आर्थिक

कसरी गर्दैछ सरकारले चाडपर्वलक्षित अनुगमन ?

By खबरहब

September 16, 2024

काठमाडौं– सरकारले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गर्ने भएको छ । चाडपर्वका बेला बजारमा खरिद बिक्री गरिने वस्तु तथा सेवाको मूल्य र गुणस्तर कायम गर्न सरकारका नियमनकारी निकायले बजार अनुगमन गर्दै आएका छन् ।

यसवर्ष पनि सरकारले चाडपर्वलक्षित बजार अनुगमन सुरु गर्दैछ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १ गतदेखि अन्य सरकारी निकायबीच समन्वय गरी संयुक्त वा सघन अनुगमन सुरु गर्दैछ ।

विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, नापतौल विभाग, उद्योग विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, महानगर, स्थानीय सरकारसँगको समन्वयमा संयुक्त अनुगमन गर्ने योजना बनाएको छ ।

हुन त वाणिज्य र खाद्य विभागले दैनिक रूपमा अनुगमन गर्दै आएका छन् । तर, चाडपर्वका बेला ठूलो ‘भोल्यूम’ मा वस्तु तथा सेवाको खरिद बिक्री हुने, व्यापारीले चलखेल गर्न सक्ने, अखाद्य र मापदण्ड विपरीतका वस्तुहरू बेच्न सक्ने सम्भावनालाई दृष्टिगत गरी सरकारले संयुक्त अनुगमन गर्ने भएका हुन् ।

त्यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अघि पछि पनि दैनिक बजार अनुगमन गरिरहेको हुन्छ ।  चाडपर्वका बेला भने विभागले पनि बजार अनुगमनलाई थप तीव्रता दिने गरेको छ ।

खाद्य विभागले खास गरी वस्तुको गुणस्तर केन्द्रित अनुगमन गर्ने गर्छ । विभागले आफैँ र अन्य निकायसँगको समन्वयमासमेत चाडपर्वलक्षित अनुगमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले खबरहबलाई जानकारी दिए ।

उनका अनुसार, राजमार्ग छेउछाउका होटल तथा रेष्टुरेन्ट, दूध, पानी, खाद्यवस्तु, माछामासुजन्य वस्तुको गुणस्तरमा ध्यान दिँदै अनुगमन गरिनेछ ।

चाडपर्वका बेला बजारमा हुन सक्ने अखाद्य वस्तुको बिक्री वितरण, गुणस्तर मापदण्ड, खाद्य स्वच्छता कायम गर्न बजार अनुगमनलाई थप तीव्रता दिइने महर्जनको भनाइ छ ।

त्यस्तै, दैनिक उपभोग्य वस्तुको सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउन सरकारले सहुलियत मूल्य पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा ल्याउँदै छ ।

जसमा नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थान (डीडीसी) लगायतका निकायले उपभोक्तालाई सहुलियत मूल्यमा वस्तु बिक्री गर्नेछन् । उपभोक्ता मूल्य र गुणस्तरबाट नठगिऊँन भनेर सरकारले सहुलियतपूर्ण पसल सञ्चालन गरेको छ ।

त्यस्तै, वस्तुको परिमाण, वजन र तौलसम्बन्धी बजारमा हुन सक्ने कैफियतउपर नापतौल विभागले अनुगमन गरिरहेको छ । औषधीजन्य वस्तुमाथि औषधी व्यवस्था विभागले अनुगमन र नियमन गर्दै आएको छ ।

२५ जना थप जनशक्ति अनुगमनमा खटाइने वाणिज्य विभागका अनुसार, विगतमा जस्तै १० देखि १२ वटा अनुगमन टोली चाडपर्वलक्षित अनुगमन गरिनेछ ।

चाडपर्वलक्षित अनुगमनका लागि विभागसँग आवश्यक जनशक्तिको अभाव रहेको विभागका अनुगमन अधिकृत तथा निर्देशक डिकबहादुर कार्कीले बताए ।

चाडपर्वहरूको शृङ्खला आइरहेकाले विभागले वस्तुगत सेवाहरूको बिक्री वितरणमा हुन सक्ने कैफियत, बढी मूल्य लिएको, अखाद्य वस्तु बेचेको र मानव स्वास्थ्यलाई प्रतिकुल असर पर्ने खालका गतिविधि हुन नदिन चाडपर्वलक्षित अनुगमनलाई चुस्त बनाउने कार्कीले बताए ।

