स्टक

साउनमा ७६० अंकले बढ्यो नेप्से, ४ खर्ब १३ अर्ब कारोबार

By खबरहब

August 16, 2024

काठमाडौं– नेपालको शेयर बजारका लागि साउन उछाल आएको महिना सावित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकै महिनामा ७६०.४ अंकले  बढ्यो । सरकार परिवर्तन र नेपाल राष्ट्र बैंकले शेयर बजारप्रति लिएको लाचिलो नीतिका कारण यो महिना शेयर बजारमा उछाल आएको हो ।

शेयर बजारमा उछाल आउँदा नेप्से दैनिक औषत ३४.५६३ अंकले बढेको छ । शेयर बजारमा उछाल आएसँगै यही महिनामा शेयर कारोबारमा पनि नयाँ रेकर्डहरू कायम भएका छन्‌ । यो महिनामात्र ५ पटक कारोबारको रेकर्ड कायम भएको हो ।

साउन १६ गते बुधबार २१ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएसँगै नयाँ रेकर्ड बनाएको थियो । साउन २२ गते बजार १४९ अंकले घटेर ठूलो करेक्सन आउँदा समेत कारोबारमा नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन २३ अर्ब ५० करोड रुपैयाँको कारोबार भएसँगै नयाँ रेकर्ड बनेको थियो ।

साउन २७ गते नेप्सेमा २५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएसँगै नयाँ रेकर्ड बन्यो । त्यसको अघिल्लो दिन अर्थात्‌ साउन २८ गते २६ अर्ब ८० करोड रुपैयाँको कारोबार भएसँगै अर्को नयाँ रेकर्ड बनाएको थियो । त्यपछि महिनाको अन्तिम कारोबार अर्थात्‌ साउन ३१ गते २९ अर्ब ३० करोड रुपैयाँको कारोबार भएसँगै नयाँ रेकर्ड बनाएको थियो ।

यो महिना नेप्सेमा ५ वटा नयाँ कारोबार रेकर्ड बन्दा एक महिनामा ४ खर्ब १३ अर्ब ५२ करोड ३७ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । साउनमा २२ दिन शेयर कारोबार हुँदा दैनिक औषतमा १८ अर्ब ७९ करोड ६५ लाख ३२ हजारा रुपैयाँ बराबरको कारोबार भएको छ ।

साउमा २२ दिनको अवधिमा ८७ करोड ७७ लाख ४१ हजार ७०७ कित्ता शेयर किनबेच भएको छ । एक महिनामा दैनिक औषत ३ करोड ९८ लाख ९७ हजार ३५० कित्ता शेयर किनेबेच भएको छ ।

बिहीबार बजार बन्द भएसँगै नेप्सेको बजार पुँजीकरण ४७ खर्ब ६५ करोड ९१ लाख बराबर पुगेको छ । साउनमा २२ दिन शेयर कारोबार हुँदा ४६ लाख ९ हजार २४५ पटक शेयर किनबेच भएको छ । दैनिक औषत २ लाख ९ हजार ५१५ पटक शेयर किनबेच भएको हो ।

कुन साता कस्तो रह्यो बजार ?

महिनामा २२ दिन नेप्से कारोबार हुँदा ५ दिन बजार घट्यो भने बाँकी १७ दिन नेप्से बढ्यो । ७ औँ कारोबार भएको दिन २७ अंकले घट्यो भने त्यसको तेस्रो कारोबारको दिन २० अंकले घट्यो ।

२० अंकले घटेको तेस्रो कारोबारमा पुनः ५ अंकले बजार घट्यो । त्यसको दोस्रो दिनमा भने बजामा ठूलो करेक्सन आयो । एकै दिन १४५ अंकले बजार घट्यो । ठूलो करेक्सन आएको ५औँ दिन नेप्से ८ अंकले घटेको थियो ।

३ दिनमै १८३ अंकको वृद्धि

साउन महिना सुरु भएको ३ दिनमै नेप्से १८३.९१ अंकले बढेको थियो । साउन १ देखि ३ गतेसम्म नेप्से कारोबार हुँदा ३ नै दिन बजार बढेको थियो भने औषत दैनिक ६१.३०३ अंकले नेप्से बढेको थियो ।

तीन दिन अवधिमा ३६ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत १२ अर्ब १८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

