खेलकुद

बोल्ट प्रेरित जमैकाको ‘डाउन फल’

By मनोज घिमिरे

August 16, 2024

एउटा युग थियो। विश्व खेलकुदको जिउँदा बादशाह युसेन बोल्ट पहेँलो जर्सीको ट्रायकमा उपस्थित भएपछि संसार तरङ्गित हुन्थ्यो। सिङ्गो खेलकुद विज्ञानलाई चुनौती दिने एउटा नायकका साथमा असफाह पावेल र योहान ब्लेक मात्र हुँदैन थिए। अर्का बेजोड प्रतिभा असफह कार्टर पनि कम्ती थिएनन्। उता महिलाको स्पर्धामा थिए सानी अल फ्रेजियर, सारिका ज्याक्सन र ब्रिना थ्रोसेल। त्यो पुस्ता विश्व खेलकुदको एउटा स्वर्णिम पुस्ता थियो।

सन् २००८ मा युसेन बोल्टले पुरुष सय र दुई सय मिटरमा स्वर्ण पदक जितेको थियो। सोही ओलम्पिकमा महिलाको स्पर्धाका जमैकाले क्लिन स्विप गरेको थियो। फ्रेजियरको साथमा सेरन सिक्सन र केरन स्टवार्ट शीर्ष तीन स्थानमा रहेका थिए। दुई सय मिटर महिलामा भेरोनिका क्याम्बेलले स्वर्ण पदक जितेकी थिइन् भने स्टवार्टले कास्य पदक।

सन् २००९ को बर्लिन विश्व च्याम्पियनसिप त एथलेटिक्सको इतिहासमा विशेष नै छ। बोल्टले सय मिटरमा कायम गरेको ९.५८ सेकेन्ड तथा दुई सय मिटरमा कायम गरेको १९.१९ सेकेन्डको विश्व कीर्तिमान अझै कायम छ। पावेलले सो च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। रिलेको स्वर्ण सहित बोल्टले तीन स्वर्ण जिते।

महिलातर्फ सय मिटरमा फ्रेजियरले स्वर्ण तथा स्टवार्टले रजत पदक जिते। एक वर्ष अघिको जमैकाको प्रभाव पार गर्दै दुई सय मिटरमा भने अमेरिकी एलिसन फेलिक्सले स्वर्ण पदक जित्न सफल भएकी थिइन्। सो च्याम्पियनसिपमा जमैकाका क्याम्बेलले रजत पदक जितेकी थिइन्। चार गुणा सय मिटर रिलेको स्वर्ण पदक जितेको जमैकाले चार गुणा चार सय मिटरको रजत पदक जितेको थियो। यो क्रम अर्को ओलम्पिकसम्म कायम रहन सकेन।

सन् २०१२ को लन्डन ओलम्पिकमा बोल्टले स्वर्ण पदकको रक्षा गरे भने ब्लेकले रजत पदक जितेका थिए। महिलामा फ्रेजियरले फेरि स्वर्ण पदक जितेकी थिइन्। यसैगरी, भेरोनिकाले कास्य पदक जितिन्। फेरि एक पटक जमैकाले पुरुष २०० मिटरमा क्लिन स्विप गर्न सफल भयो। बोल्टलाई पछ्याउँदै ब्लेकले रजत तथा वारेन वेरले कास्य पदक जिते। महिलातर्फ भने फ्रेजियरलाई पछि पार्दै एलिसन फेलिक्सले स्वर्ण पदक जितिन्। सो ओलम्पिकको चार गुणा सय मिटर रिले पुरुषको स्वर्ण जमैका तथा महिलाको अमेरिकाले जितेका थिए।

बोल्टको दबदबा अर्को वर्ष रुसमा भएको विश्व च्याम्पियनसिपमा समेत देखा परेको थियो। सय मिटरमा बोल्टले स्वर्ण तथा नेस्टका कार्टरले जमैकाका लागि कास्य पदक जिते। लामो समयपछि अमेरिकाको उपस्थिति केही देखिन थालेको थियो। जस्टिन ग्याटलिनले रजत पदक जितेका थिए। स्प्रिन्ट रिलेमा फेरी एक पटक जमैकाले अमेरिकालाई पछि पारेको थियो।

महिलातर्फ फ्रेजियरको दबदबा अझै कायम नै थियो। उनले सय मिटरमा स्वर्ण पदक जितिन्। उनले दुई मिटरमा पनि स्वर्ण पदक जित्दै आधुनिक एथलेटिक्स इतिहासमा ट्रायक क्विनको रूपमा आफ्नो परिचयलाई अझ बलियो बनाएकी थिइन्। उनले जमैकालाई स्प्रिन्ट रिलेको समेत स्वर्ण पदक दिलाइन्।

