मनोरञ्जन

मेक्सम गौडेल : अरू जे बनुन्, म त राजेश हमाल !

By संगम ढकाल

August 16, 2024

काठमाडौं– हास्य कलाकार मेक्समको वास्तविक विष्णुप्रसाद गौडेल हो । स्याङ्जाको वालिङ नजिकै ढाबखोला (हालको बीपीचोक) मा जन्मे-हुर्केका गौडेल हाल स्थापित कलाकार हुन् ।

उनलाई ‘कमेडी च्याम्पियन’ले यस क्षेत्रमा डोहोर्‍यायो । नामका हकमा चाहिँ कमेडीमा लाग्नुभन्दा धेरै अघि, स्कूलमै उनले किस्सा भोगेका थिए । भन्छन्, ‘गौडेल थर भएको म स्कूलमै एक्लो थिएँ । स्कूलका साथी, दाइ–दिदी र सरहरू सबैले गौडेल भन्नुहुन्थ्यो ।’

अहिले विशेषतः ‘कमेडी क्लब विथ च्याम्पियन’ मा स्थापित ‘पीताम्बर गौडे’ पात्रमार्फत समाजका तीता सत्य उधिनेर मनोरञ्जनात्मक सन्देश प्रवाह गरिरहेका छन् ।

कक्षा १२ को परीक्षा दिएपछि गौडेल दुई लक्ष्य बोकेर काठमाडौं छिरेका थिए । पहिलो थियो- कलाकार बन्ने ! दोस्रो चाहिँ- विदेश पढ्न जाने !जिन्दगीका लागि एक/अर्को विकल्प रहेका यी लक्ष्य पूरा गर्न गौडेलले झोलामा एक थान पासपोर्ट बोकेकै थिए । अनि, कलाकारिताका लागि पश्चिमी भेगकै चर्चित स्याङ्जाको माटोमा हुर्कँदा सङ्गालेका कलाचेत छँदै थिए ।

तर, गौडेल शहरमा ‘कुहिरोको काग’ बनेर स्याङ्जा फर्किएका थिए । जिल्लामा राम्रै थियो । एक बीमा कम्पनीको जिल्ला इञ्चार्ज पदबाट राजीनामा दिएर पुनः काठमाडौं हान्निए । विदेशमा काम गर्न बनाएको पासपोर्टले समयान्तरमा कलाकारका रूपमा विदेश घुमायो

गौडेल कुन दृढताले कलाकार बने त ? यसबारे खबरहबसँग उनले आफ्नो भोगाइको पोया फुकाए ।

टीभीको महत्त्व

गौडेल दम्पतीका चारमध्ये तेस्रो सन्तान हुन्‌ मेक्सम । उनका एक दिदी, एक दाइ र बहिनी छन् । ढाबखोला गाउँमा जन्मिएका गौडेल अक्षर चिन्ने यात्रामा ठूली दिदीको पछि लाग्दा छिमेकका साथीहरूभन्दा टाढाको स्कूलमा पुगे ।

‘दिदीलाई ट्यूसन पढाउने दिदीले भुम्रेको स्कूलमा लैजानुभयो । म पनि दिदीको पछि लाग्दा त्यहाँ पुगेँ,’ उनी भन्छन्, ‘धेरै त होइन, स्कूल १५ मिनेट टाढा थियो । गाउँकै स्कूल थियो । साथीहरूको तुलनामा म टाढाको स्कूलमा पढेँ ।’

उनको घरको पहिलो जागिरे जेठा दाइ हुन् । यद्यपि कृषिमै आश्रित भए पनि बुबा–आमाले उनीहरूको हुर्काए सहज बनाइदिए ।

बाल्यकालप्रति उनको गुनासो छैन । तर, साम्रान्त परिवारको मात्र टेलिभिजन राख्ने हैसियत हुने हुँदा छेमेका गएर टेलिभिजन हेर्नुपर्ने बाध्यता उनले ब्यहोर्नुपर्‍यो।