महिनाको शुरूका तीन दिनले नै बजारमा उत्साह जगाउँदा ९ करोड ४ लाख ६९ हजार ४२५ कित्ता शेयर किनबेच भयो । ३ दिनमा दैनिक औषत ३ करोड १ लाख ५६ हजार ४७५ कित्ता शेयर कारोबार भएको थियो ।

समग्रमा बजार बुलमा रहँदा ३ दिनमा ४ लाख ४९ हजार २३९ पटक शेयर कारोबार भएको थियो । दैनिक औषत १ लाख ४९ हजार ७४६ कित्ता शेयर किनबेच भएको थियो ।

दोस्रो साता ११२ अंकको वृद्धि

साउन ६ गतेदेखि १० गतेसम्म ५ दिन शेयर कारोबार भयो । उक्त साताको बुधबार नेप्सेमा करेक्सन आएको थियो भने अन्य बाँकी ४ दिन नेप्से बढेको थियो । ४ दिन नेप्से बढ्दा सोमबार २ अंकले नेप्से बढेको थियो भने अन्य ३ दिन दोहोरो अंकले बढेको थियो ।

बुधबार नेप्से २७ अंकले घट्ता पनि समग्रमा सातामा ११२.९६ अंकले नेप्से बढेको थियो । ५ दिनमा औषतमा दैनिक २२.५८८ अंकले नेप्से बढेको थियो । आइतबार नेप्से ६१ अंकले, मंगलबार ७५ अंकले र बिहीबार ३२ अंकले नेप्से बढेको थियो ।

कारोबारको हिसावले पनि यो सता नेप्सेमा राम्रो देखिएको छ । ५ दिनमा ७३ अर्ब ६ करोड ५२ लाख रुपैयाँको करोबार भएको छ । औषत दैनिक १४ अर्ब ६१ करोड ३० लाख रुपैयाँ बराबरको करोबार भयो ।

सातामा १६ करोड ८७ लाख १८ हजार ६८० कित्ता शेयर कारोबार भएको थियो । दैनिक औषत ३ करोड ३७ लाख ४३ हजार ७३६ कित्ता शेयर कारोबार भएको थियो । ५ दिनको अवधिमा ८ लाख ५८ हजार ५७० कित्ता शेयर किनबेच हुँदा दैनिक औषत १ लाख ७१ हजार ७१४ पटक शेयर किनबेच भयो ।

नेप्सेको वृद्धि, कारोबार हेर्दा पहिलो सता नेप्से बुल ड्रेन्डमा देखिएको थियो । समग्र रूपमा दोस्रो साता नेप्सेको लागि सुखद रह्यो ।

करिब खर्ब कारोबारसहित तेस्रो साता १८७ अंकले बढ्यो नेप्से

साउन १३ गतेदेखि १७ सम्म ५ दिन नेप्से कारोबार हुँदा २ दिन बजारमा करेक्सन आएको थियो भने बाँकी ३ दिन बजार बढेको थियो ।

नेप्सेमा सोमबार २० अंकको र बिहीबार ५ अंकले करेक्सन आउँदा समग्रमा सातामा १८७.४९ अंकले नेप्से बढ्यो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि सार्वजनिक गरेको मौद्रिन नीति पछिको पहिलो सातामा समग्रमा नेप्सेका लागि फलदायी नै भएको देखियो ।

मौद्रिक नीति शेयर बजारका लागि सकारात्मक आएकाले बजारमा पनि उच्च बढोत्तरी भयो । शेयर बजारका लगानीकर्ताले पनि मौद्रिक नीतिलाई सकारात्मक प्रतिक्रिया दिएपछि बजारले पनि गति लियो ।

मौद्रिक नीतिमा शेयर धितो कर्जामा लगाइएको २० करोडको क्याप हटाएर बैंकको लागि राम्रो नीति लिएकाले समग्रमा मौद्रिक नीति सकारात्मक भएको लगानीकर्ताहरूले बताए ।

लगानीकर्ताको सकारात्मक प्रतिक्रिया दिएसँगै आइतबारको बजारमै सकारात्मक प्रतिक्रिया देखिएको थियो । आइतबार एकै दिन ११३ अंकले बढेर मौद्रिक नीतिको नेप्सेले खुलेर स्वागत गरेको थियो ।

मौद्रिक नीतिपछिको एक सातामा करिब एक खर्बको कारोबार भयो । ५ दिनमा नेप्से ७.१७ प्रीतशतले बढ्दा दैनिक औषत ३७.४९८ अंकले बढ्यो । दुई दिन बजारमा करेक्सन आउँदा समेत समग्रमा भन्दा बजार बुल ट्रेन्डमा नै रहेको देखियो ।

