समाचार

तनहुँको निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

By खबरहब

June 16, 2024

तनहुँ– तनहुँको भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको भानु नगरपालिका–५ का वडाध्यक्ष नहकुल अधिकारीले शनिबार शिलान्यास गरे ।

भानु नगरपालिका–१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने पुल निर्माणका लागि सङ्घीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत लगानी रहने छभने स्थानीय उपभोक्ताले दुई प्रतिशत साझेदारी गर्ने छन् ।

वडाध्यक्ष अधिकारीका अनुसार ७१ लाख ३१ हजार पाँच सय १८ को लागतमा पुल निर्माण हुनेछ । विसं २०८० जेठ ३ गते पुल निर्माणको सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी असार मसान्तसम्ममा निर्माण पूरा गर्नुपर्ने छ ।