‘टेलिभिजन हेर्न एकदमै मन हुने ! छिमेकीको घरमा गएर मकै छोडाउँदै हेरिन्थ्यो,’ उनी भन्छन्, ‘अनुशासित भएर रामायण, महाभारत हेरिन्थ्यो । शनिबार कहिलेकाहीँ फिल्म हेर्न पाइन्थ्यो ।’

बाल्यकालमा त्यसरी फिल्म हेर्दा राजेश हमालको ‘फ्यान’ बने । ‘फिल्म हेर्दा संवाद कन्ठ पारिन्थ्यो । साथीहरूसँग खेल्दा राजेश हमालको डाइलग बोल्थेँ,’ उनी भन्छन्, ‘साथीहरूले जसको नक्कल गरे पनि म राजेश दाइकै नक्कल गर्थेँ ।’

पछि आठ कक्षामा पढ्दा घरमै टेलिभिजन भएकाले यसको महत्त्व कम हुँदै गएको उनी स्मरण गर्छन् । भन्छन्, ‘छिमेकमा हुँदा पाँच मिनेट भने पनि बढी हेर्ने इच्छा हुन्थ्यो । घरमै भएपछि जति बेला हर्न पाएपछि महत्व घट्यो ।’

६ पास भएर ६ मै !

मेक्समको बाल्यकालको अर्को हिस्सा कोपिला पत्रिका थियो । उनी त्यसमा हुने बालबालिका र किशोरलक्षित सामग्रीको नियमित पाठक थिए ।

‘कोपिला पत्रिका पढ्ने, पत्रिकामा आउने खाली ठाउँ भर्न, पाँच फरक फेला पार्न, रङ भर्न र पजल खेल्न एकदमै लगाव थियो । नियमित जस्तो नै खेल्थेँ,’ उनी भन्छन् ।

पढ्न सामान्य मेक्समका लागि ६ कक्षा दुई कारण यादगार छ । ती कारण हुन्‌– ६ कक्षामा दोहोरिनु र सरबाट २०० रुपैयाँ पुरस्कार पाउनु !

आमा र प्रधानाध्यापकको सल्लाहमा मेक्समले ६ कक्षा दोहोर्‍याएका हुन् । प्रधानाध्यापकले मेक्सम र आमालाई सँगै राखेर भनेका थिए रे, ‘केटो टाठो छ । कक्षा दोहोर्‍यायो भने केटाको जग राम्रो हुन्छ है !’

आमा राजी भएपछि मेक्समले पनि नाइनास्ती गरेनन् । तर, फेल नभए पनि कक्षा दोहार्‍याएकाले साथीमाझ निकै लाज लागेको उनी सुनाउँछन् ।

‘मलाई पो सल्लाहले कक्षा दोहोर्‍याएको थाहा थियो, साथीहरूलाई थिएन । त्यो वर्ष मलाई फेल भएकै अनुभव भयो,’ उनी भन्छन् । उनी जुनसुकै कार्यक्रममा पनि तीन भन्दा बढी प्रस्तुती दिन्थे अरे !

‘साप्ताहिक रूपमा स्कूलमा कार्यक्रम हुन्थ्यो । मैले भाग नलिएको कार्यक्रम नै हुँदैन थियो । उत्कृष्ट होऔं/नहोऔं, भाग चाहिँ लिन्थेँ,’ उनी भन्छन्, ‘कविता, गीत, नाच, वादविवाद, वक्तृत्वकला नाटक, चित्रकला र हाजिरीजवाफ सबैमा भाग लिन्थेँ । उस्तै कार्यक्रममा म तीन–चार पटक प्रस्तुती दिन्थेँ ।’

यद्यपि त्यसबेला नृत्य र वक्तृत्व कलामा दख्खल राख्ने विद्यार्थीमा उनी थिए रे ! कार्यक्रममा भाग लिने दौरान ६ मा पढ्दा प्यारोडी गीतमा पहिलोपटक नाचेको उनलाई टड्कारो याद छ । गीत थियो– ‘एउटा ज्यानको दुईवटा श्रीमती ।’

