काठमाडौं- भक्तपुर सूर्यविनायकका यमबहादुर विष्ट (७०) शान्तिवाटिकामा ५३ दिनदेखि रिले अनशनमा छन् । २०७६ सालमा गुडविल बचत तथा सहकारीमा उनले ११ लाख रुपैयाँ जम्मा गरेका थिए । चिनेको मान्छेको सहकारी र राम्रो ब्याज दिने प्रलोभनमा उनले झापास्थित पैत्रिक जग्गा बेचेको पैसा उक्त सहकारीमा जम्मा गरेका थिए ।
तिख्खर आवाज भए पनि अनुहारमा बुढ्यौलीले छोएको स्पष्ट देखिन्थ्यो । उनी आफ्नो आवाज सरकारले सुन्छ कि भनेर गुनासो गर्दै भेटिए । पैसा डुबेपछि विदेशमा भएका छोराछोरी र एकै छतमुनि बस्ने श्रीमती समेत बोल्न छाडेको पीडा उनको आँखामा देखिन्थ्यो ।
परिवारको भरथेग चाहिने उमेरमा विष्ट एकल जीवन बाँचिरहेका छन् । परिवारले उनलाई एक्ल्याउनुको कारण स्पष्ट छ– ‘घरमूलीले नै पैसा डुबाएर परिवारको बिचल्ली पारे ।’ तर उनले राम्रै हुन्छ भनेर सहकारीमा रकम जम्मा गरेका थिए । पैसा डुबेपछि परिवारलाई दिएको स्पष्टिकरणको कुनै अर्थ रहेन ।
सहकारी पीडितमध्ये सबैभन्दा धेरै पैसा डुबेको बताएका उनले खबरहबकर्मीसँग आफ्नो दुखेसो यसरी पोखेका छन् :
१६ प्रतिशत ब्याज दिने भनेर ११ करोड रुपैयाँ जम्मा गरेँ । ब्याज जोड्ने हो भने लगानी १९ करोड नाघेको छ । झापाको तीन बिघा जग्गा पैत्रिक सम्पत्ति थियो । छोराछोरी सबै विदेशमा थिए । गाउँमा कोही नबस्ने भएपछि त्यो जग्गा बेचेर काठमाडौंमा घरघडेरी किन्ने भनेर बेचें।
जग्गा बेचेको पैसा साथैमा थियो । भन्ने बित्तिकै घर पाइँदैन । हेरेर र बुझेर किन्छु भन्ने थियो । त्यो पैसा यत्तिकै रहनु भन्दा एक वर्षको ब्याज खानुपर्ला भन्ने भयो । जम्मा एक वर्ष राख्छु भनेर जम्मा गरेको हो । एक वर्ष मेरो खर्च पनि चल्ने भयो भन्ने थियो । तर एक महिनाको ११ लाख रुपैयाँ ब्याज दिएको हो । पाएको पैसा पाइन भन्न भएन, त्यसपछि एक रुपैयाँ पाएको छैन ।
अध्यक्ष दिवाकर श्रेष्ठ र उनकी धर्मपत्नी जेनी महर्जन श्रेष्ठ साथै प्रबन्ध निर्देशक दीपेन्द्र कोइरालाले मेरो पैसा खाइदिए ।
दिवाकरको घरमा १८ वर्ष डेरा गरि बसेको थिएँ । मेरो घरबेटीको छोरो थियो । मेरो छोराछोरी समान थियो । बच्चामा मैले उसलाई खेलाएको थिएँ । आफ्नै छोराछोरीसँग रेखदेख गर्ने पढाउने गर्थें । पढ्न नमान्दा कान पनि निमोठें । त्यो विश्वास हो ।
ललितपुरको थैवमा ४० सालदेखि चिनेको । टेक्सटायल चलाएर बसेको खानदानी मान्छे हो । उसले सहकारी चलाएको छ भन्दा खुसी पनि लाग्यो । हेर्दा बुझ्दा सबै राम्रो व्यवहार थियो । इमान्दारीसाथ सहकारी चलाउँछु भन्ने भावना भने रहेनछ ।
२०७६ सालमा पैसा जम्मा गरेको हो । साहु र ब्याज हिसाब गर्दा १९ करोड रुपैयाँ हुन आउँछ । उसलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । काठमाडौं उनी हिँडेकी छन् । प्रहरी पनि उनीहरूसँगै मिलेको छ ।
बैंकमा जस्तै प्रत्येक तीन-तीन महिनामा ब्याज खाने चलन थियो । ब्याजको पैसाले गाडी किन्छु भनेर ५ लाख दिएर एक गाडी बुक गरिसकेको थिएँ । सबैभन्दा ठूलो पैसा रहेछ । सहकारीमा पैसा डुबाएपछि छोराछोरी कोही बोल्दैनन् । पढेलेखेका छन्, कोही अमेरिका, कोही अष्ट्रेलिया छन् । उतैको नागरिकता लिएर बसेका छन् । अहिले बोलचाल छैन । उनीहरूले कमाएको होइन, मेरो बुवाको पैत्रिक सम्पत्ति हो ।
उनीहरु विदेश बस्ने, त्यो झापाको खेतमा उनीहरु कोदालो खन्न आउँदैनथे । आउने भए मलाई त्यो जग्गा बेच्नै पर्दैनथ्यो । रेखदेख नभएपछि २५ वर्ष बाँझो भएपछि त्यहाँ अरुले आँखा लगाए ।
