ब्रेकिङ स्टोरी

दशैँ ब्रिफिङ : ओलीको दक्षिणा ५० रुपैयाँ, एमालेमा जग्गाको खैलाबैला

By खबरहब

October 16, 2024

काठमाडौं- हिन्दु धर्मावलम्बीहरूको महान चाड बडादशैँ आज (बुधबार) विधिवत् रूपमा सम्पन्न हुँदैछ । बुधबार मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कोजाग्रत पूर्णिमालाई विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको अन्तिम दिन मानिन्छ ।

बडादशैँको सार्वजनिक बिदा सोमबार सकिएर मंगलबारदेखि नै सरकारी कार्यालय खुलेका छन् । टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमाको घडी–पला रहेसम्म निरन्तर चलिरहने परम्परा छ ।

यसवर्षको दशैँमा बाढीपहिरोका कारण काठमाडौंबासीहरुलाई घर जान निकै नै सकस भयो । विगतमा भन्दा यस वर्ष कम मानिस काठमाडौंबाट बाहिरिने धेरैको अनुमान थियो ।

दशैँका बेला दुर्घटनाका समाचारहरु बढी हुने गरेको विगतको तीतो यथार्थ थियो । यसवर्ष बाटोका कारण झनै जोखिम बढ्ने डर थियो ।

दशैँमा देशको राजनीतिमा पनि केही न केही तरंग आउने गरेकै छ । विगतमा राजनीतिक दलहरुले दशैँको शुभकामना आदान–प्रदान गर्ने भन्दै भुकुटी मण्डप वा पार्टी मुख्यालयमा भोजको आयोजना गर्थे, यस वर्ष त्यस्तो सुनिएन । बरु सत्तारुढ एमालेले टीकाको अघिल्लो दिन पार्टी कार्यालय शिलान्यास गरेको विषयलाई लिएर ‘दाँतमा ढुंगो’ लागेजस्तै भयो ।

यस वर्षको दशैँका उल्लेख्य केही समाचार यस्ता छन् :

भीआईपीको टीकाटालो र दक्षिणा

राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलले शुभसाइत पारेर यस वर्षको दशैँको टीका र जमरा ग्रहण गरे । उनले गत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा राष्ट्रपति कार्यालय शीतवनिवासमा टीका र जमरा ग्रहण गरेका हुन् ।

राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए । आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीका र जमरा लगाइदिएका थिए ।

राष्ट्रपति पौडेलले विजया दशमीको उपलक्ष्यमा शनिबार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तित्व र साढे ३ बजेदेखि बेलुकी ५ बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिएका थिए ।

शीतलनिवासका अनुसार शनिबार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तिहरूलाई राष्ट्रपति पौडेलले टीका–जमरा लगाइदिएका थिए ।

उनले सोही समयावधिमा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीका–जमरा लगाइदिएका थिए । शीतलनिवासमा राष्ट्रपति पौडेलसँग टीका–जमरा लगाउन सर्वसाधारणको शनिबार दिउँसो साढे ३ बजेदेखि बेलुकी ५ बजेसम्म घुइचो थियो ।

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँको अवसरमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका–जमरा लगाए । उनले बालुवाटारमै श्रीमती राधिका शाक्य र अन्य परिवाजनलाई पनि टीका लगाइदिए ।

प्रधानमन्त्री ओली दशैँको टीका–जमरा लगाउन राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तित्वका लागि निर्धारण गरिएको समयवधिमा प्रधानमन्त्री ओलीलाई यस वर्षको दशैँको टीका र जमरा लगाइदिएका थिए ।

राष्ट्रपति पौडेलबाट टीका–जमरा लगाउन उपप्रधानमन्त्रीलगायत मन्त्रीहरू र विशिष्ट महानुभावहरू पनि दशैँको टीका–जमरा लगाउन शीतलनिवास पुगेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैँमा पनि अघिल्ला वर्षहरू झैँ सर्वसाधारणलाई टीका–जमरा लगाइदिए छन् । उनले शनिबार अपरान्ह ४ बजेदेखि निर्मलनिवासमा सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।

पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न महाराजगञ्जस्थित उनी बस्दै आएको निर्मलनिवासमा सर्वसाधारणको लाम लागेको थियो । पूर्वराजा शाह हरेक वर्ष बडादसैँको विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाउँदै आएका छन् ।

यस वर्ष पूर्वराजा ज्ञानेन्द्रसँग दशैँको टीका लगाउन निर्मलनिवासमा सर्वसाधारणको घुइचो लागेपछि राजतन्त्रको वकालत गर्दै आएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता–कार्यकर्ताहरू खुशी देखिन्थे ।

पूर्वराजासँग टीका लगाउन निर्मलनिवास पुगेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले फेसबुकमा सर्वसाधारण लाम लागेका तस्बिरहरू राख्दै लेखे–

