।

कसले के भने? युवा कवि सम्पदा रिजालले उच्चको फैसलामाथि कटाक्ष गर्दै एउटा कविता नै लेखेकी छन् ।

उनले जस्तोसुकै अपराध भए पनि अब आफैं सम्हालिने र प्रतिकार गर्ने अवस्था आएको बताएकी छन् ।

उनले `सभ्यता´को यो युगमा पनि सास फेर्ने अधिकारसमेत लिङ्गका आधारमा धेरथोर भाग लगाइरहेको `न्यायालय´ को चित्तले महिलाका बाँच्ने संयोगहरु घटाइरहे बताएकी छन् ।

उनले सम्पत्तिका आधारमा भाग लागेको सास फेर्ने अधिकारले आफूहरूका बाँच्ने संयोगहरु घटाइरहेको जिकिर गरेकी छन् ।

हामी बाँचेकाहरु संयोगले बाँचेका हौँ । जुनसुकै कारणले होस , धन्न हाम्रा भागमा धेरै संयोगहरु परे र जिउँदै छौँ । जुनसुकै बेला छ्यापिन सक्छ एसिड । जुनसुकै बेला हुनसक्छौँ बलात्कृत ! जुनसुकै बेला मारिन सक्छौँ । `सभ्यता´ को यो युगमा पनि सास फेर्ने अधिकारसमेत लिङ्गका आधारमा धेरथोर भाग लगाइरहेको `न्यायालय´ को चित्तले हाम्रा बाँच्ने संयोगहरु घटाइरहेछ । सम्पत्तिका आधारमा भाग लागेको सास फेर्ने अधिकारले हाम्रा बाँच्ने संयोगहरु घटाइरहेछ । यसै पनि संयोगले बाँचेका हामीलाई कसैगरी स्वीकार छैन तिम्रो दासता । एसिड फ्याँक ! बलात्कार गर ! मारेर फाल ! तर हामी त्यही भनिरहनेछौँ जे तिमी सुन्न चाँहदैनौ । त्यही गरिरहनेछौँ, जे तिमी देख्न चाहँदैनौं । एकदिन त कसो नफुट्ला त्यो बिषाक्त कानको जाली ! एकदिन त कसो नफुट्लान ती विषाक्त आँखा। हामी हाम्रा बाँच्ने संयोगहरुको संचितीका लागि लडिरहने छौँ ।

उता अर्का कवि दिलीप बान्तावाले सन्दीपको प्रकरणमा उनले आफ्नो स्टारडम दुरुपयोग गरेको बताएका छन् ।

उनले उच्चको फैसलामा गम्भीर त्रुटी रहेको टिप्पणी गर्दै गौशाला २६ ले पनि आफूलाई सन्दीपले उसको स्टारडम देखाएर दुरुपयोग गरेको बुझेर न्याय माग्दा झनै अन्यायमा परेको उल्लेख गरेका छन् ।

उनले ‘गौशाला २६ माथि अपराध’ शीर्षकमा लामो धारणा नै सार्वजनिक गरेर किशोरवयका छोरीहरू स्वाभिमान खोस्ने काम अदालतले गरेको तर्क पेश गरेका छन् ।

उनी लेख्छन् – तपाईंको छोरी जो किशोरवयमा छिन्। होला तपाईंले उन्नत संस्कारै दिनुभएको छ। अनुशासनको घेरा कोरेर राख्नुभएको छ। तर उनले आफ्नो कुनै आइडल मानेको कोही केटा मान्छेसँग भेट्न तपाईंले रोक्न सक्नुहुन्न। उनी घरबाट बाहिरिन्छिन् कुनै बहानामा ।

त्यसरी बाहिरिएपछि उनले आफ्नो आइडललाई भेट्छिन्। भेटेपछि आइडलले उनलाई आत्मीयता ब्यक्त गरे, समय दिए। काँचको पर्दामा हेर्दै गरेको ख्याति प्राप्त मान्छे आफ्नै अगाडि त्यो पनि एक्लै भेट्न पाउनु छोरीका लागि अविश्वसनीय घट्ना हो।

आइडलको आत्मीयताले छोरी अझ उनीसँग नजिकिन्छिन्। केही माया, पिरतीका कुराहरू हुन्छन्। जसकाबारे सामान्य धारणा मात्रै बन्दै गरेको छोरीको मस्तिष्कले आफ्नो आइडललाई सबथोक मान्छ। आफू आइडलसँग प्रेममा भएको कुरामा भित्रभित्रै खुसी हुन्छिन्। समय बित्दै जान्छ, साँझ पर्छ, अँध्यारो हुँदै रात पर्छ। राति भएपछि छोरी घर आउन डराउँछिन्। आइडलले सँगै बस्न भन्छन् । आफूले महान् मानेको मान्छे, त्यति धेरै सम्मान गरेको मान्छेसँग थप समय सँगै बस्ने कुरा असामान्य लाग्दैन। ‘म साथीको घरमा बसेँ ल’, घरमा खबर गर्छिन्। विश्वास र भरोसासहितको छोरीको त्यो समर्पण केही दिनपछि मित्थ्या भइदिन्छ । अर्थात् उनको आइडलले आफूलाई प्रयोग मात्रै गरेको थाहा पाउँछिन्। त्यतिबेला छोरीको स्वाभिमान ढल्छ कि उँचो हुन्छ?