झापाका गुण्डाहरुले सुकुम्बासी राख्नुपर्छ भन्थे । ती गुण्डाहरु समेतलाई फिरौती दिनुपर्यो । त्यसपछि त्यो झन्झटबाट बच्न बेचेको थिएँ । मैले मोजमस्ती गर्न बेचेको थिइनँ । तर छोराछोरीले बुझेनन् ।
उनीहरूको के कुरा आमालाई पनि आफूहरुतिरै ताने । आफू जता गयो आमा उतै लगे । छोराछोरीलाई बाउ भन्दा आमा प्यारो हुने रहेछ । अष्ट्रेलियाबाट भर्खर आएकी छन् । तर बोलचाल केही छैन ।
सूर्यविनायकमा फलाम घोटेर, भाँडा माझेर बनाएको घर छ । एकै छानोमुनि छौं तर दोहोरो बोलचाल छैन । भनेको नमानेर पैसा डुबायो भन्ने आरोप छ, बूढाबूढी व्यवहारका कुरा, सुखदुःखका कुरा छैन ।
माइतीघर मण्डलको रुखमा मर्ने भनेर डोरी लिएर गए । प्रहरीले मर्न पनि दिएन, सहकारीले बाँच्न दिएन । माइतीघर, तीनकुने, शान्तिवाटिका हरेक धर्नामा सडकमा सुत्दै आएँ । कुनै दिन करोडपति भनेर चिन्थे, आज सडकमा सुत्दै हिँड्ने स्थिति बन्यो ।
अहिले खल्तीमा एकसय रुपैयाँ छैन । आयस्रोत केही छैन । साथीभाइ र इष्टमित्रसँग ऋण मागेर गुजारा गरेको छु । ३० लाख ऋण पुग्यो । करोड सम्पत्ति भकै मान्छे हो भनेर अहिलेसम्म पत्याइरहेका छन् । हिजोको कर्मले पत्याइरहेका छन् ।
सहकारीको पैसा आए, ब्याजसहित तिरिहाल्छु । अरुको पैसा खाएर मानिसलाई कहिले पनि सन्तोष हुन्न । साथीभाइले ऋण नपत्याउने अवस्था भएको भए, अहिले मैले हनुमन्तेमा हाम फालेर मर्नुपर्ने स्थिति हुन्थ्यो ।
झरी भनेर के गर्ने मनमा पीडा हुन्छ । सुत्यो आँखा बन्द हुँदैन, सिलिङ हेरेरै पुरै रात सकिन्छ । बाहिर झरी त के हो र मन भित्रको झरी यो भन्दा भयानक छ । छाता ओडेर सार्वजनिक बस चढेर शान्तिवाटिका अनशनमा आएँ ।
तत्कालीन सहकारी मन्त्री रञ्जिता श्रेष्ठले ४० प्रतिशत हाम्रो सुरक्षण कोष खडा गरेर भएपनि दिन्छौ भनेकी थिइन् । मन्त्री जस्तो मान्छेले आमजनतालाई लिखित रुपमा दिएको आश्वासन नपुर्याउनु निकै विडम्बना छ । अर्का बलराम अधिकारीले नौ बुँदे सम्झौता गराए । त्यो पनि अहिलेसम्म कार्यान्वयन छैन ।
सहकारीको विषय अहिले राजनीति गर्ने विषय बनेको छ । पीडित एक एक दिन र मिनेट आफ्नो पैसा नआएर मरिरहेका छन् । तर कसलाई केही फरक परेको छैन ।
हाललाई ४० प्रतिशत मात्रै दिएपनि कति राहत हुन्थ्यो । सरकार , र मन्त्री बदलिएको मात्रै छ । अमेरिका १० वर्ष , जापान ७ वर्ष , कोरिया, युके लगायतका देशमा उनले आफ्नो उर्वर समय बिताए ।
नेपाली हुँ भन्न मलाई धिक्कार लागेको छ । विदेशमा हुन्थ्यो भने यी सहकारी ठगहरू उजुरी पर्ने बित्तिकै जेल जान्थे । सरकारको ढुकुटीबाट भए पनि पीडितको पैसा फिर्ता दिन्थ्यो । कति सम्मानित जीवन बाँचेका छन्, उनीहरूले । यहाँ ठीक उल्टो छ ।
यो चार वर्षमा नेपालको प्रशासन सबै ठाउँ पुगेँ । जिल्ला अदालतल, महान्यायाधिवक्ता , उच्च अदालत, गृहमन्त्रालय , सीआईबी , परिसर सबैमा पुगेँ । तर यिनीहरु जनताको सेवा गर्न वा काम गर्न बसेकै होइनन् । यति पीडा देख्दा पनि न्यायको लागि पहल गर्नुपर्छ भन्ने दायित्व कसैमा छैन ।
अब मैले भोट हाल्दिनँ । मैले चिनेका र मैले भनेको मान्ने कसैलाई पनि भोट हाल्न दिन्न । हामी तमाम सहकारी पीडित कसैले पनि कुनै नेतालाई अब भोट हालिँदैन । ७४ लाख हामी पीडितको भोट आशा नराखे हुन्छ । अधिकार नदिएपछि, हाम्रो भोट किन दिने ? हामीलाई देशको नागरिक होइन भन्नेमा पुर्याएका छन् ।
पैसा फिर्ता नआउन्जेल आन्दोलन जारी रहन्छ । ओढ्ने र ओछ्याउने सँगै बोकेर हिँडेको छु । न्याय नपाउँदासम्म सडक छोड्दिन ।