ब्रेकिङ स्टोरी

‘रातोघर’को फोहोर हटाउन महानगरको डोजर

By ज्ञानु घिमिरे

October 16, 2024

काठमाडौं- महाभूकम्प (२०७२) अघिसम्म बल्खुमा नेकपा एमालेको पाँचतले मुख्यालय थियो । मदन भण्डारीका नाममा यो ठाउँको नामै ‘मदननगर’ राखिएको थियो । त्यसबेला बामदेव गौतमको सक्रियतामा विभिन्न व्यापारीहरुबाट चन्दा उठाएर एमालेले ‘रातोघर’ बनाएको थियो । रातोघर भत्किए पनि पार्टीको अचल सम्पत्तिका रुपमा करिब ११ रोपनी जग्गा अहिले लगालिङ्ग अवस्थामा छ ।

पुरानो पार्टी कार्यालयले चर्चेको ९ रोपनी जग्गामा एमालेले ०५५ सालपछि २ रोपनी जग्गा खरीद गरेर थपेको थियो । अहिले त्यो २ रोपनी स्वयं जग्गाधनी बुद्धरत्न महर्जनले भोगचलन गरिरहेका छन् । बाँकी ९ रोपनीमा एमाले नेतृत्वले फर्केर हेरेको छैन ।

आफैंले बेचेको २ रोपनी जग्गा कमाइरहेका महर्जनले भोगचलन गरेबापत एमालेलाई रकम तिर्नुपरेको छैन । उनी सो जग्गामा सिजनअनुसारको तरकारी लगाउँछन् । बुधबार पनि उनी जग्गामा खनजोत गर्न व्यस्त थिए ।

 

कार्यालयको ९ रोपनी जग्गा एमाले कार्यकर्ता चन्द्रदेव पासवानले हेरचाह गरिरहेका छन् । दक्षिण, पश्चिम र पूर्वमा बल्खु खोलाले घेरेको उक्त जग्गाको पश्चिमतिरको गेटमा सूर्यअंकित चिह्न छ । छेउमै मदन नगर लेखिएको नेमप्लेट छ । तर, सरसफाइ नगरेकाले धमिलो देखिन्छ ।

पश्चिमतिरबाट मूलगेट रहेको ठूलो घर भूकम्पले भत्काएपछि हाल दुईवटा भूइँघर मात्र छन् । एउटा घरमा पासवानको परिवार बस्छ । अर्को तीन कोठाको घरमा एमाले काठमाडौं १४ को पार्टी कार्यालय छ । त्यहीँ एमाले सम्पर्क समन्वयन कमिटीको कार्यालय र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वयको कार्यालय पनि छ ।

सम्पर्क समन्वय कमिटीका सदस्यसमेत रहेका पासवान जनकपुरबाट आएर सो ठाउँमा ०५१ सालदेखि बसोबास गरिरहेका छन् । उनका छोरी ज्वाइँसहित ६ जनाको परिवार त्यहाँ बसिरहेको छ ।

पासवानको ६ जनाको परिवार बसेबापत पार्टीलाई कुनै रकम तिर्नुपर्दैन । तर, जग्गाजमीनको भने रेखदेख गर्नुपर्ने शर्त छ । पासवानको परिवार बस्ने घरमा साना ५ वटा कोठा छन् ।

बाढी पसेपछि महानगरको डोजर

बुधबार खबरहबको टोली बल्खुस्थित मदननगरमा पुग्दा असोज ११ र १२ गते आएको बाढीका कारण पुरै ढलमय भएको पार्टी कार्यालयको जग्गा काठमाडौं महानगरका कर्मचारीहरूले सफाइ गरिरहेका थिए । सरसफाइमा डोजरसमेत परिचालित थियो ।

काठमाडौं वडा नम्बर १४ ले महानगरलाई बल्खुस्थित एमालेको जग्गा र केही कार्यालय भएको ठाउँ सरसफाइ गर्न सिफारिस गरेका कारण आफूहरू सरसफाइमा आएको महानगरका कर्मचारीले बताए । महानगरबाट १६ जना कर्मचारी एउटा डोजर र एउटा फोहोर बोक्ने गाडीसहित सरसफाइमा खटिएको सफाइ कर्मचारीका नेत्तृत्वकर्ता जोन कुँवरले खबरहबलाई बताए ।

कुँवरका अनुसार बल्खुको ११ रोपनी क्षेत्रफल नै सरसफाइ गर्नु भनेर महानगरले खटाएको छ । उनले भने, ‘यो सबै भूभाग सरसफाइ गर्नुपर्ने छ । धेरै झाडी छ । फोहोर र लेदो पसेर सङ्क्रमण पनि फैलने खतरा छ । यो झाडी काटेर फाल्छौँ र फोहोर बाढीको माटो फाल्छौँ ।’

