खेलकुद

खेलकुदमा फर्किएको स्पेनको शान

By मनोज घिमिरे

July 16, 2024

सन् २००८ र २०१२ मा युरो कपको उपाधि। सन् २०१० मा विश्वकप फुटबलमा सफलता। त्यो समय साँच्चै विश्व फुटबलमा स्पेनिस युग थियो। सन् २०१४ को विश्वकपमा पहिलो चरणमा बाहिरिए पछि खस्किएको स्पेनिस फुटबल फेरी एक पटक जुरमुराएको छ। भर्खरै सम्पन्न युरो कपमा सात वटै खेलमा सफलता पाएको स्पेन परिपक्व, आकर्षक र नतिजा उन्मुख देखिएको छ। युरो कपमा स्पेनिस टोली मन र खेल दुवै जित्ने किसिमको देखियो।

सन् २००८ मा स्पेनले फाइनलमा जर्मनीलाई हराएर युरो कप जित्दा रङ्गशालामा उपस्थित हजारौँ दर्शकको माझमा भर्खरै विम्बल्डन जितेको राफेल नाडाल पनि थिए। क्ले कोर्टका बादशाह नाडालले त्यसै वर्ष पहिलो पटक सन् २००८ मा विम्बल्डन जितेर सिधै फुटबल टोलीको हौसला बढाउन स्वीट्जरल्यान्ड पुगेका थिए। यस पटक कार्लोस अल्काराजले विम्बल्डन जिते लगत्तै फुटबल टोलीले युरो कप जितेको छ।

व्यावसायिक फुटबलमा स्पेनिस ला लिगको प्रभाव आकर्षक छ। युरोपको सबै भन्दा व्यावसायिक फुटबल च्याम्पियन्स लिगको सेमिफाइनलमा समेत स्पेनिस टोलीको उपस्थिति यदाकदा नभएको होइन। यसका बाबजुद सन् १९९० देखि करिब दुई दशक स्पेनको राष्ट्रिय टोली दुर्भाग्यशालीको परिचय बोकेर बसेको थियो। महत्त्वपूर्ण प्रतियोगितामा चुक्ने आदत भएको स्पेन युरो कप र विश्वकप दुवैका लागि आकर्षक बनेको छ।

महत्त्वपूर्ण समयमा चुक्ने टोलीको पहिचान मेटाउँदै सन् २००८ को युरो कपदेखि नै स्पेनको सफलताको सुरुवात भएको थियो। गोल पोस्टमा अनुभवी आइकस कासिलासको अनुभव तथा कार्लोस पुयोल र सर्जियो रामोस रहेको जब्बर रक्षापक्तिले स्पेनको विरुद्धमा गोल गर्न कठिन समय थियो। मैदानको मध्य भागमा जाभी र आन्द्रेइ इनेस्टाले बुन्ने लगातारको आक्रमणलाई नतिजामा परिणत गर्ने काम क्लिन फिनिसर नमुना नै ठहरिएका डेभिड भिल्ला र फास्ट फरवार्ड फर्नान्डो टोरसेले पूर्ण रूपमा उपयोग गरे। सन् २००८ मा पहिलो पटक युरो कपको उपाधि जितेको थियो।

स्पेनको योक्रम यथावत रहेन। सन् २०१० को विश्वकपमा पहिलो खेल नै स्वीट्जरल्यान्डसँग पराजित भएपछि स्पेन बाहिरिने आशङ्का बढेको थियो। यस भन्दा अघि सन् १९९० देखि यता स्पेन धेरै जसो प्रतियोगितामा समूह चरणमा शतप्रतिशत नतिजा सहित दोस्रो चरणमा प्रवेश गरेर पनि नकआउट चरणमा असफल हुने गरेको थियो।

स्पेनले दोस्रो चरणमा पोर्चुगलको सामना गरेको थियो। सो खेलमा स्पेन १-० ले विजयी भएको थियो। क्वाटरफाइनलमा पाराग्वेलाई पनि सोही गोल अन्तरले हराएको स्पेनले सेमिफाइनलमा जर्मनीलाई हराएको थियो। फाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा हराउँदै स्पेन पहिलो पटक विश्व विजेता बनेको थियो।

त्यस समयमा एउटा अचम्मको संयोग देखिएको थियो। स्पेनले सन् २०१० को विश्वकप फुटबलको उपाधि जिती रहेको समयमा विम्बल्डन टेनिसको उपाधि नाडालले नै जितेका थिए।

