स्टोरी

काठमाडौं महानगरक्षेत्र सफा भएकै हो ? के छन्‌ बालेनका नयाँ योजना ?

By खबरहब

September 17, 2024

काठमाडौं – मैतीदेवीमा बसोबास गरिरहेका अमनकुमार सिंहले आँखा देख्दैनन् । ठाउँ–ठाउँमा पुगेर गीत गाउँदै केही रकम जुटाउने उनी लट्ठीको सहारामा हिँडडुल गर्छन् ।

पहिले उनलाई सडकमा हिँड्न एकदमै गाह्रो हुन्थ्यो । कहीँ फोहरको थुप्रोमा अल्झेर त कहीँ हिँड्दाहिँड्दै टुङ्गिने टेक्टाइल पेभिङका कारण अमनले निकै सकस ब्यहोर्नुपर्थ्यो । पछिल्लो एक वर्षयता भने उनी सडकपेटीमा लठ्ठीको सहारामा सजिलै हिँड्न सक्छन् । अब कम्तिमा फोहरमा अल्झेर लडिन्छ कि भन्ने पीर उनलाई छैन ।

‘पहिले त काठमाडौंका गल्लीमा हिँड्न पर्‍यो भने नाकमुख छोप्न मास्क लगाइहाल्नुपर्थ्यो । त्यै गन्हाउने फोहरको थुप्रोमा ठोक्किएर लडिन्थ्यो । अहिले तपाईंले काठमाडौंका कुनै गल्लीमा फोहरको थुप्रो देख्नुभएको छ ?’ अमनले भने, ‘यहाँसम्म कि लिन आउने दिन पनि मानिसहरू फोहर बाहिर निकाल्दैनन् । जुनसुकै गल्ली पनि अहिले सफा र चिटिक्क देख्न सकिन्छ । गल्लीका छेउछाउमा फूल फुलिरहेजस्तो लाग्छ ।’

पछिल्लो समय आफूजस्ता दृष्ट्रिविहीनलाई काठमाडौं महानगरभित्र हिँड्न धेरै सहज भएका पवनले बताए ।

००

काठमाडौं प्रदर्शनीमार्गस्थित एक स्टेशनरी सञ्चालक विनय सिग्देल पनि अहिले आफूलाई पसलमा बस्न आनन्द आउने बताउँछन् ।

एक वर्ष अघिसम्म पसल टेउछाउमा फोहरका डङ्गुर हुन्थे । दुर्गन्धकै कारण उनलाई पसलमा बस्नै मन लाग्दैनथ्यो । आफ्ना बालबच्चाहरूलाई त पसलमै ल्याउँदैनथे । साथीभाइ आउँदा पनि फोहरकै कारण धेरैबेर बस्न सक्दैनथे । अहिलेहाल भने विनयलाई त्यही सडक वरपरको वातावरण सफा लाग्छ ।

‘एक वर्ष अघिसम्म गल्लीमा हिँड्दा फोहर गन्हाएर नाकमुख बन्द गर्नुपर्थ्यो । त्यसरी हिँड्नुपर्ने ठाउँमा अहिले ढुक्कसाथ पैदल यात्रा गर्न सकिन्छ,’ विनयले भने, ‘फूटपाथ हडपेर पैदलयात्रीको बाटो छेक्ने समस्या पनि समाधान भइसकेको छ । यी सबैको श्रेय काठमाडौं महानगरका नगरप्रमुख बालेन्द्र शाहको टीमलाई दिनुपर्छ ।’

महानगरले फोहरको थुप्रो भएको ठाउँलाई बगैँचा बनाएको, हरेक दिन बिहानै बाटोमा सफाइकर्मी परिचालन गर्ने गरेको, जस्तोसुकै पानी र हावाहुरीमा पनि सडक सरसफाइ हुने गरेको लगायत फेहरिस्त उनले सुनाए । असल नेतृत्वबाट सुधार सम्भव हुने उदाहरण हालको काठमाडौं महानगरपालिका रहेको उनी दाबी गर्छन् ।

००

अहिले काठमाडौं महानगरपालिकामा फोहरका गाडी चलाउनेदेखि कुचीकारसम्म गरी एक हजार सफाइ कर्मचारी छन् । ६०० जति कर्मचारी स्थायी हुन् भने अन्य विभिन्न कम्पनीसँगको सम्झौतामा खटाइएका हुन् ।

महानगरका सहायक प्रवक्ता नमराज ढकालले फोहर व्यवस्थापनको काम पहिलेदेखि नै महानगरलाई टिका लगाएर दिएजस्तो भएकाले सबै काम महानगरले नै गरिरहेको बताए ।

सडक सफाइका लागि अहिले महानगरसँग ६ वटा ब्रुमर र ५ वटा जेट संचालनमा छन् । यी सबै उपकरण महानगरसँग पहिलेदेखि नै भए पनि नियमित प्रयोगमा ल्याउने गरिएको थिएन । पछिल्लो स्थानीय तह निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूले यी उपकरण प्रयोगमा ल्याएका छन् ।

महानगरले फोहर सङ्कलन गर्न आवश्यक टिपर र ट्याक्टर पनि थप गरिसकेको छ । महानगरलाई आवश्यक स्काभेटरजस्ता उपकरण थपिने क्रममा छ । महानगरपालिकाले फोहर व्यवस्थापनमा पहिलेभन्दा करिब २० प्रतिशत बढी बजेट छुट्याएको छ ।

