काठमाडौं – धरानमा भोक लाग्यो, तर रेस्टुराँ धाउने समय छैन ।
अब के गर्ने ?
कि घरमै खाना बनाउने, या त भोकै बस्ने !
यो कुरा पूर्वको प्रतिष्ठित शहर धरानले लामो समयसम्म भोगिरहेको व्यथा थियो । तर, अहिले धरानबासी तथा धरान घुम्न पुग्नेले आफैँ खाना बनाउनुपर्ने वा भोकै बस्नुपर्ने बाध्यता हटेको छ ।
अब धरानको जुनसुकै ठाउँमा आफूलाई खान मन लागेको खाना आफूले रोजेको रेस्टुराँबाट आउन थालेको छ । धरानमा यो सब ‘भोकलाग्योडटकम’ले गर्दा सम्भव भएको हो ।
यस्तो सम्भव गराउने व्यक्ति हुन् – नरेन कुलुङ । उनैले गर्दा धरानमा खाना खान रेस्टुराँ नै जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
कम्प्युटर सर्भिसदेखि भोकलाग्योडटकमसम्म
धरानमा फूड डेलिभरी सर्भिस भोकलाग्योडटकम सञ्चालन गरिरहेका नरेन सानैदेखि व्यवसाय गर्ने सोचमा थिए । सङ्खुवासभामा जन्मिएका नरेनका बुबा किराना व्यवसाय गर्थे । घरमै किराना व्यवसाय देखेका नरेनलाई पछि व्यवसाय नै गर्ने संयोग जुर्यो ।
वि.सं. २०६० सालताका कक्षा ७ मा पढाउँदा शिक्षकले विश्व बजारमा कम्प्युटरबाट काम हुने बताएका थिए । अमेरिकालगायत देशहरूमा कम्प्युटरले धेरै काम गर्ने त्यहीँबाट सामान किन्न मिल्ने शिक्षकको भनाइ थियो ।
‘स्कुल पढ्दै कम्प्युटरबाट यस्तो काम गर्न मिल्दो रहेछ भन्ने थाहा पाएको थिएँ’, नरेनले बालापन सम्झिँदै भने, ‘त्यो बेला मलाई त्यस्तो काम कस्तो हुन्छ होला भन्ने खुब जिज्ञासा लागेको थियो ।’
०६३ मा एसएलसी दिएर नरेन धरान झरे । पूर्वको चर्चित र ‘एडभान्स’ शहर भएकाले उनी धरान आएका थिए ।
नरेनले धरान आउनासाथ कम्प्यूटरसम्बन्धी तालिम लिन थालिहाले । ‘त्यो बेला सीमित कम्प्युटर हुन्थ्यो । प्राक्टिकल भन्दा पनि पढ्ने काममात्र हुन्थ्यो’, कुलुङले कम्प्युटर सिक्दाको विगत सम्झिँदै भने, ‘कम्प्युटर सिक्न पालो कुर्नुपथ्र्याे, पालो आउन निकै समय लाग्थ्यो ।’
नरेनले कम्प्युटर सिकेरै छाडे । आधारभूत तालिममात्र सिकेर रोकिएनन्, सिक्ने क्रमलाई निरन्तरता दिए । विभिन्न कोर्ससहित हार्डवेयर पनि सिक्न भ्याए ।
‘त्यो बेला साइबरमा मात्र इन्टरनेट चलाउन पाइन्थ्यो’, कुलुङ भन्छन्, ‘साइबरमा गएर घण्टाको हिसाबले पैसा तिरेर याहू चलाउने गर्थ्यौं।’
विशेष रुचि भएकाले पनि नरेनले आफ्नो सिकाइलाई पेसामा बदल्ने सोच बनाए । नरेनले विभिन्न कोर्स सिकिसक्दा धरानमा कम्प्युटरसम्बन्धी तालिम दिने थुप्रै इन्स्टिच्यूट खुलिसकेका थिए । नरेनले घरमै गएर कम्प्युटरको सफ्टवेयर र हार्डवेयर बनाइदिने र त्यसबापत वार्षिक रूपमा पारिश्रमिक लिन थाले ।
‘म र इन्स्टिच्युटबीच सम्झौता हुन्थ्यो’, कम्प्युटर बनाउँदाको क्षण सम्झँदै कुलुङले भने, ‘त्यसबापत मैले वार्षिक पाँचदेखि आठ हजार रुपैयाँसम्म सेवा शुल्क (सर्भिस चार्ज) लिन्थेँ ।’
कम्प्युटर मर्मतको काम त छँदैथियो, त्यहीबीच उनले फोटोग्राफीको काम पनि सिके । उनले धरानमा मोडलिङ फोटोग्राफी पनि गर्न थालेका थिए । तर, त्यो काम गरेर पनि कुलुङको बाँकी धेरै समय बचिरहेको थियो । सो समय पनि सदुपयोग गर्न उनले फेसबुकबाट विभिन्न व्यवसायको प्रचारप्रसार हेरिदिने काम थाले ।