उनले थपे, ‘आजैबाट सरसफाइ सुरु भएको हो । कति दिन लाग्छ, सबै सकाउँछौँ । आजको आजै सकिँदैन । फोहोर धेरै छ । कार्यालयका दुईवटै घर बाढीमा डुबेका रहेछन् ।’

खोलाको कोरिडोर भएका कारण पनि ठूलो पानी पर्दा बर्सेनि समस्या हुने हेरचारकर्ता पासवानले बताए । उनी आफूले सरसफाइ गर्न नसक्ने अवस्था आएपछि महानगरले सहयोग गरेको बताउँछन् ।

एमाले कार्यकर्ता पासवानले खबरहबसँग भने, ‘यो जंगल छ, फोहोरको थुप्रो छ । म एक्लैले पार लगाउन सकिनँ । मेरो वासस्थान पनि सफा गर्न धेरै दिन लाग्यो । त्यसपछि त फोहोरले बिरामी पनि परियो ।’

पासवानले हातले इसारा गरेर उत्तरपट्टिको झाडी देखाउँदै भने, ‘त्यहाँ त जान पनि डरमर्दो छ । मान्छेले त उपाय नै लाग्दैन ।’ तर, पासवान बाढीले दुःख दिए पनि आफू यहाँबाट सरिहाल्ने सोचमा नभएको बताउँछन् ।

पासवानले खाली जमिनमा सिजनअनुसारको तरकारी लगाउने गरेका छन् । तर, बाढीपछि केही पनि बाँकी छैन । पासवान आफू बसेको भवनमा पनि बाढी पसेपछि बाहिर छाता ओढेर बसेको बताउँछन् ।

उनी भन्छन्, ‘समानहरू सबै नष्ट भए । पुरै घर नै नदेखिने गरी बाढी पसेको थियो । यहाँ त भवन बनाउँदा पनि जमीन धेरै उठाउनुपर्छ ।’

मदन भण्डारीको अलपत्र शालिक

जतिसुकै बाढी आए पनि उत्तरपट्टि रहेको मदन भण्डारीको शालिकलाई भने क्षति नपुगेको पासवानले बताए ।

पुरानो भवन छिर्ने ठाउँमा रहेको मदन भण्डारीको शालिक र त्यसमाथि छातालाई बाढीले छोएको छैन । तर, शालिकको संरक्षण राम्रोसँग भएको देखिँदैन ।

मदननगरको उत्तरतर्फ पार्टीको पुरानो भवन रहेको पासवान सम्झन्छन् । अहिले त्यो भवनको कुनै अवशेष बाँकी छैन । बाँकी छ त भण्डारीको जीर्ण शालिक । बल्खुस्थित कार्यालय ०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि त्यसयता कुनै पनि संरचना बन्न नसकेको पासवानले बताए ।

एमाले कार्यकर्ता चन्द्रदेव पासवान

बल्खुमा एमाले कार्यालय भवन चार तल्लाको थियो । ०७२ वैशाख १२ गते शनिबार आएको भूकम्पले भवन बस्नै नहुने गरी भत्कायो । भूकम्पका प्रत्यक्षदर्शी पासवान भन्छन्, ‘भवन लच्किएको थियो, ड्याम्मै लडेको हैन । पछि नयाँ बनाउनका लागि भत्काएर सफाइ गरियो ।

ओलीको शिलान्यास अधुरै

एमालेले महाभूकम्पको ६ वर्षपछि ०७८ वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको थियो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भवनको शिलान्यास गरेका थिए । तर, उनले शिलान्यास गरेको ठाउँमा अहिलेसम्म भवन बनाउने सुरसार नै गरिएन । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष रहेको बताउँदै शिलान्यास गरिएको पार्टी कार्यालयको भवन अहिलेसम्म बन्ने कुनै छाँट छैन ।

अब बल्खुमा पार्टी कार्यालय नबन्ने र कुनै–कुनै विभागहरू मात्र बन्ने जानकारी आएको पासवान बताउँछन् । ‘पार्टीका विभागहरू बनाउने भन्नुभएको छ, पार्टी भवन नै बनाउँदा पनि हुने हो’ पासवानले भने, ‘जग्गा त धेरै छ तर संरचना बनाउन सकेको छैन । तत्काल केही हुन्छजस्तो लागेको छैन । पार्टी भवनका लागि त मीनबहादुर गुरुङजीले जग्गादान गर्नुभएको छ, त्यहीँ बन्छ रे ।’