चाडपर्वलक्षित गरेर विभागले जनशक्तिको संख्या बढाएर सघन र संयुक्त अनुगमन समेत गर्ने उनको भनाइ छ ।

उनका अनुसार, यसअघि बजारमा दैनिक ३ वटा छुट्टाछुट्टै अनुगमन टोली बजारमा जाने गरेको थियो । हाल भने दैनिक ५ वटा अनुगमन टोली परिचालन गरिरहेको उनको भनाइ छ ।

असोज १ गते देखि हुने सघन र संयुक्त अनुगमनमा १० देखि १२ वटा अनुगमन टोली बनाएर बजार अनुगमन हुने कार्कीले बताए । चाडपर्वलक्षित अनुगमन गर्न विभागले उद्योग मन्त्रालय र संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयलाई थप जनशक्ति माग गरेको छ ।

‘हामीले २५ जनासम्म थप जनशक्ति आवश्यक पर्छ भनेर मन्त्रालयमा माग गरिसकेका छौँ,’ उनले भने, ‘सबै आइसक्नुभएको छैन । ४/५ जना आइसक्नुभयो । बाँकी जनशक्ति मन्त्रालयले पठाउँछ होला ।’

विभागले अघिल्ला वर्षहरूको चाडपर्वका बेला पनि थप जनशक्ति खटाउने गरेको थियो । उनका अनुसार, चाडपर्वका बेला सार्वजनिक बिदाको दिनमा समेत अनुगमन हुनेछ । विभागले खास गरी, काठमाडौं उपत्यकाभित्रका वस्तु तथा सेवाको बढी खरिद बिक्री हुने क्षेत्रमा अनुगमनलाई केन्द्रित गर्नेछ ।  ‘मेयर फोरम’ र पालिकासँग समन्वय गरिने काठमाडौं उपत्यकाभित्रको अनुगमनमा ‘मेयर फोरम’ को समेत समन्वय हुनेछ ।

यसअघि बसेको ‘मेयर फोरम’ को बैठकले चाडपर्वलक्षित अनुगमन कसरी गर्न सकिन्छ भनेर छलफल गरिसकेको उनले बताए ।

काठमाडौं, ललितपुर र भक्तपुर महानगरले अनुगमन गर्ने जनाएका छन् ।  त्यस्तै, विभागले मेयर फोरमको समन्वयनमा पनि अनुगमन गर्ने जनाएको छ । त्यस्तै, विभागले स्थानीय पालिकाहरूसँग पनि समन्वय गरी एकीकृत रूपमा बजार अनुगमनमा जाने रणनीति लिएको कार्कीले बताए ।

असोज १ गतेदेखि विभिन्न निकायसँग समन्वय गरी दैनिक १० वटाभन्दा बढी अनुगमन टोली बनाएर बजार अनुगमन हुने उनको भनाइ छ ।

‘हेलो सरकार’मा आएका गुनासा सम्बोधन गरिने दैनिक उपभोग्य वस्तु, पेय पदार्थ र चाडपर्वमा बढी खपत हुने वस्तुगत सेवामाथि अनुगमन बढी केन्द्रित हुनेछ ।

उपभोक्ताले कतिपय वस्तु तथा सेवाको मूल्य र गुणस्तरका बारेमा गरेको गुनासो र उजुरीउपर विभागले तत्काल अनुगमन गरी कारबाही गर्ने उनको भनाइ छ । त्यस्तै गरी, आम नेपाली उपभोक्ताले वस्तु तथा गुणस्तरमाथि ‘हेलो सरकार’ मा आउने कुनै गुनासा वा उजुरीउपर पनि ‘एक्सन’ लिने जनाएको छ ।

उपभोक्ताले ‘हेलो सरकार’मार्फत पनि बजारमा भएको मूल्यवृद्धि, मिसावट, पानीको मूल्यवृद्धि र गुणस्तर, पेट्रोल पम्पमा मिसावट, नापतौलका विषयमा गुनासो गर्ने गरेका छन् ।

बजारमा मूल्य बढी लिइएको, न्यून गुणस्तर, अखाद्य, मिसावट, इजाजत नलिएको, म्याद गुज्रिएकालगायत स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने वस्तुको खरिद बिक्री गरेको थाहा पाएमा तुरुन्त विभागमा उजुरी वा जानकारी दिएर सहयोग गर्न आग्रह गरेको छ । विभागले आफ्नो वेबसाइटमार्फत उपभोक्तालाई अनलाइनमार्फत उजुरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरेको छ ।