‘त्यसबेला अहिलेजस्तो प्रचार गर्नुपर्छ भन्ने थिएन, धेरै ठाउँमा प्रस्ताव गर्दा केही ठाउँको मात्र काम मिल्ने सम्भावना हुन्थ्यो’, कुलुङले काम माग्दा हन्डर खाएको सम्झँदै भने, ‘धेरैजसो रेस्टुराँकै काम पाइन्थ्यो ।’
व्यक्तिगत र अनौपचारिक तवरबाट काम गर्दा अलिक नपत्याएको जस्तो महसुस गर्न थाले । त्यसपछि उनले एउटा कम्पनी दर्ता गरे । त्यही कम्पनीको माध्यमबाट सेवा दिन थाले ।
आफ्नै कम्पनीबाट काम राम्ररी चलिरहेकै थियो । तर, उनमा सानैदेखि आफूले चाहेको व्यवसाय गर्ने सोच दिमागमा छँदै थियो । व्यवसाय छनोटबारे सोचिरहे ।
कम्पनी खोलेको तीन वर्षपछि उनले फूड डेलिभरि अर्थात् तयारी खाना ओसारपसार गर्ने सोच बनाए । कुलुङको सोचलाई मलजल गर्ने काम धरानमा भएका अन्य रेस्टुराँ व्यवसायीले पनि गरिदिए ।
उनले फेसबुक विज्ञापनको काम रेस्टुराँ व्यवसायीहरूबाटै पाएका थिए । ‘फूड डेलिभरी सर्भिस दिएँ भने तपाईंहरू मसँग जोडिएर काम गर्नुहुन्छ ?’ भनी रेस्टुराँ मालिकहरूलाई सोधे ।
‘१०–१२ जनालाई सोध्दा ७-८ जनाले योजना धेरै राम्रो रहेको बताउनुभयो, बाँकीले पनि काम अघि बढाएकोे खण्डमा सहकार्य गर्ने वचन दिए’, नरेनले सुनाए ।
कुलुङले रेस्टुराँको फेसबुक हेरिदिँदा नै भोकलाग्योडटकम नामक एउटा डोमेन दर्ता गरेका थिए । डोमेनमा रेस्टुराँ र खानाबारे जानकारी दिने उनको सोच थियो । तर, कुलुङले फूड डेलिभरी सर्भिस दिने भएपछि त्यही साइटलाई रि–डिजाइन गरे । अनि धरानमा जन्मियो – फूड डेलिभरी सर्भिस भोकलाग्योडटकम !
‘सुरुमा नाफा कमाउन नसकिए पनि चल्न सकिन्छ जस्तो लागेरै मैले फूड डेलिभरीको काम सुरुवात गरेको हुँ’, कुलुङले भने ।
दैनिक दुई लाखसम्म कारोबार, २०० जनालाई सेवा
सामान्य कार्यालयबाट फूड डेलिभरी सेवा शुरू गरेका कुलुङले सुरुवातका दिनमा अनेक दुःख खेप्नुपरेको थियो । कतिसम्म भने उनलाई आफ्नै कर्मचारीले समेत पत्याएका थिएनन् । कर्मचारीले ‘भोलि तलब नै दिन नसक्ने’ भन्दै जागिर नै छाडेर गएका थिए ।
‘मैले पाँचजना फूड डेलिभरी राइडर राखेको थिएँ’, कुलुङको सङ्घर्षका दिन सम्झँदै भने, ‘सञ्चालनमा आउनासाथ पाँच जनालाई काम दिन नसकेपछि तीन जनाले छाडेर जानुभएको थियो ।’ अन्य बाँकी दुई जनालाई पनि न्यूनतम तलब दिने बताएपछि मात्र काम गर्न तयार भएको कुलुङले सुनाए ।
कुलुङलाई भोकलाग्योडटकम एक वर्षसम्म टिकाउनै मुस्किल पर्यो । त्यो बेला उनले आफूले ऋण गरेर ल्याएको रकम पनि त्यसैमा खन्याए ।
‘त्यो बेला यस्तो सेवाबारे धेरैलाई थाहा थिएन, भोकलाग्योको बारेमा जान्ने त कुरै भएन’, कुलुङले भने, ‘अर्डर त्यति धेरै नआउने, चिनाउन र ब्रान्डिङमै धेरै खर्च हुन्थ्यो ।’