च्यातिएको दौरासुरुवात जुगाड गरी नक्कली जुँगा दाह्री टाँसेर स्टेज उक्लने अवसर स्कूलको वार्षिक उत्सवले जुराएको थियो ।

‘त्यो बेला अर्को स्कूलको सरहरू पनि आउनुभएको थियो, मैले नाचेपछि माहोल बन्यो,’ उनी भन्छन्, ‘हाम्रो स्कूल र अर्को स्कूलका हेडसरले राम्रो गरिस् भनेर मलाई एक/एक सय रुपैयाँ दिनुभयो । त्यो तय भएको पुरस्कार राशी भने होइन ।’

आफूले पाएको सोही पहिलो पुरस्कार भएको उनलाई स्पष्ट याद छ । पछि हाजिरीजवाफ र वक्तृत्वकलामा प्रथम भए पनि गाउन नजान्ने साथीहरू हुँदा गीतमा तेस्रो भएको उनलाई सम्झना छ ।

‘पहिला गाउन नजान्ने साथी थिए र एकपटक तेस्रो भएँ । पछि त गाउन जान्ने आइहाले,’ उनी भन्छन् ।

नाटक मोह

मेक्समले पहिलोपटक नाटक कतिमा पढ्दा हेरेका थिए, त्यो बिर्सिए । त्यो नाटकबारे उनले नबिर्सिएको कुरा हो– आफ्नो स्कूलको वार्षिकोत्सवमा अन्य स्कूलका साथीहरूले देखाएको जनचेतनामूलक नाटक !

पहिलोपटक नाटक हेरेपछि उनको प्रस्तुतीमा अर्को विधा थपियो । उनी भन्छन्, ‘स्कूलमा हुने सबै विधामा म प्रस्तुती दिन्थेँ । नाटक पनि गर्न मन लाग्यो, तर मलाई नाटकमा ह्यूमर मिसाउन मन लाग्यो ।’

चस्का पसेपछि लेखेको नाटकको नाम उनले अहिलेसम्म बिर्सिएका छैनन् । भन्छन्, ‘सात कक्षामा हुँदा आफैँले लेखेर, साथीहरू जम्मा गरेर, ५ मिनेटको नाटक गरेको थिएँ । नाटकको नाम थियो– सवा सात ! सभासद शब्दलाई तोडमोड गरेर त्यो नाम राखेको थिएँ ।’

सात र आठ कक्षामा पढ्दा उनले आफ्नै नेतृत्वमा नाटक देखाए । नौ कक्षामा पढ्दा एसएलसीको तयारीले नाटक गर्न नपाएको उनले सम्झिए । भने, ‘एसएलसीलाई फलामे ढोका भनिन्थ्यो । गम्भीर भएर पढ्ने गरिन्थ्यो । त्यही भएर पढ्नमा ध्यान भयो ।’

नाटक गर्न नपाए पनि त्यसताका देखि नै कमेडीमा मन गएको उनलाई महसुस हुन्छ । ‘नाटक गर्ने समयमात्र नमिलेको हो । अन्य कार्यक्रम त स्कूलमा हुन्थ्यो । त्यसबेला नै मैले स्कूलका शिक्षकहरूको क्यारिकेचर गर्न लागेँ,’ उनी भन्छन्, ‘क्यारिकेचर गर्ने भएकाले म मञ्चमा चढेपछि स्कूलका साथीहरूलाई यसले केही गर्छ है भन्ने थियो ।’

पढाइतर्फ ६ कक्षा दोहोर्‍याएपछि उत्कृष्ट ५ मा पर्न थालेका थिए । उनलाई उत्कृष्ट ३ मा आउने इच्छा पलाएको थियो । भन्छन्, ‘१० मा पुगेपछि मलाई कम्तिमाा पनि तेस्रो बन्ने इच्छा भयो, अनि मिहिनेतले पढेँ ।’

आफूलाई स्कूलको प्यारो बनाउने अतिरिक्त क्रियाकलाप छोडेर पढाइमा गरेको मिहिनेतले उनलाई खुशी दिएको थियो । त्यो खुशीको खबर सुनाउन हेडसरले दाइलाई फोन गरेर भनेका थिए रे– भाइले एलसलसीमा राम्रो गरेछ, कक्षा प्रथम भएछ ।