सन् २०१५ मा बेइजिङमा भएको विश्व च्याम्पियनसिपमा केन्याले पहिलो स्थान पाएको थियो। यो विश्व च्याम्पियनसिपबाट अमेरिकाले जमैकासँग स्प्रिन्टमा प्रतिस्पर्धाको लक्षण देखाएको थियो। बोल्टले आफ्नो दुवै व्यक्तिगत स्पर्धामा स्वर्ण जिते भने दुवैमा जस्टिन ग्याटलिनले दोस्रो स्थान पाए। सय मिटरमा अमेरिकाका ट्रायन ब्रोमेलले कास्य पदक जिते। चार गुणा सय मिटर रिलेमा भने अमेरिका पदक बिहीन भएको थियो। जमैकाले स्वर्ण पदकको रक्षा गरेको थियो।

महिलामा फ्रेजियरले फेरि स्वर्ण पदक जितिन्। सोही समयबाट डच स्प्रिन्टर डाफ्ने स्किपरको उदय भएको थियो। उनले सय मिटरमा रजत तथा दुई सय मिटरमा रजत पदक जितेकी थिइन्। दुई सय मिटरमा एलन थोम्सनले रजत तथा भेरोनिकाले कास्य पदक जितेका थिए। सोही विश्व च्याम्पियनसिपबाट सयदेखि चार सय मिटरसम्म प्रभाव राख्ने सारिका ज्याक्सनको उदय भएको थियो। उनले चार सय मिटरमा कास्य पदक जितेकी थिइन्। जमैकाको महिला टोलीले स्प्रिन्ट रिलेमा अमेरिकालाई हराएको थियो।

एथलेटिक्समा १३ स्वर्ण पदक जितेको अमेरिकी टोली स्पिन्टमा जमैकाका सामु फेरि कमजोर भएको थियो। बोल्टले ग्याटलिनलाई पछि पार्दै सय मिटरको स्वर्ण पदक जिते। उनले ४ गुणा सय र दुई सय मिटरको स्वर्ण पदक पनि जिते।

एलन थोम्सन हेराथले सय मिटरमा स्वर्ण पदक जितिन् भने फ्रेजियर यस पटक कास्य पदकमा सीमित भएकी थिइन्। बोल्टको प्रभाव नयाँ पुस्तामा यसरी प्रभाव परेकी थियो कि जमैकामा फ्ल्याट मात्र होइन हर्डल्समा पनि नयाँ स्टार जन्मने क्रमको सुरुवात भएको थियो। रियो ओलम्पिकमै ११० मिटर हर्डल्समा ओमार म्याक लियोडले जमैकालाई स्वर्ण पदक दिलाउन सफल भए।

हेराथले दुई सय मिटरमा पनि स्वर्ण पदक जित्दै जमैका इतिहासको नयाँ ट्र्याक स्टारको रूपमा स्थापित गरिन्।

सन् २०१७ बोल्टको अन्तिम ठुलो प्रतियोगिता थियो। जुन प्रतियोगिता उनका लागि सुखद हुन सकेन। ०.०३ सेकेन्डले पछि रहँदै बोल्ट अमेरिकाका ग्याटलिन र क्रिस्चियन कोलेमान भन्दा पछि रहँदै कास्यमा सीमित रहे। ग्याटलिनले ९.९२, कोलेमानले ९.९४ तथा बोल्टले ९.९५ मा रेस पुरा गरे। दुई सय मिटरमा बोल्ट पदक बिहीन भए। रिलेमा अमेरिका रजत पदकमा सीमित भयो भने जमैका पदक बिहीन भयो। महिलामा पनि जमैका सय र दुई सय मिटरमा पनि पदक बिहीन भएको थियो। यसको मतलब जमैका सबै अर्थमा ओरालो यात्रामा मात्र थिएन। रिलेमा कमसेकम कास्य पदक जितेको थियो। सन् २०१९ को विश्व च्याम्पियनसिपमा जमैकाको पुरुष टोली फेरी असफल भयो। सय–दुई सय र स्प्रिन्ट रिलेमा जमैका पदक बिहीन भएको थियो। कमसेकम चार गुणा चार सय मिटर रिलेमा भने रजत पदक जितेको थियो।

फ्रेजियर भने फेरी एक पटक स्वर्ण पदक जित्न सफल भइन्। रिलेमा अमेरिकी महिला टोलीले चार गुणा सयमा स्वर्ण तथा चार गुणा चार सयमा कास्य पदक जित्न सफल भएको थियो।

