स्वास्थ्य

गंगालाल अस्पतालमा दैनिक ६०० मुटुरोगी भर्ना

By खबरहब

October 17, 2024

काठमाडौं – अस्वस्थ खानपान र जीवनशैलीका कारण विश्वभर नै मुटुरोगका बिरामीहरू बढिरहेका छन् । नेपालमा पनि वर्षेनी मुटुरोगका बिरामी बढ्दो क्रममा छन् ।

शहीद गंगालाल हृदय केन्द्र (गंगालाल अस्पताल)मा मात्रै दैनिक ६०० बिरामी आउने गरेका अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालका सूचना अधिकारी डा. सुदीपचन्द्र दाहालले भने, ‘पहिले मुटुरोगको समस्या झेलिरहेका बढ्दो उमेरका मानिसहरू धेरै आउने गरेका थिए, पछिल्लो समय बालबालिकाहरूमै मुुटुरोग बढिरहेको पाइएको छ ।’

दाहालका अनुसार दैनिक अस्पताल आउने गरेका मुटुरोगीमध्ये कम्तिमा ४० जना बालबालिका छन् । अस्पतालमा शल्यक्रिया गर्नुपर्ने खालका बिरामी दैनिक १० देखि १२ जना आउने गरेका र औषतमा जनाको शल्यक्रिया गर्ने गरिएको उनले बताए ।

दिनप्रतिदिन मुटुसम्बन्धी समस्याका बिरामीहरू बढिरहँदा अस्पतालमा कार्डियो सर्जन भने जम्मा नौ जना छन् । विगत ६ वर्षदेखि नेपालमा नयाँ कार्डियो सर्जन नै उत्पादन नभएको सूचना अधिकारी दाहालले बताए ।

‘यही अवस्था रहने र नयाँ जनशक्ति उत्पादनमा सरकारले चासो नदिए मुटुरोग नेपालको राष्ट्रिय समस्या बन्न सक्छ,’ उनले भने ।

मुटुरोगीहरूमध्ये १५ वर्ष मुनिका बालबालिका र ७५ वर्ष माथिका वृद्धवृद्धाको निःशुल्क उपचार हुने गरेको छ । सम्बन्धित पालिकाको सिफारिसमा विपन्न नागरिकलाई औषधोपचारमा एक लाख रुपैयाँसम्म छुट पनि दिने गरिएको छ ।

तर, आवश्यकता अनुसारको भौतिक संरचना र पर्याप्त जनशक्ति नहुँदा मुटुरोगका बिरामीहरूको उपचारमा कठिनाइ भइररहेको डा. दाहालले बताए ।

अहिलेहाल अस्पताल पुगेकामध्ये ४० वर्षमाथिका अधिकांश बिरामीमा उच्च रक्तचाप समस्या देखिएको छ । बालबालिकाका हकमा मुटुमा बाथ र प्वाल लगायत समस्या धेरै देखिएको छ ।

मुटुरोग प्राणघातक रोग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुख कारण मानिन्छ । जनचेतनाको कमीले मुटुरोगको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनेगरेका छन् ।

बालबालिकामा रुघाखोकी लाग्नु, ज्वरो आउनु, थुक निल्न गाह्रो हुनु, टन्सिल बढ्नु सामान्य समस्या हुन् । तर, यो सामान्य समस्या कहिलेकाहीँ असमान्य तथा जटिल भइदिन्छ । यस्तो समस्याले बालबालिकाको मुटुमा असर पार्छ ।

सामान्यतयाः पाँचदेखि १५ वर्र्षका बालबालिकामा बारम्बार घाँटी दुख्ने, टन्सिल बढ्ने हुनसक्छ। यसरी घाँटी दुख्ने गरेका केटाकेटीलाई एकखाले ज्वोरो आउनसक्छ, जुन बेला एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरु दुख्ने र सुन्निने हुन्छन्। यो ज्वरोलाई बाथज्वरो भनिन्छ ।

यस्तो ज्वरोले पछि गएर मुटुको भल्भमा समस्या ल्याउँछ । जसलाई बाथ मुटुको रोग भनिन्छ । यो बालबालिकामा हुने मुटुसम्बन्धी आम समस्या हो ।

चिकित्सकहरूका अनुसार अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको छ ।

अहिले मुटुको समस्या लिएर अस्पताल पुग्ने ४० वर्षमुनिका बिरामीमध्ये २० देखि २५ प्रतिशतमा हृदयाघात हुने गरेको तथ्यांक छ ।