०६७ सालको एसएलसीमा कक्षा टप गर्दा ७० प्रतिशत ल्याएको उनी बताउँछन् ।

रेडियोमा जागिर

स्याङ्जामै क्याम्पस भएकाले मेक्सम उच्च शिक्षाका लागि मेक्सम काठमाडौं आएनन् । त्यसबेला ११ र १२ कक्षा पढ्न काठमाडौं काठमाडौंमै आउनु पर्दैनथ्यो ।

उनले एसएलसी दिएको १५ दिनमै स्थानीय ‘रेडियो आँधीखोला’ मा जागिर खान थाले । उनको काम थियो– बाल कार्यक्रम चलाउने ! तलब थियो घण्टाको ६० रुपैयाँ ।

‘बाल कार्यक्रमको प्रस्तोताका लागि खुलेको थियो । अडिसन दिएको, नाम निस्कियो’ उनले पहिलो जागिरबारे सुनाए, ‘एउटा कार्यक्रमका लागि रेडियोमा गएको भए पनि अरूहरूको कार्यक्रममा पनि क्यारेक्टर बनेर काम गर्थेँ, कसैको कार्यक्रममा वृद्ध, कुनैमा बच्चा !’

यसरी काम गर्दा महिनाको १२ सय रुपैयाँसम्म तलब बुझेको उनले बताए । रेडियोमा काम गर्दै गर्दा स्थानीय टेलिभिजनको सिरियलमा सानो भूमिकामा खेल्न पाएको अवसरले उनलाई काम गर्न थप ऊर्जा दिएको थियो ।

‘क्याम्पसमा पनि कार्यक्रममा क्यारिकेचर गर्ने, हँसाउने भइरहन्थ्यो,’ उनी सुनाउँछन्, ‘यता रेडियोको कार्यक्रम पनि हिट थियो । टेलिभिजनमा पनि फ्याटफुट्ट रोल पाइन्थ्यो । स्कूल, गाउँ र क्याम्पसका केटाहरूका लागि म सेलिब्रिटी हास्यकलाकार नै भएको थिएँ नि !’

यद्यपि उनी प्लस टूको नतिजा आउने समयमा जीवनको पहिलोपटक काठमाडौं आए । उनले स्याङ्जाबाट बोकेर आएका दुई लक्ष्य त्यतिखेर पूरा हुन पाएन ।

पहिलो सपना- कलाकार भेटेर आफ्नो क्यारिकेचर क्षमता देखाउने । उनलाई त्यसबेला लागेको थियो रे, ‘काठमाडौं जाने । कलाकार भेटिन्छन्, क्यारिकेचर सुनाउने । अनि सिरियलमा काम पाइहालिन्छ ।’

काठमाडौं आएर एक साता दाइ (ठूलाबाको छोरा) को डेरा बस्दा उनको कलाकारलाई भेट्ने पहुँच पुगेन । काठमाडौंमा शहरमा उनी कुहिरोको कागजस्ता भए । उनलाई लाग्यो, ‘मैले सोचेजस्तो रहेनछ । कलाकार भेटेर टीभीमाा आइहाल्ने होइन रहेछ ।’

दोस्रो सपना- मेक्समले १२ को परीक्षा दिँदा प्लस टूपछि विदेश जाने चलन आइसकेको थियो । उनीमा कलाकार बन्न नसके विदेश जाने सोच थियो ।

भन्छन्, ‘पासपोर्टहरू बनाएर तयार थिए नि, म ।’

तर १२ मा फेल भएपछि त्यो सपना पनि तत्कालका लागि रोकियो । उनी एक हप्ताको अवधिमा दुई सपना तुहाएर गाउँ फर्किए ।

रेडियोले जुराएको अवसर

मेक्समको सुरुवाती कलाकार बन्ने सपना पूरा नभए पनि उनको इच्छाशक्ति मरेको थिएन । त्यो, भोगाइले बरु अझ गम्भीर बनाएको उनलाई महसुस हुन्छ ।

