समाचार

मालढुङ्गा-बेनी सडकलाई निर्माण सामग्री अभाव

By खबरहब

January 17, 2024

पर्वत– कालीगण्डकी नदीको किनारमा अवैध रुपमा सञ्चालन भइरहेका क्रसर उद्योगमा बालुवा र गिट्टीको रास बढिरहेको देखिन्छ तर त्यही नदी किनारमा निर्माण भइरहेको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा-बेनी सडकको निर्माण कार्य भने बालुवा र गिट्टीको अभावमा ठप्प छ । 

उता क्रसर व्यवसायीले लुकीछिपी रातिमा समेत अवैध रुपमा उत्खनन गरेर आफ्नो उद्योग निरन्तर सञ्चालन गरिरहेका छन् । मालढुङ्गा-बेनी सडक आयोजनाका निर्माण व्यवसायीले सम्झौताअनुसार नदी किनारमा उत्खनन गर्दा प्रहरीले उपकरण नियन्त्रणमा लिने, चालकलाई पक्राउ गर्ने र थुन्ने गरेका कारण सडक निर्माणले गति लिन नसकेको हो । पटक–पटक थपिएको सम्झौता अवधि पूरा भइसक्दासमेत उक्त आयोजनाको काम ४५ प्रतिशत भन्दा हुनसकेको छैन । पुस मसान्तपछि सम्झौता अवधिसमेत सकिएको छ । 

पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम बेनीबजारसम्म जोड्ने यो १३ किलोमिटर सडक निर्माण सामग्रीकै अभावले पूरा हुन नसकेको निर्माण कम्पनी र आयोजनाको भनाइ छ । गत दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प जस्तै बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज अच्युत विलास पन्तले जानकारी दिए । 

सम्झौता अवधि नाघिसक्दासमेत जम्मा ४५ प्रतिशतमात्र प्रगति भएको उक्त सडक खण्डमा निर्माण सामग्रीको अभाव मुख्य समस्या रहेको पन्तले जानकारी दिए। राष्ट्रिय गौरवको आयोजना जिल्लामा सञ्चालन हुँदा प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकायबाट सहयोग नपाएको गुनासो उनको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले प्रहरीको गस्तीका क्रममा अवैध रुपमा उत्खनन गरेको देखेपछि उपकरण नियन्त्रणमा लिइएको बताए । उनले प्रक्रियाअनुसार नगरपालिकामा जरिवाना बुझाएर लैजान भनिए पनि उपकरण लिन आयोजनाका कुनै प्रतिनिधि नआएकोले टिपर अझै नियन्त्रणमा रहेको बताए । आयोजनाले समन्वय नगरेको उनको आरोप छ । 

सम्झौताअनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स-खड्का-कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । तीस  महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म ४५ प्रतिशतभन्दा बढी प्रगति हुनसकेको छैन । 

कालीगण्डकी करिडोर आयोजना जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज पन्तका अनुसार हालसम्म मालढुङ्गा-बेनी सडकको ४५ प्रतिशत काम सम्पन्न भएको बताए। उनका अनुसार पुस मसान्तपछि सडक निर्माण सम्झौताका लागि तेस्रोपटक थपिएको म्यादसमेत सकिएको छ । थप गरिएको अवधि सकिएकाले पुनः म्याद थप गरेर सडक निर्माणलाई गति दिने प्रयास भइरहेको आयोजनाले जनाएको छ । गत वर्षको माघदेखि ठप्प बनेको काम असारदेखि सुरु भएको भए पनि फेरि दसैँलगत्तै काम रोकिएको इञ्जिनीयर पन्तले बताए। 

निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले पटक-पटक बेनी-जोमसोम-कोरला सडक आयोजनालाई पत्र लेख्दै निर्माण सामग्रीको व्यवस्थापन गरिदिन आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि निर्माणले गति लिन नसकेको हो । असारदेखि सुरु भए पनि निर्माण सामग्री नहुँदा फेरि काम रोक्नुपरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए ।