खेलकुद

युरोकपः क्रोएसियामाथि स्पेनको शानदार विजयी सुरुवात

By खबरहब

June 16, 2024

काठमाडौं – युइएफए युरोकप २०२४ मा क्रोएसियामाथि स्पेनले शानदार जित निकालेको छ। समूह ‘बी’ को खेलमा स्पनेले ३-० गोल गर्दै शानदार विजयी सुरुवात गरेको हो।

गएराति भएको खेलको पहिलो हाफमा स्पेनले क्रोएसियाविरुद्ध सनसनीपूर्ण खेल प्रदर्शन गरेको हो। २९ औं मिनेटमा अल्भारोज मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए।

३२ औं मिनेटमा फाबियान रुइजले टोलीको अग्रता दोब्बर बनाए भने पहिलो हाफको इन्जुरी समयमा ड्यानी कार्भाहालले तेस्रो गोल गर्दै स्पष्ट नतिजा आफ्नो पक्षमा पारे। पहिलो हाफ एकपक्षीय ढंगले स्पेनले प्रभाव जमाएको खेलमा दोस्रो हाफमा क्रोएसियाले पुनरागमन गर्न सकेन। दोस्रो हाफमा स्पेनसमेत रक्षात्मक ढंगले खेल्यो।

समूह ‘बी’मा यो जितसँगै स्पेन तीन अंकका साथमा शीर्ष स्थानमा उक्लिएको छ। यो समूहमा स्पेनसँगै, क्रोएसिया, अल्बानिया र इटाली छन्।