काठमाडौंबाट फर्किएर रेडियोमा कमेडी कार्यक्रम चलाउन थालेको उनी बताउँछन् ।

त्यही ताका युटुबमा ‘यी व्यक्तिले यति जनाको आवाज निकाल्छन्‌’ भन्ने भिडियो सामग्री विशेष चर्चामा हुन्थ्यो । सोहीकारण उनले पनि धेरै आवाज निकाल्ने अभ्यास गरे ।

‘म नेता, जनावर, कलाकार, चरा… सबैको आवाज निकाल्थेँ । युट्यूबमा हेरेको मान्छे जस्तै धेरैको आवाज निकाल्न लागिपरेको थिएँ,’ उनी भन्छन् ।

यसले भने उनलाई स्थानीय कलाकारका रूपमा वालिङ महोत्सवको स्टेजसम्म पुर्‍यायो । त्यसको श्रेय उनी रेडियोलाई दिन्छन् ।

‘म भूमिका बाँधेर क्यारिकेचर गर्थेँ । त्यसले गर्दा मलाई स्थानीय कलाकार बनाइसकेको थियो । महोत्सवमा केन्द्रीय कलाकारहरूको अन्तर्वार्ता लिन रेडियोले एउटा स्टल पाउँथ्यो,’ उनी भन्छन्, ‘कलाकारको बाइट र अन्तर्वार्ता मैले नै लिन्थेँ ।’

केन्द्रीय कलाकारको प्रस्तुतिभन्दा पहिले दर्शकलाई मेलामा टिकाउन स्थानीय आयोजकको स्वार्थ उनका लागि अवसर बनेको थियो । यता रेडियोका सहकर्मी उनलाई आँट दिने छदै थिएँ ।

‘सुरुमा त पैसा पाइँदैन थियो । तर, क्यारिकेचर गर्ने भएकाले दर्शक मज्जाले हाँस्नुहुन्थ्यो । म त्यसैमा खुसी भएँ नि !’ उनी भन्छन् ।

पछि रेडियोको कार्यक्रम पनि गाउँघरमा हिट भएपछि र कमेडी गर्ने क्षमतामा केही निखार आएपछि मुख्य कलाकारकै रूपमा प्रस्तुति दिन थालेको उनी सुनाउँछन् ।

‘दोस्रो वर्षको महोत्सवमा मैले मुख्य कलाकार बनेरै प्रस्तुती दिएँ । त्यसबेला चाहिँ मैले पारिश्रमिक पाएको थिएँ,’ उनी भन्छन् । त्यो अवसर मिलाउने आयोजक पदम गुरुङप्रति मेक्सम कृतज्ञ छन् ।

मेक्समका अनुसार उनका लागि स्नातक दौरानको समय राम्रो थियो । यद्यपि बढ्दो उमेरको चापले स्नातक गर्दै गर्दा रेडियोको जागिरको समय कम गरेर बीमामा पनि जागिर गरे । तर, कलाकारिताको अभ्यासमा भने कुनै ह्रास आएको थिएन ।

‘स्नातक दौरान दुई बीमा कम्पनीमा जागिर गरेँ, घर पायकको जागिर ! राम्रो तलब सुविधा थियो,’ उनी भन्छन् ।

यता पढाइतर्फ बीबीएसमा ‘ब्याच टप’ गरेको उनी बताउँछन् । बढुवा खाएर एक बीमा कम्पनीको जिल्ला इञ्‍चार्जसम्म बने ।

‘अब के ?’