छोरीको यो अवस्था थाहा पाएपछि तपाईं बाबुआमा भए के गर्नुहुन्छ ? जे गर्‍यो ठिक गर्‍यो भन्दै चुपचाप बस्नुहुन्छ आइडलको पक्ष लिएर ? छोरीले आफूलाई अन्याय भयो भनिन् भने के गर्नुहुन्छ? छोरीलाई ‘तँ ……..डी, तँ बा…ले, तँ …ल…’ यस्तै यस्तै भन्नुहुन्छ? यदि त्यसो भन्नुहुन्छ भने तपाईंले अहिले मनाइरहेको जयजयकार मन खोलेरै मनाउनुस्, तपाईंलाई कसैले केही भन्न सक्दैन ।

उता काठमाडौंमा रेस्टुरेन्ट व्यवसाय गरिरहेका अमृत बानियाँले पनि सन्दीपले सफाइ पाउँदा जयजयकार गर्नेहरूलाई बलात्कारीकै मतियारको संज्ञा दिएका छन् ।

‘सुरुमा मैले केहीलाई फटाफट फेसबुकबाट अन्फ्रेन्ड गरेको थिएँ । पछि यसो सम्झिएँ मेरा पनि छोराछोरी छन् । तिनले बलात्कार भनेको के हो ? बलात्कारी कस्तो हुन्छ भनेर सोधे भने जवाफ दिनुपर्छ भन्ने सम्झिएँ’, उनी अगाडि भन्छन्, ‘यसरी जवाफ दिँदा ल यी यी बलात्कारी हुन्, यी सम्भावित बलात्कारी हुन् । यीनीहरू बलात्कारीका पुजारी हुन्, यिनीहरूबाट जोगिनु भनेर उदाहरणसहित देखाउन काम लाग्छ भनेर अन्फ्रेन्ड नगरी छोडिदिएँ ।’

आफूलाई समाजशास्त्रीका रुपमा चिनाउँदै आएकी निर्मला ढकालले सन्दीपले सफाइ पाउँदा खुसी साट्नेहरूलाई गएगुज्रिएका भनेकी छन् ।

‘हुन त ७/ ८ वर्षका बालिकासमेत नछोड्ने पुरुषको बाहुल्यता भएको समाजबाट के नै आशा गर्न सकिन्छ र ?’, उनले भनेकी छन्, ‘लेखेर राख्नुस्, नेताभन्दा ज्यादा गएगुज्रेका यहाँका जनता छन् ।’

सन्दीपले उच्च अदालतबाट सफाइ पाउँदा जयजयकार गर्नेहरूबारे पुष्कर विष्टले फेसबुकबाट प्रश्न उठाएका छन् ।

‘बलात्कारका आरोपीले सफाइ पाएकोमा हर्ष बढाइँ गर्ने जमातले कसरी आफ्नो अनुहार आफ्ना आमा, छोरी, दिदीबहिनीलाई देखाउँदा हुन् भनेर मलाई ताजुब लाग्छ’, उनले भनेका छन्, ‘खैर सफाइ पाउनु र निर्दोष हुनु कानुनी भाषामा फरक कुरा हुन्।’

आफूलाई साहित्यकर्मीका रुपमा पनि चिनाउँदै आएका पत्रकार लेनिन बन्जाडे उच्चको फैसलामा गम्भीर प्रश्न उठाएका छन् । उनले दुईजना ‘अन्यायाधीश’ले सन्दीपलाई सही र पीडित भनिएकी गौशाला २६ लाई गलत सावित गरिदिएको उनले बताएका छन् ।

‘दुई थान ‘अन्यायधीश’ले सन्दीपलाई सही र गौशाला-२६ लाई गलत सावित गरिदिए । रुँदै न्याय माग्न अदालतको शरण परेकी गौशालालाई कालो पट्टीले आँखा छोपेको त्यही अदालतले कहिल्यै नपुरिने अर्को चोट दियो’, उनले भनेका छन्, ‘त्यस्ता ‘अन्यायधीश’हरूलाई जीवनभर गौशालाको आँसुले सुत्न नदेओस् । निद्रा नपरेर शिथिल भएपछि सुई लगाउन भेटेरनरी लैजान परोस् ।’

गौशाला २६ को पक्षमा वकालत गरेकी राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले जबरजस्ती करणी जस्तो मुद्दामा उच्च अदालत गम्भीर रुपमा चुकेको बताएकी छन् ।

उनले यो फैसलालाई न्यायिक अपराधको संज्ञा पनि दिएकी छन् । ‘जबरजस्ती करणी जस्तो संवेदनशील विषयमा लिखित आदेश छैन’, उनले भनेकी छन्, ‘अदालतका प्रवक्त्ता प्रफुल्लित मुद्रमा सफाइ पाएको सुनाउँछन् ।’

एकजना पत्रकार पवनवर्षा शाहले उच्च अदालतको फैसलाबारे टिप्पणी गर्दै नेपालमा छोरी चेलीका लागि कानुन नभएको उल्लेख गरेकी छन् ।

‘नेपालमा छोरी-चेलीका लागि कानुन छैन’, उनले छोटो टिप्पणीमा भनेकी छन्, ‘कानुन छ केवल पैसा र पहुँच हुनेका लागि !’

सुदीप खनियाँले सन्दीप प्रकरणमा नेपाल क्रिकेट संघको भूमिकाबारे प्रश्न उठाएका छन्। क्लोज्ड क्याम्पमा रहेको खेलाडी बाहिर निस्किँदा क्यानले केही नबोलेको भन्दै उनले आक्रोश पोखेका छन् ।

‘क्यानले खुशी मनाउनुको कुनै तुक छैन। क्लोज्ड क्याम्पमा बसेको खेलाडी राति निस्कन्छ, होटल घुम्छ, उतै बस्छ’, उनको टिप्पणी छ, ‘तर यो अनुशासनहीनताबारे क्यान चुँ पनि बोल्दैन, प्रश्न उठाउनु त कता कता !’