फाइल तस्वीर

ब्रेकिङ स्टोरी

कांग्रेस-एमालेले मात्रै संविधान संशोधन गर्दा अवस्था जटिल हुन्छ : शेखर कोइराला

By खबरहब

August 16, 2024

विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार मोरङको बूढीगंगा गाँउपालिका-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुईतिहाइ बहुमत रहे पनि सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

संविधान संसोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए । कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन् जटिल हुने उल्लेख गरे ।

कोइरालाले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्र हेर्ने पनि क्षेत्राधिकार दिन नहुने जिकिर गरे ।

नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बूढीगंगा गाउँपालिकाले मिर्गौला, मुटु तथा मधुमेहसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर गरेको हो । नेता कोइरालाले बिरामी जाँच्दै नि:शुल्क स्वास्थ्य शिविर शुभारम्भ गरे ।