०७६ सालसम्म मेक्सम दोधारमा थिए । उनलाई बीमा क्षेत्रमै काम गर्न मन मरेको थियो । परिवारले पनि आम्दानीको ठूलो स्रोत बनाउनुपर्छ भनी अप्रत्यक्ष आस राखेको पत्तो पाएका थिए ।

अर्कोतर्फ सँगैका साथी विदेशमा गएर फेसबुकमा फोटा हाल्दा उनलाई पनि विदेशिन मन लागेको थियो । ‘बीमामा मासिक ३५ हजार रुपैयाँजति कमाइ हुन्थ्यो । इञ्‍चार्ज पनि थिएँ, तर यतिले हुँदैन भन्ने परिरहेको थियो,’ उनी भन्छन्, ‘बीबीएसको नतिजा राम्रो भएकाले विदेश जाने सोच बनाइरहेको थिएँ ।’

०७६ को सुरुवाती महिनामा अफिसमा चिया खाँदै गर्दा एक समाचारमा मेक्समको आँखा पुग्यो । त्यो समाचार थियो- ‘कमेडी च्यापियनका लागि अडिसन खुला !’

त्यो समाचार पढेपछि मेक्सलाई आफ्नो कलाकारिता क्षमता जाँच्न मन लाग्यो । ‘यता त मैले कमेडी गर्छु, मन पराएका पनि छन् । टीभी शोको प्रतिस्पर्धामा गएँ भने त कम्तिमा पनि क्षमता जाँच हुन्छ भन्ने विचार पलायो,’ उनी भन्छन्, ‘अलिकति समाचार पढेर मनमा कुरा खेल्न थालेछ । विजेताले के पाउँछ भन्ने पनि पढेनछु ।’

क्षमता जाँच्न उनले डिजिटल अडिसन दिए । आफू इञ्‍चार्ज भएकै बीमाको अफिसबाट अडिसनको भिडियो खिचेको उनी सुनाउँछन् ।

डिजिटल अडिसन पास भएपछि उनलाई कमेडी च्याम्पियनले फोनमा बधाई दिँदै फिजिकल अडिसनका लागि काठमाडौं बोलायो । उनी थप्छन्, ‘दसैँ र तिहारको बीचमा काठमाडौं आउन भन्नुभएको थियो । त्यसपछि कलाकार बन्ने हुटहुटी झन् थपियो ।’

अडिसनको किस्सा

यो पटक काठमाडौंमा आएर मेक्सम मध्य-बानेश्वरमा रहेका मित्र नेत्र सुवेदीको डेरामा बसे । स्याङ्जका कसैलाई पनि अडिसन दिन काठमाडौं आएको जानकारी दिएका थिएनन् ।

अडिसनमा जाने दिन बिहानको खाना खाएपछि आफूले लेखेको कुरा साथीलाई सुनाए । यो घटना उनका लागि अन्तिम अवसर जस्तै बन्यो । साथी कुनै पञ्‍चमा नहाँसेपछि उनले डेरादेखि अडिसनस्थल जाँदा बाटोको समयमा केही पञ्‍च थप्न पाए ।

टेलिभिजनमा देखिएका कलाकारहरू ऋचा शर्मा, मनोज गजुरेल, सन्तोष पन्त र निर्देशक प्रदीप भट्टराई जज थिए । स्टेज कार्यक्रम गरिरहेकाले उनीमा आत्मविश्वासको कमी थिएन, अडिसनमा कुनै समस्या भएन ।

‘जजहरू पनि पञ्‍चहरूमा हाँस्नुभएको थियो । राम्रै गरे भन्ने लागेको थियो, तर चयन हुनेमा शङ्का थियो,’ उनी भन्छन्, ‘बाहिर शोको होस्ट रिमा विश्वकर्माले कस्तो गर्नुभयो भन्दा चाहिँ टप २४ मा भेटौँला भनिदिएँ ।’

फिजिकल अडिसन दिएपछि उनी स्याङ्जा फर्किए । केही समयपछि अडिसनको भिडियो सार्वजनिक भयो । त्यही भिडियोमार्फत उनले आफू ‘सेलेक्ट’ भएको थाहा पाए ।

‘भिडियो निस्किएपछि त सबैले बधाई दिन लागे । जित्नुपर्छ भनेर शुभकामना पनि पाइयो । धेरैले चाहिँ हामीलाई थाहै नदिइ च्याम्पियनमा गएको भनेर गुनासो पनि गर्नुभयो,’ उनी भन्छन् ।