कारोबारमा इतिहास कायम भएको सातामा ५ दिनमा ९५ अर्ब ५३ करोड ८५ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत १९ अर्ब १० करोड ७७ लाख १७ हजार रुपैयाँको कारोबार भयो ।

५ दिनको अवधिमा २० करोड २५ लाख २५ हजार ९९८ कित्ता शेयर कारोबार हुँदा दैनिक औषत ४ करोड ५ लाख ५ हजार १९९ कित्ता शेयर किनबेच भएको थियो । सातामा १० लाख ४८ हजार ६५० पटक शेयर किनबेच हुँदा दैनिक औषत २ लाख ९ हजार ७३० पटक किनबेच भएको थियो ।

फाइल फोटो

चौथो साता कारोबारमा नयाँ रेकर्ड सहित १० अंकले बढ्यो नेप्से

साउन २१ गतेदेखि २४ गतेसम्म नेप्सेले कारोबारमा नयाँ इतिहास बनायो । आइतबार सार्वजनिक बिदा भएकाले सोमबार बाट मात्र शेयर कारोबार भएकोमा मंगलबार २३ अर्ब रुपैयाँको कारोबारसँगै नयाँ रेकर्ड बनाएको हो । मंगलबार नेप्से १४९ अंकले घटेको भए पनि कारोबारमा भने उछाल आएको थियो ।

अघिल्लो साताको बिहीबार २७५५.६२ विन्दुमा रहेको नेप्से परिसूचक सातामा १०.७६ अंकले बढेर २७६६.३८ विन्दुमा आएको छ । सातामा ४ दिन कारोबार हुँदा एक दिन बजार घट्यो भने बाकी ३ दिन बजार बढ्यो । बजार एक दिन मात्र घट्ता पनि समग्रमा दैनिक औषत २.६९ अंकले नेप्से बढ्यो ।

४ दिनमा ८२ अर्ब ७१ करोड ३१ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत २० अर्ब ६७ करोड ८२ लाख ८४ हजार रुपैयाँको कारोबार भयो । कारोबारमा उछाल आउँदा ४ दिनमा १६ करोड ५१ लाख ८६ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा दैनिक औषत ४ करोड १२ लाख ९६ हजार ६५४ कित्ता शेयर किनबेच भयो ।

यो सातामा ४ दिनको अवधिमा ९ लाख २० हजार ७८८ पटक शेयर किनबेच हुँदा दैनिक औषत २ लाख ३० हजार १९७ पटक शेयर किनबेच भयो । समग्रमा पाँचौँ सता शेयर बजार सकारात्मक नै हरेको रहयो ।

पाँचौँ साता १ खर्ब बढीको कारोबार सहित २३४ अंकको वृद्धि

साउनको पाँचौँ साता अर्थात साउन २७ गतेदेखि ३१ गतेसम्म १ खर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । पाँचौँ साता कारोबारमा ३ पटक नयाँ रेकर्ड बनाएसँगै १ अर्ब २५ अर्ब ६५ करोड ८३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।

गत बिहीबार २९ अर्ब ३० करोडको कारोबार भएसँगै नयाँ रेकर्ड बनाएको सातामा ५ दिन नेप्से कारोबार हुँदा दैनिक औषत २५ अर्ब १३ करोड १६ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

सातामा ५ दिन नेप्से कारोबार हुँदा मंगलबार ८ अंकको करेक्सन आएको थियो भने अन्य ४ दिन बजार बढेको थियो । साउनको पाँचौँ सातामा नेप्से २३४.१४ अंकले बढेको थियो । दैनिक औषत ४६.८२८ अंकले नेप्से बढेको थियो ।

नेप्से र कारोबारमा समेच उच्च वृद्धि हुँदा शेयर किनेबेच कित्तामा समेत वृद्धि भएको थियो । पाँचौँ साता २५ करोड ८ लाख ४० हजार ९८७ कित्ता शेयर कारोबार हुँदा दैनिक औषत ५ करोड १ लाख ६८ हजार १९७ कित्ता शेयर कारोबार भयो ।

बजारमा उछाल आउँदा साउनको पाँचौँ साता १३ लाख ३२ हजार ९८ पटक शेयर किनबेच भयो । ५ दिनको अवधिमा दैनिक औषत २ लाख ६६ हजार ४१९ पटक शेयर किनबेच भएको थियो ।