समाचार

हावाहुरीले मकैबालीमा क्षति, किसानलाई भोकमरीको चिन्ता

By खबरहब

August 16, 2024

मान्म– बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले यहाँको शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ । हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको हो ।

पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पुर्‍याएको स्थानीय जवानसिंह सुनारले बताए । ‘यहाँ धानखेती हुँदैन । यहाँको मुख्य बाली मकै हो’, उनले भने, ‘हावाहुरीले मकै बाली नष्ट भएपछि किसान भोकमरी हुने चिन्तामा छन् ।’

अहिलेसम्म यहाँका किसानले कृषि बीमा गरेका छैनन् । यहाँको प्रमुख बाली मकै भएकाले हावाहुरीले ठूलो क्षति पुर्‍याएको शुभकालिका गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर रामजालीले बताए । ‘हावाहुरीले मकै बालीमा ठूलो क्षति पुगेको छ’, उनले भने, ‘क्षतिका बारेमा गाउँपालिका तथा विपद् व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराइएको छ ।’