गत शुक्रबार अफिसबाट डेरामा फर्केपछि साँझ ७ बजेतिर आँखा फेसबुकमा डुलाएको थिए । खाना पकाउने तरखर थियो । खाना बनाउँदै मोबाइल हेर्ने बानी भएकाले होला, एउटा समाचारको शीर्षकमा ध्यान गयो । कलाकर्मी डटकम अनलाइनले लेखेको थियो,‘नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने’ शीर्षक थियो ।
लिंक ओपन गरी समाचार पढेँ । फिल्मको देशभर पहिलो दिनको ‘शो’ शुक्रबार नै रहेछ । शनिबार पनि फिल्मले राम्रै व्यापार गर्ने आंकलन सामाजिक सञ्जालमा भइरहेको थियो । त्यस समाचारप्रति मेरो चासो हुनुको पछाडि तीन वटा कारण छन् ।
एउटा नेपाली फिल्म त्यो पनि अन्तर्राष्ट्रिय मुलुकहरूमा समेत प्रदर्शन भएर नेपालमा पनि उक्त फिल्म किन नदेखाउने त ? भन्ने खालको अनुभूति मीनबहादुर भामलाई परेको हुनसक्छ । भाम फिल्मका निर्देशक हुन् ।
पुनः प्रसंगमै फर्कियौं । यो फिल्मप्रति मलाइ रुची लाग्नुको दोस्रो कारण हो, ओस्कार अवार्डमा जाने उक्त नेपाली मूभी हामी नेपालीले किन नहेर्ने त ? भन्ने पनि हो । अर्कोतर्फ, हुम्ला र डोल्पाको माथिल्लो हिमाली भेगमा सेट तयार गरि छायांकन गरिएको उक्त फिल्म नेपाली मौलिक कथामा बनेको फिल्म निर्देशक मीनबहादुर भामले एउटा अन्तरवार्तामा भनेको सुनेको थियो ।
छुट्टीको दिन के गर्ने त भनेर एकछिन घोरिए । काठमाडौं आएको ८ वर्ष बितेहोला, मुस्किलले ३ वटा मात्र फिल्म हलमै पुगेर हेरेको छु । त्यो पनि २ वटा फिल्म त साथीले टिकट काटेर । शनिबार फिल्म हेर्न जाने योजना बनिसकेको थियो । फिल्म ‘राम्रो बनेको छ रे, हेर्न जाँदा हुन्छ भनेर’ भान्जा दिनेश ढकालसँग शनिबार साँझमै ‘म्यासेन्जर’मा कुराकानी भइसकेको थियो । उहाँले पनि भारत भएकोले मात्र हो, नेपाल हुन्थे म भने सँगै फिल्म हेर्न जान हुन्थ्यो भन्ने यस्तै यस्तै कुराहरू भए ।
भोलीपल्ट, शनिबार बिहान एक घण्टा जति मर्निङ वाक गरियो । मर्निङबाट फर्केर बिहानको खाना तयार गरेँ । खाना बनाएर खाइवरी नुहाइ–धुवाईको काम सकाएर फिल्म हेर्न जान म तयार भएँ ।
त्यति बेलासम्म घडीले दिउँसोको १ बजेर ४५ मिनेट बजाइसकेको थियो । मोटरसाइकल झिकेँ, र, कमलपोखरीस्थित सिटी सेन्टरतर्फ मोडिए । दिउँसोको २ः१५ को ‘शो’ थियो मेरो । २ बजेर २० मिनेटमा बिग मुभिज पुगिसकेको थिएँ । हतार–हतार साम्बालाको टिकट छ भनेर काउन्टरमा सोधेँ । टिकट कुन गरौं भनेर टिकट काउण्टरवालाले बाहिरबाटै रोजाएँ । अलि पछिको सीट रोजेँ । टिकट बोकेर फिल्म हलभित्र छिर्दा ‘शाम्बाला’ को कथा सुरु हुनै आँटेको थियो । केहीबाहेक फिल्ममा सबैजसो सीट प्याक भइसकेको थियो ।
काठमाडौं झरेपछि तेस्रो पटक आफैं टिकट काटेर, त्यो पनि एक्लै फिल्म हेर्न म पुगेको थिए । उता फिल्म सुरु भइसकेको थियो । हिमाली भेषभूषा, रहनसहन, संस्कृति र जीवनशैली देखिने सिनेमाको मूख्य पात्र ‘पेमा’ को प्रेमकहानीबाट सुरु हुन्छ ।
तीन दाजुभाइसँग विवाह गरेकी पेमाका जेठो श्रीमान टासी व्यापारका लागि ल्हासा जान बिदाइ भइसकेको हुन्छ । श्रीमानबाट टाढा भएकी पेमा भने दावासँग भन्छिन् । दावा पेमाको कान्छो श्रीमान । दावा भने पेमाका लागि छोरा बराबर हेरचाह गरेकी हुन्छिन् ।
दावाले पनि श्रीमतीजस्तै पेमाको केयर गरिरहेको हुन्छ । सानै उमेरको दावालाइ पेमाले शिक्षादिक्षा दिनुपर्छ भनेर विद्यालयमा पुग्छिन् । त्यहाँ उनी शिक्षक राम सरसँग नजिकिन्छन् । त्यतिबेलासम्म पेमा गर्भवती हुन्छिन् । टासीबाट टाढिएकी पेमाको पेटमा हुर्कदै गरेको बच्चा राम सर(कर्मा शाक्य) को हो भनेर समाजले उनीमाथि कुरा काट्न थाल्छ । बालमस्तिकतका दावालाई पनि त्यो कुरा सत्य लाग्छ ।
पेमालाई समाजले पनि राम सरसँगको नाजायज सम्बन्ध राखेकाले पेटमा बच्चा बसेको भनेर लाञ्छना लगाउँछ । तर, पेमा भने समाजले लगाएका लाञ्छना र घृणाबाट कत्ति पनि नआत्तिकन अग्निपरीक्षा दिन तयार हुन्छिन् ।
पेमा गर्भवती भएको खबर उता ल्हासामा रहेका टासीको कानमा पुग्छ । आफ्नो प्रेमिका अरूसँग जोडिएको हल्लाले टासी पनि चिन्तित हुन्छ । र, बरु घर फर्कने तरखर गरेको टासीले बाटो बदल्छ । पतिले बाटो बदलेको थाहा पाएकी पेमा उनकै खोजीमा निस्किछिन् । उनलाई केबल टासीलाई भेटेर साँचो र सत्य कुरा भन्न हतार भइसकेको हुन्छ । गर्भवती अवस्थाकी पेमा हिमालको थुम्की हुँदै सयौँ पहाडहरू छिचोल्दै टासीको खोजीमा हुन्छिन् । पति खोज्ने यात्रामा निस्केकी पेमाले अनुभव, भोगाइ र संघर्षबीच उम्रिएको प्रेम कहानी हो भन्दा फरक नपर्ला फिल्म–शाम्बाला ।
पति खोज्न निस्केकी पेमाले यात्राका क्रममा आफू सवार गर्ने घोडा हराउँछ । पति खोज्न गएकी पेमा घोडाको खोजीमा भुल्न पुग्छिन् । घोडा र पति दुवैको खोजी गर्ने यात्रामा रहेकी पेमा अन्ततः पेमाबाट कसरी ‘शाम्बाला’ मा रुपान्तरण भइन भन्ने कुरा फिल्मले उठाउन खोजेको छ ।
परिवारको वियोग र समाजको लान्छनाबाट उम्किएर पेमाले संसारिक मोहलाई त्यागेर आत्ध्यात्म र शान्तिको बाटो रोज्छिन् । हेर्दा, मदनको वियोगमा रन्थनिएकी मुनाजस्तै लाग्छ, फिल्ममा पेमाको जीवन कहानी ।
हिमालका थुम्का मुनी कहिले घोडा त कहिले चौँरीसगै जीवनसँग पौंठेजोरी गरिरहेकी पेमा समाजले लगाएको लाञ्छना असत्य सावित गर्न सबै खालको अग्नि परीक्षा दिन पनि तयार भएकी हुन्छिन् । तर, उनी हार्दिनन्, समाजसँग विचलित हुँदिनन् । राम सरकारको भूमिका देखिने कर्मा शाक्यको अभिनय गज्जब छ । पेमासँग नजिकिन राम सरले प्रेममा रचेको नाटक गज्जबको लाग्छ । सुरु देखि नै फिल्म सकिँदासम्म हिमाली भेगका दृश्यहरू छुट्दैनन् ।
फिल्मको पहिलो भागभन्दा दोस्रो भागको पेमाको कहानीले दर्शकलाई बढी तान्छ । कर्णालीको हिमाली गाउँमा हुने बहुपति प्रथालाई निर्देशक भामले निकै मौलिक र परम्परागत ढंगबाट पर्दामा उतारेका छन् । अरु फिल्म हेर्ने बानी परेकालाई यो फिल्ममा अडिन समय भने लाग्नेछ ।
अर्थात, फिल्मको भाषाशैली सजिलै बुझ्न सकिन्छ । कतै तिब्बतीयन र नेपाली भाषाको समेत शशक्त सम्मिश्रण रहेको छ । सरल कथावस्तु भएकाले दर्शकलाई साढे २ घण्टा सजिलै ‘होल्ड’ गर्ने खालको चलचित्र बनेको मैले पाएँ । चलचित्रले मनोरञ्जनभन्दा समाजको यर्थाथ कहानी उजागर गरेको छ भन्दा फरक नपर्ला ।