टोकियो ओलम्पिक आन्द्रे डे ग्रेस र इटालीका मार्सेलो ज्याकोब्सको नाममा रहेको थियो। ज्याकोब्सले व्यक्तिगत र रिलेमा स्वर्ण पदक जिते। ग्रासले सय मिटरमा कास्य तथा दुई सय मिटरमा स्वर्ण पदक जिते। हर्डल्समा भने जमैकाको उपस्थिति बेजोड देखियो। ११० मिटरमा हान्से पार्चमेन्टले स्वर्ण तथा रोनाल्ड लेभीले कास्य पदक जिते।

जमैकाको महिला स्पिन्ट टोली फेरि जागेको थियो। ब्रिना थम्सनको नेतृत्वमा सय मिटरमा जमैकाले क्लीन स्वीप गरेका थियो। फ्रेजियरले सय मिटरमा रजत पदक जितेकी थिइन्। यसै गरी सारिकाले कास्य पदक जितिन्। सय मिटर हर्डल्समा मेगन टार्परले कास्य पदक जितिन्।

एलन थम्सन हेराथले दुई सय मिटरमा स्वर्ण पदक जित्दै जमैकाको महिला स्प्रिन्टको साखलाई अझ दरिलो बनाएकी थिइन्। महिलाको स्प्रिन्ट रिलेमा जमैकाले नै सफलता पाएको थियो। त्यसो त जमैकाको पुरुष स्प्रिन्ट बोल्ट युगपछि कहिल्यै उठ्न सकेन। हर्डल्मसा भने आफ्नो उपस्थिति कायम नै राखेको थियो। महिलामा भने जमैका पछिल्लो समयसम्म बलियो थियो।

सन् २०२१ को विश्व च्याम्पियनसिपमा सय मिटरमा क्लीन स्विप गरेको जमैकाले दुई सय मिटरमा शीर्ष दुई स्थान पाएको थियो। फ्राजियरले सय मिटरमा स्वर्ण तथा दुई सय मिटरमा रजत पदक जितेकी थिइन्। यसैगरी सारिकाले सय मिटरमा रजत तथा दुई सय मिटरमा स्वर्ण पदक जितेकी थिइन्। थम्सन हेराथले सय मिटरमा तेस्रो स्थान पाएकी थिइन्। सय मिटर हर्डल्समा विश्व कीर्तिमानी नाइजेरियाकी टोबी अमुस्मान भन्दा पछि रहँदै जमैकाकी ब्रिट्नी एन्डरसनले रजत पदक जितिन्। रिलेमा भने जमैका रजत पदकमा सीमित भएको थियो।

पेरिस ओलम्पिकमा जमैकाका महिलाले एथलेटिक्समा कुनै पदक जितेनन्। ११० मिटर हर्डल्समा रसिद ब्रोडवेलले कास्य पदक जिते भने फिल्डमा डिस्कस थ्रोमा रोजा स्टोनाले स्वर्ण पदक जिते।

गत वर्ष भएको विश्व च्याम्पियनसिपमा साकारी रिचर्डसन भन्दा पछि रहँदै जमैकाका सारिका ज्याक्सन तथा फ्राजियर शीर्ष तीनमा रहे। दुई सय मिटरमा ज्याक्सनले स्वर्ण पदक जितिन्। सय मिटर हर्डल्सको स्वर्ण पनि जमैकाकी डानियल विलिम्सनले जितेकी थिइन्। स्प्रिन्ट रिलेमा जमैकाले रजत पदक जितेको थियो। चार गुणा चार सय मिटरमा पनि रजत पदक जितेको थियो।

त्यो लामो इतिहास भएको जमैकाको एथलेटिक्स र स्प्रिन्ट स्पर्धा भने ध्वस्त भएको थियो। जमैकाका शीर्ष तीन खेलाडी फ्रेजियर, थम्सन हेराथ र सारिका घाइते थिए। पेरिस ओलम्पिकमा जमैकाका महिलाले एथलेटिक्समा कुनै पदक जितेनन्। ११० मिटर हर्डल्समा रसिद ब्रोडवेलले कास्य पदक जिते भने फिल्डमा डिस्कस थ्रोमा रोजा स्टोनाले स्वर्ण पदक जिते।

त्यो स्वर्णिम इतिहास भएको जमैकाको एथलेटिक्स कतै इतिहासमा त सीमित हुने होइन भन्ने धेरै समर्थकको मनमा आशङ्काको विषय भएको छ। स्रोतः वर्ल्ड एथलेटिक्स, ओलम्पिक