खेलकुद

युरोकपका दुई फाइनल हारेपछि राजीनामा दिए साउथगेटले

By खबरहब

July 16, 2024

काठमाडौं– इंग्ल्यान्ड फुटबल टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार राजीनमा दिएका छन् । ५३ वर्षीय साउथगेटले ८ वर्ष प्रशिक्षक रहँदा १०२ खेल इंग्ल्यान्डले खेल्यो ।

लगातार दुई संस्करणमा युरो कप फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएपछि साउथगेटले प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।

आइतबार बर्लिनमा भएको युरोकपको फाइनलमा साउथगेट नेतृत्वको इंग्यल्यान्ड स्पेनसँग २–१ गोलले पराजित भयो ।

यसअघि सन् २०२१ मा घरेलु मैदान वेम्बलीमा भएको फाइनमा पनि इंग्यल्यान्डलाई इटालीले पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि चुमेको थियो ।

उनको सम्झौता पनि यही वर्ष सकिँदै थियो ।

‘इंग्यल्यान्डको राष्ट्रिय टोली सम्हाल्नु सम्मानको कुरा हो। यो मेरा लागि धेरै महत्वपूर्ण रह्यो । मैले मेरो सबै थोक दिएँ, अब परिवर्तन आवश्यक छ। अब नयाँ अध्याय सुरु गर्ने समय भयो’, उनले भने ।

उनी इंगल्यान्डलाई ठूलो प्रतियोगिताको फाइनलसम्म लैजाने दोस्रो प्रशिक्षक हुन् । यसअघि सन् १९६६ को विश्वकप विजेता सर अल्फ रामसेले मात्रै इंग्ल्यान्डलाई ठूलो प्रतियोगिताको फाइनलमा लगेका थिए ।