समाचार

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

By खबरहब

January 17, 2024

भोजपुर– भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् ।

दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो ।

युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर मर्मत गरिएको हो ।

सडक बिग्रिएकाले आवातजावतमा समस्या भएपछि युवाहरूको अगुवाइमा सडक मर्मत गरिएको भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बताए । सडकका कारण आवतजावतमा समस्या भएपछि आफूले व्यक्तिगतरूपमा मर्मतका लागि सहयोग गरेको उनको भनाइ छ ।

दैनिकजसो स्थानीयले भोगेका सास्तीलाई नगरपालिकाले बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवासङ्घ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले जानकारी दिए ।

मुख्य बजारमा सडक बिग्रेका कारण दुर्घटनाको जोखिम बढेकाले युवाको अगुवाइमा सडक मर्मत गरिएको नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताए ।