ब्रेकिङ स्टोरी

दूधकोशीको बाढीले क्षति गरेको थामे पुगेर उद्धारमा जुटे सुरक्षाकर्मी

By खबरहब

August 16, 2024

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा आएको बाढीले क्षति गरेको थामे गाउँमा सुरक्षाकर्मी पुगेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा थामे गाउँमा ठूलो क्षति भएको छ ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि प्रहरी र सेना परिचालन गरिएको बताएकी छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा बाढीका कारण लगभग २० वटा घर पुरिएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार बाढीमा फसेका पाँचजनाको उद्धार गरिएको  छ । एक जना बेपत्ता छन् ।

नेपाली सेना, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले बाढीमा फसेकाहरूको उद्धार गरेको हो । सुरक्षाकर्मीले जनावरको पनि उद्धार गरिरहेको छ ।

प्रजिअ पाण्डेले खुम्बु क्षेत्रमा हिमपहिरो झरेको हो या हिमपोखरी फुटेको यकिन नभएको बताइन् । उनका अनुसार अहिलेसम्म बाढीले दुई होटल बगाएको र छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ की वडासदस्य ङवाङ जाङ्मु शेर्पाले बाढीका कारण ठूलो क्षति भएको जानकारी दिइन् । उनकाअनुसार थामे क्षेत्रका धेरै घरमा भीषण बाढी पसेको थियो।