‘निर्मल निवास बाहिर, विचारभन्दामाथिदेशलाई राख्ने गर्वशील ‘दास’हरूको भिड । शीतल निवास बाहिर त सुनसान थियो ! घरमा धर्म, संस्कृति, परम्पराको टीका लगाइयो । अब निर्मल निवासमा देशभक्तिको टिका लगाइन्छ । एनि कम्मेन्ट्स ? (गत वर्ष ३ घण्टा बढी लाइन बसेको, यो वर्ष अब कति लाग्ने हो!) ।’

प्रधानमन्त्री ओलीले यसपालि सर्वसाधारणलाई बडादशैँको विजयादशमीका दिन सर्वसाधारणलाई टीका लगाएनन् । बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्का कारण यसपालि सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम नराखिएको उनको सचिवालयले जनाएको छ ।

तथापि, प्रधानमन्त्री ओलीले शनिबार दिउँसो ३ बजे सरकारी निवास बालुवाटारमा ब्रह्मकुमारी राजयोगका सदस्यहरूलाई टीका–जमरा लगाउन भ्याए । अघिल्ला कार्यकालहरूमा प्रधानमन्त्रीको हैसियतमा दशैँको टीका लगाउँदा फलफूल र आशिर्वाद दिने ओलीले यसपल्ट भने टीका–जमरा ग्रहण गर्नेहरूलाई जनही ५० रुपैयाँ दक्षिणा दिएका थिए ।

गत वर्षभन्दा ५ लाख कम मानिस उपत्यकाबाट बाहिरिए

असोज दोस्रो साता तीन दिनसम्म परेको अविरल वर्षाका कारण सडक मार्गहरू क्षतिग्रस्त हुँदा यसपल्ट काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्यामा कमी देखियो । अघिल्लो वर्षको दशैँमा १८ लाख मानिस बाहिरिए पनि यसपल्ट १३ लाख मानिसहरूले मात्रै उपत्यका छाडे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले १८ लाख मानिस दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिए पनि बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका बताए ।

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

‘हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ,’ उनले विजया दशमीको अघिल्लो दिन भनेका थिए, ‘तर, मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।’

एमालेलाई पचेन ११ रोपनी

सात वर्षअघि बडादशैँकै छेकोमा माओवादीसँग एकता गरेर नेपाली कांग्रेसलाई ‘सरप्राइज’ दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली (हाल प्रधानमन्त्री) ले यसपालि आफ्नै दलका नेताहरूलाई ‘चक्मा’ दिएर करिब ११ रोपनी जग्गामा पार्टी कार्यालय शिलान्यास गरे । तर, ओलीले दिएको ‘चक्मा’ एमालेकै लागि अपच सावित भयो ।

सात वर्षअघि सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई आफूसँग मिलाएर सत्तारुढ कांग्रेसलाई एक्ल्याएका ओलीले यसपालि पार्टी कार्यालय निर्माणका लागि विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट झण्डै ११ रोपनी जग्गा ‘उपहार’ लिएर एमालेपंक्तिलाई आश्चर्यचकित तुल्याएका हुन् ।

२०७४ असोज १७ बडादशैँको रमझमका बीच माओवादीसँग चुनावी तालमेलका साथै पार्टी एकीकरण गर्ने घोषणा गरेर कांग्रेसलाई ‘एक्ल्याउन’ सफल उनी यसपल्ट विवादस्पद व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा ‘उपहार’ लिएर आफ्नै दलका नेताहरूलाई ‘सरप्राइज’ दिन सफल देखिए पनि यो विषय विवादमा तानिएको छ ।

सचिवालयलाई झुक्याएर मीनबहादुरको जग्गा प्राप्ति

ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा असोज २४ अर्थात फूलपातीका दिन बसेको सचिलावय बैठकमा अध्यक्ष ओलीले प्रफुल्ल मुद्रामा पार्टीलाई एकजना शुभेच्छुकबाट करिब ११ रोपनी जग्गा प्राप्त हुन लागेको र भोलि अर्थात असोज २५ गते त्यहीँ पार्टी कार्यालय भवनको शिलान्यास गर्ने प्रस्ताव सुनाएका थिए ।

आलोचना भएपछि एमाले भन्यो- मीनबहादुर पार्टीका कार्यकर्ता हुन्

तर, बैठकमा उनले जग्गादाताको नाम खुलाएनन् । भोलिपल्ट नै पार्टी कार्यालयको शिलान्यास हुने जानकारी पाएपछि एमाले सचिवालयका नेताहरू आश्चर्यमा परे ।

त्यसअघि गाइँगुइँसमेत नभएको र एकैपल्ट पार्टी सचिवालय बैठकमा जग्गा प्राप्तिको कुरा सुनेपछि आफूहरु ‘सरप्राइज्ड’ भएको एक नेताले खबरहबलाई बताएका छन् ।

