तस्बिर- रोयटर्स

अन्तर्राष्ट्रिय

रूसी विपक्षी नेता नभाल्नीको मृत्युबारे छानबिन गर्न राष्ट्रसङ्घ र विश्वका नेताहरूको आग्रह

By खबरहब

February 17, 2024

काठमाडौं- रूसमा पुटिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा मृत्यु भएपछि संयुक्त राष्ट्रसङ्घ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानबिन गर्न आग्रह गरेका छन् । रूसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले शुक्रबार जनाएको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘हिरासतमा भएको भनिएको नभाल्नीको मृत्युको परिस्थितिबारे पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन’ हुनुपर्ने माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले नभाल्नीको मृत्युबाट महासचिव स्तब्ध भएको बताएका छन् ।

एलेक्सीको नभाल्नीको मृत्युको विवरणले राष्ट्रसङ्घका महासचिव गुटेर्रेस ‘स्तब्ध भएको’ उनका प्रवक्ताले बताए । यसैगरी राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले स्वतन्त्र निकायमार्फत् घटनाको छानबिन हुनुपर्ने माग गरेको छ । ‘बिनाकारण जस्तो देखिएको’ नभाल्नीको कारावासबारे पनि आफूले बारम्बार कुरा उठाएको कार्यालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले पनि घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको दाबी गर्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

राष्ट्रसङ्घीय मानव अधिकार आयुक्त फोल्कर ट्यूर्कले गत वर्ष नभाल्नीलाई सुनाइएको लामो सजायले रूसले अदालती प्रणालीलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको देखाएको बताएका छन् । “यदि कोही राज्यको हिरासतमा मर्छ भने त्यसका लागि राज्य जिम्मेवार हुने अन्तरराष्ट्रिय मान्यता छ,” राष्ट्रसङ्घले भनेको छ ।

नभाल्नीको मृत्युको घोषणापछि ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडनले आफूलाई उक्त घटनाले ‘अचम्भीत र आक्रोशित’ तुल्याएको बताए । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रखर आलोचक रहेका नभाल्नीको ‘वीरता’को प्रशंसा गर्दै बाइडेनले सन् २०२० मा विष दिइएपछि नभाल्नी निर्वासनमा देशबाहिर रहनसक्ने भएपनि उनले त्यसो नगरेको बताए ।

“पुटिन जे थिएनन्, नभाल्नी त्यही थिए,” बाइडेनले नाभाल्नीको विशेष क्षमताबारे बताए । उनले थपे, “गल्ती नगरौँ, नभाल्नीको मृत्युका लागि पुटिनले जिम्मेवार छन् ।” म्युनिखबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पुटिनको मृत्यु ‘पुटिनको क्रूरताको सङ्केत’ भएको बताएकी छिन् ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले नाभाल्नीको मृत्यु रूसी जनताका लागि ‘ठूलो त्रासदी’ भएको बताएका छन् । बेलायतको विदेश मन्त्रालयले नाभाल्नीको मृत्युका लागि रुसी अधिकारीलाई पूर्ण रुपमा जिम्मेवार ठहर्‍याउन रुसी दूतावासलाई बोलाएको जनाएको छ ।

यसैगरी, बेलायतका विदेशमन्त्री डेभिड क्यामरूनले नभाल्नीको मृत्युको परिणाम रूसले भोग्नुपर्ने चेतावनी दिए । जर्मनीमा जारी म्युनिख सुरक्षा सम्मेलनमा क्यामरूनले भने, “रूसले यसको परिणाम बेहोर्नुपर्नेछ ।”

लातभियाका राष्ट्रपति एडगर्स रिन्केभिक्सले ‘क्रेमलिनले नभाल्नीको निर्मम हत्या गरेको’ बताउएका छन । त्यसैगरी, फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नले नभाल्नीको मृत्युले ‘पुटिनको शासनको वास्तविकताको सम्झना गराएको’ बताए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगत दुई वर्षदेखि रूसी सेनासँग लडिरहेका बेला क्रेमलिनका आलोचकको हत्या भएको बताए ।

नभाल्नी सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल परेका थिए । उनलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो ।