ब्रेकिङ स्टोरी

दूधकोशीमा बाढी : काठमाडौंबाट जान सकेन हेलिकप्टर, नदीमा फसेकालाई निकाल्न समस्या

By खबरहब

August 16, 2024

काठमाडौं- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर भीषण बाढी आएको छ ।

बाढीका कारण थामे गाउँका ७० प्रतिशत घर डुबानमा परेका छन् । कयौँ घर पूरै भत्किएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले टासी लाप्चा क्षेत्रको कुनै एक पोखरी फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

‘हाम्रो गाउँपालिकाको माथिल्लो भागमा रहेको तासिलाक्चा जाने बाटोका कुनै पोखरी फुटेको अनुमान हामीले गरेका छौँ । दूधकोशीको बाढीले मानवीय क्षति भएको जानकारी आएको छैन । तर केही मानिसहरू नदीको बहावका कारण फसेको खबर पाएका छौँ’, उनले भने, ‘फसिरहेका मानिससँग हामी सम्पर्कमा छौँ । नदीको बहाव कम भइसकेपछि उनीहरूलाई उद्धार गर्ने योजना छ ।’

भुसालले बाढीलगत्तै काठमाडौंबाट हेलिकप्टर मगाए पनि खराब मौसमका कारण आउन नसकेको बताउ । ‘डुबानमा परेको बस्तीमा पानीको बहाव केही कम भएको छ । केही झोलुङ्गे पुल पनि जोखिममा छन् । काठमाडौंबाट हेलिकप्टर मगाएका थियौँ तर खराब मौसमले समस्या भयो’, उनले भने, ‘बाढीपछि जिल्ला सदरमुकाबाट पनि सुरक्षाकर्मीको टोली परिचालित भएको खबर आएको छ । हामी प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा छौँ ।’