दुर्घटनामा कमी

यसपालिको दशैँ पर्वको अवधिमा सवारी दुर्घटनाका दुःखद् समाचारमा भने कमी देखियो, जुन सबैका लागि सुखद समाचार हो । छिटपुट दुर्घटनाबाहेक यसपल्ट ठूला सवारी दुर्घटनाका समाचारहरू नबन्नु सुखद पक्ष देखियो ।

तथापि, कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका लागि छुटेको बस डडेल्धुराको अमगरगढी नगरपालिका ७ खस्रेखानमा दुर्घटनामा प¥यो । दुर्घटनामा परी एकै परिवारका चारसहित पाँच जनाको मृत्यु हुन पुग्यो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १० ७८ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ की ४५ वर्षीया जैमती बोहोरा, अन्दाजी २१ वर्षीया कमला बोहरा, उनका दुई दिनका नाबालक छोरा र पति अन्दाजी २२ वर्षीय सहदेव बोहराको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा प्रहरीका अनुसार बसमा सवार पुर्चौडी नगरपालिका–१० की गोवणी महराको शव बुधबार बिहान दुर्घटनाग्रस्त स्थलबाट सुरक्षाकर्मीले निकालेका छन् । दुर्घटनामा १२ यात्रु घाइते भएका छन् । डडेलधुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो

डडेलधुराको अमरगढीमा बस दुर्घटना, चार जनाको मृत्यु, १२ घाइते

डडेलधुरा बस दुर्घटना अपडेट : दुई दिनकी सुत्केरी र नाबालकसहित चार जनाको मृत्यु

जुवातास खेल्ने ६९ जना पक्राउ

बडादशैँको अवसर पारेर जुवातास खेल्नेहरूलाई प्रहरीले विभिन्न जिल्लाबाट ६९ जना जुवाडे पक्राउ गरेको छ । नेपाल प्रहरीको वेबसाइट ‘नेपालपुलिस डट जीओभी डट एनपी’ मा उल्लेखित समाचारअनुसार गत सोमबार २७ जुवाडे पक्राउ गरिएको छ । जततउकस्ररधधध।लभउबउियष्अिभ।नयख।लउरलभधकरटछण्ण्र

कञ्चनपुर : भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारस्थित हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा वडानम्बर ३ बस्ने ४० वर्षीय उत्तमबहादुर बिष्टसमेत ९ जनालाई गत सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३ सय ९० रुपैयाँ र २ सय ८ पत्ती ताससहित पक्राउ गरेको हो ।

कास्की : पोखरा महानगरपालिका–१७ ड्यामसाईडस्थित खेमराज आचार्यको होटल सिड्नी बोल्ममा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जाको गल्याङ नगरपालिका–४ घर भई पोखरा महानगरपालिका–१७ विरौटा बस्ने ३८ वर्षीय नविन थापासमेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ४ सय २६ रूपैयाँ, भारतीय ५ सय रूपैयाँ र २ सय ७ पत्ती ताससहित पक्राउ गरेको हो ।

झापा : शिवसताक्षी नगरपालिका–९ दुधे बस्ने बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवातास खेलिरहेको अवस्थामा खरेलसमेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ४ हजार ३० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । प्रहरीले गत आइतबार विभिन्न जिल्लाबाट २१ जना जुवाडे पक्राउ गरेको थियो । जततउकस्ररधधध।लभउबउियष्अिभ।नयख।लउरलभधकरटद्धढठर

महोत्तरी : बर्दिबास नगरपालिका–१ भप्सी बस्ने दिलिप पाख्रिनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ तामाङटोल बस्ने २१ वर्षीय कर्म तामाङसमेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ४ सय ३० रूपैयाँ, ११ बुक तास र ९ थान मोबाइल सहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व : कावासोती नगरपालिका–२ हिमाल चोक बस्ने ४० वर्षीय उज्वल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा उज्वलसमेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ५ सय ९५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

दाङ : घोराही उपमहानगरपालिका–१३ डुम्मार गाउँ बस्ने १९ वर्षीय भुपेन्द्र वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा भुपेन्द्रसमेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार रूपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको हो ।

प्रहरी गत शनिबार जुवातास खेलिरहेको अवस्थामा विभिन्न जिल्लाबाट २१ जना पक्राउ परेका जनाएको छ ।

ललितपुर : महालक्ष्मी नगरपालिका–४ शिखर टोल बस्ने धुर्व रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ केरू टोल बस्ने ३३ वर्षीय कवि नगरकोटीसमेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार १ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

दाङ : दंगिशरण गाउँपालिका–३ रावतगाउँ बस्ने भागीराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश योगीसमेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ६ सय ५० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

दाङकै तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु बस्ने शिवबहादुर बिकको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–३ बस्ने ३३ वर्षीय टेकबहादुर बिकसमेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।