सन् २०१२ को युरो कप फेरी एक पटक स्पेनको भिडन्त हेभिवेट टोलीसँग नै भएको थियो। समूह चरणको पहिलो खेलमा स्पेनले इटालीको सामना गरेको थियो र सो खेलमा १-१ गोलको बराबरी भएको थियो। आयरल्यान्ड गणतन्त्रलाई दोस्रो खेलमा ४-० ले हराएको स्पेनले समूह चरणमा फेरी क्रोएसियालाई नै हराएको थियो।

सन् २०१२ र सन् २०२४ को युरो कपको एउटा विशेषता के हो भने पहिलो चरणमा स्पेनले इटाली र क्रोएसियासँग खेलेको थियो। क्वाटरफाइनलमा फ्रान्सलाई सहजै २-० ले हराएको थियो। पोर्चुगल र स्पेनको फेरी सेमिफाइनलमा भेट भएको थियो। सो खलमा टाइब्रेकरमा जित हात पार्दै स्पेन फाइनलमा प्रवेश गरेको थियो।

यस पटकको फाइनल विशेष थियो। सन् २०१२ मा इटालीको विरुद्धमा खेलेको स्पेनको फाइनल खेल विश्व फुटबलमा अहिलेसम्म कुनै पनि राष्ट्रिय टोलीले खेलेको सबै भन्दा उत्कृष्ट खेल थियो।

केही ‘टेक्स्ट मुभ’ र केही नितान्त व्यक्तिगत स्किलका सामु इटाली निरीह साबित थियो। सो फाइनल खेलमा डेभिड सिल्भाले पहिलो अग्रता दिलाएको खेलमा जोर्डी अल्बाले गरेको गोलको उत्कृष्ट गोलको नमुना थियो। सो युरो कपको फाइनल युक्रेनको किभमा भएको थियो।

सन् २०१२ मा अपराजित स्पेनको त्यो सनसनीपूर्ण यात्रा लामो समय रहेन। सन् २०१३ मा नै कम शक्तिशाली दक्षिण अफ्रिकासँग मैत्रीपूर्ण खेलमा पराजित स्पेन ब्राजिलसँग ३-० ले हारेको हो। स्पेनिस फुटबलको पुरानो साख धरमराइ सकेको थियो। व्यावसायिक फुटबलमा स्पेनिस क्लबलाई इङ्लिस क्लबले पछि पर्न थालेका थिए।

सन् २०१४ को विश्वकप स्पेनका लागि दुखद् नै बनेको थियो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५-१ ले हारेको स्पेन दोस्रो खेलमा पनि चिलीसँग २-० ले हारेपछि पहिलो चरण बाट नै बाहिरिएको थियो।

त्यो उत्कृष्ट टोली स्पेनको ओरालो यात्रा कायम थियो। धेरैका लागि २०१० को समयमा संसारको महाशक्ति स्पेन थियो भन्ने पनि मानसपटलबाट हराउने समय आइसकेको थियो। फेरि यस वर्ष युरोपेली क्लब फुटबलमा रियल म्याड्रिडले सफलता पाएको छ।

यामलको उदय युरो कपमा स्पेनले सानदार सफलता पायो। लामिन यामलको रूपमा नयाँ सम्भावनाको उदय भएको छ।। विगतमा स्पेनिस फुटबलमा जाभी, फर्नान्डो टोरेस, आन्द्रेइ इनेस्टाको प्रभाव थियो। अब त्यो भन्दा बढी निको विलियम्स र यामलको रूपमा नयाँ स्टारको जन्म भएको छ।

स्पेनले युरो कप जितेकै दिन विम्बल्डन जित्ने कार्लोस अल्काराजले यस सिजनको फ्रेन्च ओपन पनि जितेका थिए। ४ ग्रान्डस्लाम जितेका अल्काराज भर्खर २१ वर्षका भए। विश्व टेनिसमा सबै स्टार नोभाक जोकोभिकको प्रभाव लामो समय रहेको थियो। नाडालको पुस्तापछि अब फेरि अल्काराजको नयाँ युगको सम्भावना छ।

जसरी १६ वर्ष अघि जसरी नाडाल सुपर स्टारकै छवि बनाएका थिए, त्यसैगरी अल्काराजको नयाँ युगको सम्भावना कायम छ। साथमा लामिन यमल र निको विलियम लगायतको उदयले स्पेनलाई नयाँ बाटोमा लगेको छ। अपेक्षा गरौँ, फेरी स्पेनिस युगको सुरुवात हुन सक्ने छ। स्रोतः बिबिसी, रोयटर्स, स्पोर्ट्स स्टार, गोल डटकम, युइएफए