फिल्म सकिएपछि हलबाट बाहिरिनै लाग्दा चलचित्रका मूख्य पात्रमा देखिएकी ‘पेमा’ अर्थात थिन्ले ल्हामो र राम सरको भूमिकामा देखिने कर्मा शाक्यले फिल्म हेरिदिएप्रति धन्याद दिन मञ्चमा आइपुगे । मैले कर्मा शाक्य अभिनित फिल्म ‘नाङ्गो गाउँ’लगायत अन्य फिल्म हेरिसकेको थिएँ ।
अभिनयमा कर्माको लगनशीलता र भूमिका मलाई अब्बल लाग्छ । चलचित्र हेरेपछिको दर्शकको प्रतिक्रिया बुझ्न कर्मालगायतका कलाकारहरू ढोका बाहिर उभिएका थिए ।
ढोकाबाट निस्किँदै गर्दा कर्मा शाक्यसँग हात मिलाए । फिल्म कस्तो लाग्यो ? कर्माले सोध्नुभयो । मैले ‘नेपाली फिल्म यत्तिको हुनुपर्छ, गज्जब छ सर’ भनेँ । उहाँले धन्यवाद फर्काउनुभयो । त्यति बेलासम्म अन्य दर्शकहरु कलाकारसँग सेल्फी र फोटो खिच्न हानथाप गरिसकेका थिए । मेरो पनि हातमा मोबाइल थियो । कर्मा दाइसँग हात मिलाइवरी एउटा सेल्फी लिएर बाहिरिए ।
मैले ‘शाम्बाला’ हेर्न जानुको तेस्रो कारण यो फिल्म युट्युबमा हेर्न पाइने छैन भन्ने पनि हो । फिल्मले नेपालमा भन्दा नेपाल बाहिर राम्रो व्यापार गरिसकेको फिल्म निर्माताको भनाइ छ । अन्तर्राष्ट्रिय जगतले रुचाएको नेपाली समाजको मौलिक र यर्थापरक कथामा आधारित फिल्म तपाइ, हामी नेपाली हेर्नुपर्छ । फिल्मले मनोरञ्जन मात्रै दिनु हुँदैन । फिल्मले केही न केही ‘म्यासेज’ छोड्नुपर्छ । हाम्रोजस्तो पितृसत्ताले गाँजेको समाजमा महिलाहरूको अनुभव, व्यवहार, पीडा र संघर्षलाई पेमाको कथासँग जोड्न खोजिएको छ ।
फिल्म चल्न र दर्शकले रुचाउन कुनै पनि तडकभडक हुनुपर्दैन भन्ने ज्वलन्त उदाहरण चलचित्र ‘शाम्बाला’ ले दिएको छ । फिल्म चल्न कुनै ‘फेशभ्यालू’ भएका अभिनेता/अभिनेत्री नै चाहिने रहेनछ । समाजको यथार्थ घटनालाई सशक्त ढंगले कथावस्तुमा ढालेर पर्दामा उतार्न सक्नु नै ठूलो कुरा हो ।
हुन त ‘फेशभ्यालू’ भएका वा चलेका कलाकारले अभिनय गरेका फिल्म समेत नचलिरहेको अवस्था छ । वर्षमा धेरै चलचित्र निर्माण हुन्छ, कति चल्छन्, कति फिल्मले हलमा ‘पानी माग्न’ समेत नपाउने अवस्था देखिएको छ ।
यसरी हेर्दा, वर्ष भरी सफल हुने चलचित्रहरू भने हातमा गन्न सकिने अवस्था छ । चलचित्र निर्देशक भामले यसअघि पनि माओवादी द्धन्द्धकालको कथालाई पर्दामा उतारेर ‘कालो पोथी’ निर्माण गरेका थिए । दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय मुलुकका हल र महोत्सवमा राम्रो व्यापार गरेको उक्त चलचित्रलाई धेरैले रुचाएका थिए ।
मिनबहादु भाम मुगुमा जन्मेका नेपाली उम्दा चलचित्रकर्मी हुन् । उनले बनाउने अधिकांश फिल्म अन्तर्राष्ट्रिय रूपमा सफल भइसकेका छन् । नेपाली जनजीवनमा बनेको यो फिल्मले अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाउनु र सबैभन्दा ठूलो ओस्कार अवार्डमा समेत छनौटमा पर्नु नेपालीलाई खुसीको कुरा हो ।