आर्थिक

कारोबारमा उत्साहसँगै यो साता ५२ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

By खबरहब

May 16, 2024

काठमाडौं–यो साता नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा उत्साह देखिएको छ । सातामा पाँचै दिन कारोबार हुँदा एक दिन ९ अंकले बजार घटेको छ भने अन्य ४ दिन बजार बढेको छ । समग्रमा नेप्से सातामा ५२.५३ अंकले बढेको छ ।

गत हप्ताको बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १९६६.२३ विन्दु कायम रहेको थियो भने यस साता बढेर परिसूचक २०१८.७६ विन्दु कायम भएको छ ।

कारोबारको हिसाबले २ दिन ४ अर्ब माथिको कारोबार भएको छ भने २ दिन ३ अर्ब माथिको कारोबार भएको छ । एक दिन भने २ अर्ब बढी करिब ३ अर्बको कारोबार भएको छ ।

कारोबार र नेप्से परिसूचकको हिसाबले यो सता नेप्से बुल ट्रेन्डमा रहेको देखिएको छ । नेप्से परिसूचक २ हजार माथि पुगेर नेप्सेको मनोवैज्ञानिक रेखा पार गरेसँगै बजारमा उत्साह पनि थपिएको छ ।

एक वर्ष यता नेप्से १८०० देखि २२०० को बीचमा घुमिरहेकाले अब नेप्सेले बुल ट्रेन्ड समात्ने वा वियर ट्रेन्ड के समात्ने हो त्यो त्यसै भन्न सकिने अवस्था भने छैन । यो साता बजारले सकारात्मक रूप लिएको बजारका जानकारहरू बताउने गरेका छन् ।

साताको पहिलो नेप्से बढेर साताको स्वागत गरेको थियो । आइतबार नेप्से ८.२६ अंकले बढेर १९७२.५० विन्दु कायम भएको थियो ।

आइतबार ३ अर्ब ११ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको ६८ लाख १८ हजार ४४९ कित्ता शेयर ४९ हजार २११ पटक किनबेच भएको थियो ।

आइतबार नेप्से परिसूचक उच्चतम १९८१.७९ र न्यूनतम १९६१.८९ विन्दुसम्म पुगेको थियो । आइतबार १२७ कम्पनीको शेयर मूल्य बढ्दा १११ कम्पनीको शेयर मूल्य घटेको थियो । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

गत हप्ताको अन्तिम दिन अर्थात् बिहीबार बाट बढ्न सुरु भएको शेयर बजार लगातार ३ दिन अर्थात् सोमबार पनि बढेको थियो । आइतबार ८ अंकले बढेको नेप्से सोमबार दोबरले अंक २४.३९ अंकले बढ्यो ।

सोमबार बजार बन्द हुँदासम्म नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दु पुग्यो । सोमबार नेप्से उच्चतम विन्दुमा पुग्दा मनोवैज्ञानिक रेखा समेत पार गरेको थियो । उक्त दिन नेप्से उच्चतम २०००.५५ र न्यूनतम १९७०.५४ विन्दुमा पुगेको थियो ।

सोमबार नेप्से भारी अंकले बढ्दा पनि कारोबार भने त्यति ३ अर्ब पुग्न सकेन । २ अर्ब ९६ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ७० लाख ७३ हजार ८६४ कित्ता शेयर ४५ हजार २४५ पटक किनबेच भएको थियो । सोमबार १४८ कम्पनीको शेयर मूल्य बढेको थियो भने ८५ कम्पनीको शेयर मूल्य घटेको थियो । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो ।

शेयर बजारको बुल ट्रेन्ड मंगलबार पनि निरन्तरता पायो । गत बिहीबार ५ अंकले बढ्न सुरु भएको नेप्से मंगलबार एकै दिन २८.६२ अंकले बढ्यो । मंगलबार नेप्से १.४३ प्रतिशतले बढेर २०२७.५१ विन्दुमा कायम भयो । मंगलबार नेप्से उच्चतम २०२७.५९ विन्दु र न्यूनतम १९९९.१४ विन्दुसम्म पुगेको थियो ।

मंलबार नेप्से परिसूचकसँगै करोबारमा पनि उछाल आएको थियो । मंलबार ४ अर्ब माथिको कारोबार भयो । उक्त दिन ४ अर्ब १ करोड ३३ लाख ११ हजार रुपैयाँ बराबरको ८६ लाख ८५ हजार ७४८ कित्ता शेयर ५९ हजार ३०० पटक किनबेच भयो ।

मंगलबार २१९ कम्पनीको शेयर मूल्य बढेको थियो भने २२ कम्पनीको शेयर मूल्य घटेको थियो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

नेप्सेको बुल ट्रेन्डमा बुधबार भने ब्रेक लाग्यो । निरन्तर बढी रहेको नेप्से बुधबार भने ९.५४ अंकले घट्यो । बुधबार नेप्से ०.४७ प्रतिशतले घटेर २०१७.९७ विन्दुमा कायम भयो । उक्त दिन नेप्से परिसूचक उच्चतम २०४८.२९ र न्यूनतम २०१२.५६ विन्दुसम्म पुगेको थियो ।

बुधबार बजार घटेसँगै मंगरबारको तुलनामा कारोबार पनि घट्न पुग्यो । बुधबार ३ अर्ब ६८ करोड ८१ लाख ३१ हजार रुपैयाँ बराबरको ७८ लाख ८७ हजार ९ कित्ता शेयर ५५ हजार ३८५ पटक किनबेच भयो । उक्त दिन ६८ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने १७२ वटा कम्पनीको शेयर मूल्य घटेको थियो । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

बिहीबार नेप्से अन्तिम २ मिनेटमा झिनो अंकले बढ्यो । बिहीबार नेप्से ०.७९ अंकले बढेर २०१८.७६ विन्दु कायम रह्यो । साताको अन्तिम दिन नेप्सेको कारोबारको हिसाबले भने लगानीकर्ताको उत्साह देखियो । बिहीबार ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर ५७ हजार २१८ पटक किनबेच भयो । बिहीबार ३१५ कम्पनीको शेयर कारोबार हुँदा १०३ कम्पनीको शेयर मूल्य बढ्यो भने १३९ कम्पनीको शेयर मूल्य घट्यो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।