समाचार

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन 

By खबरहब

August 16, 2024

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी) लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी बसन्त कुँवरलाई निर्देशन दिएका हुन् । 

गठ्ठाघरमा भएको दुर्घटनाबारे दुस्ख व्यक्त गर्दै उनले भने ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’ 

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।  ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ ।