मनोरञ्जन

कति करोडका मालिक हुन् कार्तिक ?

By खबरहब

January 17, 2024

काठमाडौँ– कार्तिक आर्यन बलिउडका अत्यधिक रुचाइएका नवनायक हुन् । उनीसँग धेरै महिला ‘फ्यान’हरु मोहित छन् । सन् २०११ मा इन्जिनियरिङ गर्दै फिल्ममा डेब्यू गरेका उनी अहिले स्थापित अभिनेता बनेका छन् । यसको कारण जोहर जस्ता शक्तिशाली निर्माता/निर्देशक पनि उनीसँग काम गर्न इच्छुक देखिन्छन् ।

‘प्यारका पन्जनामा’बाट डेब्यू गरेका कार्तिकको सुरुवाती फिल्म चर्चामा आएनन् । सन् २०१९ मा प्रदर्शनमा आएको ‘सोनुकी टिटुकी स्विटी’ फिल्मले उनलाई कलाकारका रुपमा स्थापित गरायो । अहिले भने उनी बलिउडका ‘मस्ट डिमान्डेड’ नायक हुन् ।

सन् २०२१ कोभिडका दौरानमा बनेको फिल्म ‘धमका’ १० दिन छायांकन गर्दा कार्तिकले २० करोड भारु पारिश्रमिक लिएपछि उनको चर्चा अझ चुलिएको थियो । छोटो समयको कामका लागि नवनायकले यति धेरै पारिश्रमिक लिनु बलिउडको लागि एउटा इतिहास नै भएको भारतीय सञ्चार माध्यमको दाबी छ ।

कति छ आर्यनको सम्पत्ति ? कार्तिकले अभिनय बाहेक विज्ञापनबाट पनि राम्रो आम्दानी गर्छन् । उनले आम्दानीको स्रोत बढाउन ‘रियल स्टेट’मा समेत लगानी गरेका छन् । उनले ५० करोड भारु लगानी गरेर खोलेको ‘रियल स्टेट’ कम्पनीको पुँजी अहिले भारु २५० करोड भन्दामाथि पुगेको छ ।

कार्तिकले एउटा फिल्ममा अभिनय गर्दा ५० करोड पारिश्रमिक बुझ्छन् । उनको कमाइको अर्को प्रमुख पाटो भनेको विज्ञापन हो । उनले ब्रान्ड हेरेर एउटा विज्ञापनमा देखिए वापत एकदेखि पाँच करोडसम्म लिने गर्छन् । यसबाट उनले वार्षिक २५ करोड आम्दानी गर्ने अनुमान गरिएको छ ।

कार र बाइकको संग्रह कार्तिक कार र बाइकमा ठूलो सोख राख्छन् । उनी महँगा बाइकमा नयाँनयाँ स्थानमा घुमिरहेको तस्वीर पनि सामाजिक सञ्जालमा राख्ने गर्छन् । त्यस्तै उनले लक्जरी कार पनि परिवर्तन गरेर चढिरहेका हुन्छन् ।

कार्तिकसँग पाँचवटा कार छन् । उनले चढ्ने बीएमडब्ल्यूको हालको बजार मूल्य ६६ लाखको हो । उनले प्रयोग गरेको ‘मिनी कपर एस’को मूल्य भने ५५ लाख हो ।

उनीसँग करोडमाथिका कार तीनवटा छन् । उनले चढ्ने पोर्श ७१८ बक्सस्टरको मूल्य एक करोड भारु हो । उनले चढ्ने  ल्याम्बोर्गिनी  उरुस  क्याप्सुलको मूल्य झन्डै चार करोड भारुको हो । उनीसँग भएको सबैभन्दा महँगो कार ‘म्याकलनेर जिटी’को बजार मूल्य भारु पाँच करोड हो ।

त्यस्तै, कार्तिकसँग रोयल इन्फिल्ड क्लासिक र रोयल इन्फिल्ड हन्टर बाइक छ । उनीसँग भएको सबैभन्दा महँगो बाइक ११ सय सीसीको डुकाटी हो । जसको बजारमूल्य साढे १५ लाख भारु छ ।

कार्तिकले हालसालै मुम्बईमा १७ करोडको अपार्टमेन्ट किनेका छन् ।