त्यसपछि भने जागिरबाट राजीनामा दिएर मेक्सम काठमाडौं आए । उनको कलाकारिता यात्राले यहीँबाट गति लिन लागेको हो ।

च्याम्पियनले सिकाएको कमेडी

यसपटक काठमाडौं आएर उनी च्यापियनले दिएको होस्टलमै बसे । आफ्नै बुताले टप २४ छिचोलेपछि कमेडी बुझ्ने अवसर पाएको उनी बताउँछन् ।

‘टप १५ मा पुगेपछि हामीले कमेडी गर्ने विषयको शीर्षक र मेन्टर पायौं । उहाँहरूको सैद्धान्तिक पक्ष बुझाउनुभयो । त्यो नै च्याम्पियनले दिएको ठूलो कुरा हो,’ उनी भन्छन् ।

कमेडी च्याम्पियनबाटै उनी धेरै दर्शकमाझ पुगे । च्याम्पियको टप-५ सम्म पुग्दै उनले आफ्नो क्षमताबाट दर्शकको मन जिते । टप ५ बाट अगाडि बढ्न नसके पनि कलाकारका रूपमा परिचित बन्न सफल भए ।

यद्यपि च्याम्पियनको फाइनल दिन उनका लागि विशेष छ । कारण हो– मह जोडी !

‘फाइनलमा मेरो पनि प्रस्तुती थियो । महजोडी अतिथि हुनुहुन्थ्यो । प्रमुख प्रेरणापात्रकै अघि प्रस्तुती दिँदा मलाई निकै सन्तुष्टि मिलेको थियो,’ उनी भन्छन् ।

च्याम्पियनको होस्ट

पहिलो सिजनमै दर्शकको मन जितेकाले मेक्समलाई स्टेज कार्यक्रमका प्रस्ताव थुप्रै स्थानबाट आएको थियो । तर, कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनले स्टेज कार्यक्रम ठप्प भयो ।

यद्यपि उनी कोरोना कालमा भएको ‘डिजिटल गाईजात्रा’मा सहभागी हुन पाए । हास्य कलाकारहरूको लक्ष्यका रूपमा लिइने गाइजात्रामा सहभागी हुने अवसर उनलाई कमेडी च्याम्पियनले दिएको थियो ।

‘मनोज दाइजस्ता सिनियरसँग काम गर्दा त सपना सकार भएजस्तो लागेको थियो,’ उनी भन्छन्, ‘हुलाकीको भूमिका गरेको थिएँ, दर्शकले पनि मन पराइदिनुभयो ।’

लकडाउन खुल्दै गएपछि स्टेज कार्यक्रमहरूमा पनि व्यस्तता बढ्दै गएको उनी बताउँछन् । त्यसपछि मेक्समलाई थप अवसरका ढोका खुल्दै गए । च्याम्पियनको प्रतिस्पर्धा दौरान होस्ट रिमालाई जिस्काएकाले दोस्रो सिजनमा होस्ट नैए भए ।

‘मैले प्रतिस्पर्धामा रिमालाई जिस्काउँथेँ । त्यही कुरा च्याम्पियनका निर्देशकलाई मन परेछ । उहाँले रिमासँग ठट्टा गर्दै होस्ट गर्ने प्रस्ताव गर्नुभयो,’ उनी भन्छन्, ‘मैले स्वीकार गरेँ । त्यसबाट पनि मलाई दर्शकले नोटिस गर्नुभयो ।’

रेडियो अडियो र कमेडी क्लब

च्याम्पियनपछि मेक्सममा विदेश जाने भोक हराएको थियो । बरु यही क्षेत्रमा केही गर्ने दृढशक्ति पैदा भएको थियो ।

अग्रज हास्य कलाकारहरू ‘रेडियो अडियो’ मा आबद्ध भएकाले उनलाई पनि काम गर्ने इच्छा जागेको थियो । नभन्दै त्यो इच्छा पनि उनले पूरा गर्न पाए । उनले त्यहाँ चलाएको कार्यक्रम हो– जोकतन्त्र !