नेताहरू पुगिरहन्छन्

मदन भण्डारीको स्मृति दिवसका दिन गत जेठ ३ गते एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बल्खुस्थित पुरानो कार्यालय पुगेका थिए । त्योबेला ओलीले बल्खुलाई व्यवस्थित गरौँला भनेको पासवान सम्झन्छन् ।

कुनै बेला पूर्वराष्ट्रपति विद्या भण्डारी पनि त्यहाँ पुग्ने गरेकी छन् । पासवानले भने, ‘पूर्वराष्ट्रपति आएर केही वर्ष अगाडि शालिक हेरेर नराम्रो मान्नुभयो । के गर्नु, प्रकृति प्रकोपले गर्दा संरक्षण गर्न सकिएन ।’

पासवानका अनुसार असोज ११ र १२ गते बाढी पसेपछि कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल र सुरेन्द्र मानन्धर बल्खु पुगेका थिए ।

जग्गाको दाम ५५ लाख आना

स्थानीय पुष्कर महर्जनका अनुसार सो क्षेत्रमा अहिले जग्गाको मूल्य आनाको ५५ लाख रुपैयाँ छ । यो हिसाबले करिब १७६ आना जग्गाको मूल्य ९६ करोड ८० लाख रुपैयाँजति पर्न जान्छ । अर्थात् बल्खुमा एमालेको झण्डै एक अर्ब बराबरको अचल सम्पत्ति प्रयोगविहीन अवस्थामा छ ।

‘मैले बुझेअनुसार एमालेको ११ रोपनी जग्गामध्ये पनि विभिन्न स्थानको फरक–फरक मूल्य हुन्छ । किनकि कुन–कुनै ठाउँको त राम्रो पनि छ,’ महर्जनले खबरहबसँग भने, ‘सोलोडोलोमा हेर्दा आनाको ५५ लाखमा अहिले पनि बिक्री हुन्छ । तर, छुट्टाएर बेच्यो भने ६० देखि ७० लाख आनामा पनि जान्छ ।’

उनी अन्य व्यक्तिलाई जग्गा माग्नु र व्यापारीको लिनु भन्दा एमालेले आफ्नै जग्गाको सदुपयोग गर्नुपर्ने सुझाव दिन्छन् ।

महर्जन एमालेले यति धेरै सम्पत्ति हुँदा पनि संरक्षण गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘अलिकति उठाएर बनाउँदा बाढी पस्दैन । म पनि मदननगरमै म बसिरहेको छु ।’

ओलीले उठाउन नसकेको स्वाभिमान

भूकम्प गएको एक दशकसम्म एमालेले आफ्नो पार्टी कार्यालय भवन बनाउन सकेको छैन । केपी ओलीले ढलेको धरहरा उठाएको बताउनु गरेका छन्, तर ढलेको आफ्नै पार्टी कार्यालय अहिलेसम्म उठाउन सकेका छैनन् ।

यसवीचमा एमालेको मुख्यालय बिरालाले बच्चा सारेजसरी सारिँदै आएको छ । यसक्रममा पार्टीको लाइब्रेरीसमेत बहुमूल्य दस्तावेजहरु नष्ट भइसकेका छन् ।

भूकम्पपछि एमाले मुख्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा सरेको थियो । त्यो ठाउँ व्यापारी आङ छिरिङले मिलाइदिएका थिए । पछि थापाथलीमा व्यापारीकै घरमा अर्का व्यापारी मोती दुगडको पहलमा एमालेको मुख्यालय सारियो ।

यही क्रममा ०७९ सालमा बागमती करिडोरमा जोखिमपूर्ण रुपमा बनाइएको च्यासलस्थित तुलसी स्मृति प्रतिष्ठान भवन एमालेले पाँच वर्षका लागि भाडामा लियो, जुन उसका लागि यतिबेला ‘भालुको कान’ समातेजस्तै बनेको छ ।

च्यासलमा वर्षको ४८ लाख रुपैयाँ भाडा तिर्ने गरी पाँच वर्ष बस्ने सर्तमा एमालेको कार्यालय सरेको हो । त्यहाँ पनि बाढी पसेपछि एमाले पार्टी आाफैं बाढीपीडित बनेको छ ।

अन्ततः आफ्नै ९६ करोडको अचल सम्पत्तिलाई सदुपयोग गरेर एक दशकसम्म पार्टी कार्यालय बनाउन नसकेको एमालेका लागि ‘घरभरि कपडा बीरे नाङ्गै’ भन्ने नेपाली आहान चरितार्थ बन्न पुगेको छ ।

यो पनि …

सचिवालयलाई झुक्याएर मीनबहादुरको जग्गा प्राप्ति

मदनगनर बल्खुका थप तस्बिर-

तस्बिर-  चिरायु शाक्य/ खबरहब