एक वर्ष बितेपछि व्यापार केही बढ्न थाल्यो । तर, त्यही बेला कोरोनाकाल शुरू भयो । कोरोना आउँदा भोग लागेकालाई अझ बढी फाइदा भयो । धरान उपमहानगरपालिकाले पनि रेष्टुराँमा गएर खानु भन्दा पनि भोकलाग्योबाट नै खाना मगाएर खानु भन्दा महत्त्व बढेको नरेन बताउँछन् । ‘करोनाको बेला सबै बन्द हुँदा हामीले पनि केही महिना त व्यवसाय बन्द गरौँ तर पछि होटल व्यवसायी संघसँगको समन्वयमा खोलेपछि हाम्रो व्यापार वृद्धि भएको थियो’, नरेनले भने, ‘त्यो बेला नै धरानमा हाम्रो व्यापार फस्टाएको थियो ।’
जब कोरोना कहर सकियो, कुलुङ पनि बजारमा निस्किए । कोरोना सकिनासाथ व्यवसाय बढाउन कठिन पर्यो । तर, अवस्था क्रमशः सहज बन्न थाल्यो ।
‘अहिले व्यवसाय ठीक छ, दैनिक १५० देखि २०० सम्म अडर आउँछ, दैनिक औसत दुई लाख रुपैयाँ जतिको कारोबार हुन्छ’, हँसिलो मुहार बनाउँदै कुलुङले भने, ‘प्रत्येक अर्डरमा नाफा नै हुन्छ भन्ने छैन, तर समग्रमा व्यवसाय बलियो हुँदैछ ।’
अहिले भोकलाग्यो राम्रोसँग चलिरहेको कुलुङ बताउँछन् । धेरैजस्तो ग्राहकले छुट खोज्ने, तर त्यो छुट रेस्टुराँले मात्र नभइ आफूले पनि दिनुपर्ने हुन्छ । त्यसैले नाफा निकै कम राखेर भए पनि सेवा दिने गरेको कुलुङ सुनाउँछन् ।
भोकलाग्योले कुनै रेस्टुराँको खाना अर्डर गर्दादेखि डेलिभरीसम्म कमाउने गर्छ । ‘ग्राहकले धेरै मूल्यको अर्डर गरेको अवस्थामा बाहेक सामान्य अर्डर गरेको बेला कति पर अर्डर भएको छ – त्यो हेरेर डेलिभरी चार्ज लिन्छौँ’, नरेनले भने, ‘धेरैजसो सहुलियत अफर राखेकाले नाफा थोरै नै हुन्छ, तर पनि हामी सन्तुष्ट छौँ ।’
ग्राहकसम्म छिटो र सुरक्षित खाना पुर्याउनु नै मुख्य चुनौती रहेको कुलुङको अनुभव छ । भोगलाग्योमा अहिले १५ जना कर्मचारी काम गर्छन् । तर पनि छिटो अर्डर पुर्याउन नसकेको अवस्थामा भने समस्या हुने गरेको उनको अनुभव छ ।
‘टिमको क्षमताभन्दा दुईदेखि चार गुणासम्म अर्डर आउँदा पनि समस्या हुने रहेछ’, कुलुङले भने, ‘त्यो कुरा सम्हाल्न गाह्रो हुने रहेछ । विशेषगरी चाडवाडका बेला र कुनै कार्यक्रम भएको अवस्थामा त्यस्तो हुन्छ ।’
धरानको हकमा भोकलाग्यो मात्र फूड डेलिभरी प्लेटफर्म भएकाले धेरैजसो ग्राहक दोहोरिने गरेको कुलुङ बताउँछन् । ‘सर्भिस दिएका १०० प्रतिशतमध्ये दुई प्रतिशतले सुझाव दिने गर्नुभएको छ’, उनले भने, ‘ती सुझावलाई सकारात्मक रूपमा लिने गरेका छौँ ।’
धरानबासीले बिहान १० देखि बेलुका १० बजेसम्म भोकलाग्योबाट सेवा पाउँछन् । भोकलाग्योबाट भएको व्यापार देख्दा अबको दिनमा थप आस जगाएको नरेन बताउँछन् ।
‘विगतमा जस्तो समस्या छैन, अहिले सबै सेवा अनलाइनमार्फत पाइने अवस्था छ । अबको पुस्ताले सबै चिज अनलाइनबाटै मगाउन थालेको छ’, ढुक्क हुँदै नरेन भन्छन्, ‘त्यसले गर्दा पनि धेरै हिम्मत बढेको छ, मेरै परिवारको कुरा गर्दा पनि मेरो भतिजोले पनि सधैँ अनलाइनबाट सामान अडर गर्ने गर्छ । त्यसले गर्दा पनि भोकलाग्यो डटकमको भविष्य उज्ज्वल देख्छु ।’
भविष्यमा कोशी प्रदेशका सबै मुख्य शहरमा भोकलाग्यो पुर्याउने सोच रहेको नरेन बताउँछन् । ‘यसलाई फूड डेलिभरीमा मात्र सीमित नराखी दैनिक उपभोग्य बस्तु पनि डेलिभरी शुरू गर्ने सोचमा छौँ’, नरेनले भने, ‘त्यसका लागि बजारबारे अध्ययन गरिरहेका छौँ ।’