फोटो फिचर

दूधकोशीको बाढीले थला पर्‍यो सुन्दर थामे गाउँ (तस्बिरहरू)

By खबरहब

August 16, 2024

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा आएको बाढीले थामे गाउँलाई बिरुप बनाएर गएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा थामे गाउँमा ठूलो क्षति भएको हो

बाढीले थामे गाउँका कयौँ घर पुरिएका छन् केही बगेका छन् । स्कुलदेखि होटल र रेस्टुराँसमेत दूधकोशीको बाढीमा पुरिएका छन् ।

थामे गाउँमा मात्रै कम्तीमा पनि २० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । दिउँसोको समय भएकाले मानवीय क्षति भएको छैन । एकजना भने बेपत्ता भएको खबर आएको छ ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि प्रहरी र सेना परिचालन गरेर थामेमा उद्धार चलिरहेको बताइन् ।

नेपाली सेना, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले बाढीमा फसेकाहरूको उद्धार गरिरहेको छ । सुरक्षाकर्मीले जनावरको पनि उद्धार गरेर बचाएका छन् ।