‘सिजन २ पछि रेडियोमा जोडिएँ । त्यो कार्यक्रम पहिले सुबोध गौतम र राजाराजेन्द्र दाइहरूले चलाउनुभएको रहेछ,’ उनी भन्छन्, ‘मैले चाहिँ फर्म्याट अलिक परिवर्तन गरेर चलाएँ ।’

कोरोनापछि कलाकारिता क्षेत्र चलायमान हुँदै गर्दा च्याम्पियनका निर्देशक विशाल भट्टराईले पहिलो र दोस्रो सिजनका कलाकारलाई लिएर टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन’ ल्याउने निर्णय गरे ।

मेक्सम, कैलाश कार्की र शान बस्नेत स्क्रिप्ट लेख्ने जिम्मेवारीमा थिए । सोही अनुरुप मेक्सम पहिलो एपिसोडमा कलाकार र स्क्रिप्ट राइटर भएर काम गरे ।

‘२ मा चाहिँ राइटिङमा अरू साथीहरू पनि जोडिनुभयो । त्यसपछि हामी चाहिँ पूर्ण रूपमा प्रस्तुतिमा केन्द्रित भयौं,’ उनी भन्छन् ।

‘कमेडी क्लब विथ च्याम्पियन’लाई उनी कलाकारितामा अडिक हुन्छु भनेर दृढ सङ्कल्प दिने स्थानको रूपमा लिन्छन् । ‘त्यसमा गर्ने क्यारेक्टर, हरेका हप्ता आउजे एपिसोड, त्यहाँबाट आउने प्रतिक्रिया लगायतले मलाई हौसला दिएको छ, उनी भन्छन्, ‘त्यहाँबाट आफूमा हुने क्षमता पनि बुझ्ने मौका पाइयो । धेरै क्यारेक्टर गर्दा आफूसँग भएको, तर बाहिर ल्याउन नपाएको क्षमता देखाउने स्थान पाइयो । यसले आफूमा थप निखारता ल्यायो । धेरै क्यारेक्टर दर्शकले मन पराउनुभयो ।’

मेक्समले निर्वाह गरेकामध्ये दर्शकले अत्यधिक मन पराएको पात्र हो– ‘पिताम्बर गौडे’ । जुन उनी सुमन कार्की ‘कार्की दाइ’सँग वृद्ध जोडी बनेर गर्छन् । पीताम्बर पात्र गर्दा आफूलाई पनि सन्तुष्ट मिल्ने मेक्सम सुनाउँछन् । भन्छन्‌, ‘त्यो पात्र गर्दा जति सन्तुष्टि मलाई अरूमा मिल्दैन ।’

केही महिनाअघि अमेरिका भ्रमणमा सोही पात्रका कारण त्यहाँका दर्शकले दिएको प्रतिक्रिया शब्दमा व्यक्त गर्न नसक्नुको रहेको उनी बताउँछन् ।

‘सिजन १ देखिको सानो कुरा पनि त्यहाँ दर्शकले याद गर्नुभएको रहेछ,’ उनी भन्छन्, ‘वृद्ध पात्रले त बुवाको झझल्को दियो भन्ने दर्शक धेरै भेटिनुभयो । उहाँहरूको प्रतिक्रिया र त्यो पात्रप्रतिको माया म शब्दमा व्यक्त गर्न सक्दिनँ ।’

केमा व्यस्त ?

मेक्सम काठमाडौं आएर कलाकारितामा लगेपछि खाली बस्नु परेको छैन । अहिले स्टेज कार्यक्रमहरूमा पनि उनको माग बढ्दो छ ।

हाल उनी ०८१ को गाइजात्राको तयारीमा छन् । भन्छन्, ‘च्याम्पियमा आएदेखि यताको गाइजात्रामा स्थान पाएको छु ।’

अब कमेडी क्लबको नयाँ सिजनमा पनि उनलाई दर्शकले देख्न पाउनेछन् । साथै, गाइजात्रा लगत्तै स्टेज कार्यक्रमहरू व्यस्त हुने तालिका रहेको उनी बताउँछन् ।