काम गर्ने कर्मचारीदेखि उपकरणहरू दैनिक प्रयोग भएका कारण बजेट विस्तार भएको प्रवक्ता ढकालले खबरहबलाई बताए । कर्मचारीसँगै उपकरण पनि थपिएका कारण बजेट बढ्नु स्वभाविक भएको उनको भनाइ छ ।

वायु गुणस्तर जाँच गर्ने मापदण्ड तयार

महानगरपालिकाले वायु गुणस्तर मापन निम्ति आवश्यक सबै काम पनि पूरा गरेको जनाएको छ । ध्वनि, पानी माटो र वायु प्रदूषण मापन गरी प्रदूषकलाई कारबाही प्रक्रिया अघि बढाउन कार्यपालिकाले कार्यविधि पारित गरिसकेको प्रवक्ता ढकालले जानकारी दिए ।

‘प्रदूषण गर्नुहुँदैन भन्ने सबैलाई थाहा छ । तर, जानाजान प्रदूषण गर्नेलाई गर्ने कारबाही निर्धारण नभएका कारण आवश्यक नियम बनाइरहेको छौँ,’ ढकालले भने ।

महानगरले प्रदूषण मापन गर्न आवश्यक सम्पूर्ण उपकरण भित्र्याइसकेको उनले बताए । भित्र्याइएका उपकरणले कति मात्रामा प्रदूषण भइरहेको छ भन्ने जानकारी दिन्छ । यस क्रममा विभिन्न मापन गरिनेछ ।

अहिले महानगरले दैनिक रूपमा उठ्ने फोहर व्यवस्थापन गर्न विभिन्न व्यवस्थापन केन्द्रहरू निर्धारण गरेको छ । नदी र नदी किनारामा हुने फोहरहरूलाई पनि दैनिक रूपमा हटाउने गरेको छ । खोलानाला र सार्वजनिक स्थलमा कसैले फोहर फालेको देखे तत्कालै कारबाही हुने गरेको प्रवक्ता ढकालले बताए ।

अहिले काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट दैनिक २५० टन फोहर उठ्ने गरेको छ ।१२ वटा वडामा महानगर आफैले फोहर उठाउने गरेको छ भने अन्यमा निजी कम्पनीलाई जिम्मा दिएको छ । ती वडामा पनि महानगर आफैँ उपस्थिति हुन खोजे पनि सबै व्यवस्थापन गर्न समस्या भएका कारण निजी कम्पनीलाई दिइएको महानगरका अधिकारीहरू बताउँछन् ।

ती कम्पनीसँग महानगरको आधिकारिक सम्झौता भने नरहेको प्रवक्ता ढकालले बताए । निजी कम्पनीहरूले पनि महानगरले तोकेको मापदण्डअनुसार फोहर व्यवस्थापनको काम गर्नुपर्छ । धेरै भीडभाडयुक्त ठाउँमा बिहान–बेलुकी नै सरसफाइ गर्नुपर्छ ।

‘दुई वर्षको अन्तरालमा अहिले काठमाडौं महानगरमा कतै फोहर देख्न पाउनुहुन्न । अझै महानगरले नै फोहर उठाउने ठाउँहरूमा त कुनै कमजोरी छैन । निजी क्षेत्रलाई दिइएका क्षेत्रमा पनि हामीले निरन्तर निगरानी गरिरहेका छौं,’ ढकालले भने ।

नदी व्यवस्थापनमा अघि बढ्दै

काठमाडौं महानगरपालिकाले हाल नदीनाला सरसफाइ निम्ति अभियान नै चलाएको छ, जसमा विभिन्न संघसंस्थाले पनि भरपूर सहयोग गरिरहेका छन् । नदीनालाबाट प्लास्टिक र बोतल निकालेर मात्रै सफा नहुने भएकाले दीर्घकालीनसमाधान खोज्ने बाटोमा लागिएको प्रवक्ता ढकालले बताए ।

निकै अघिदेखि चलाइएको सो अभियानलाई महानगरले निरन्तरता दिइरहेको हो । अभियानलाई नदीनाला सफाइमात्र नभएर नयाँ योजनाका रूपमा अघि बढाउन लागिएको उनले बताए ।

‘नदीनालामा ढल र फोहर पानी मिसाउने प्रवृत्ति हटाउने प्रयासमा हामी लागिसकेका छौँ । अब त्यस्तो पानी वा फोहर बगाउन नदीको छेउबाट छुट्टै करिडोर बनाउन अध्ययन भइरहेको छ,’ ढकालले भने ।

खोलालाई खोलाजस्तै बनाउने महानगरको मुख्य उद्देश्य रहेको बताउँदै ढकालले यो बर्खामा पहिलेजस्तो डुबान नभएको दाबी गरे । यस अघिका बर्खामा निकै डुबान हुन्थ्यो । अहिले खोलामा फोहर नभएका कारण पानी थुनिन पाएन । आफ्नै गतिमा बग्न पाएका कारण पहिलेको तुलनामा यो वर्ष डुबान कम भएको ढकालले बताए ।

फोहर व्यवस्थापन गर्न ७ क्लस्टर

फोहर सङ्कलन कार्यलाई महानगरले ७ वटा क्लस्टरमा विभाजन गर्दैछ । हरेक क्लस्टरमा तोकिएको वडामा फोहर सङ्कलन र स्थानान्तरणका लागि केन्द्र निर्धारित गरिनेछ ।

महानगरका अनुसार टोल तथा घरहरूबाट उठाइने फोहर क्लस्टर अनुसारको निश्चित केन्द्रमा पुर्‍याइएपछि व्यवस्थापन केन्द्रमा पठाउने योजना छ ।

महानगरले वडा १ देखि ७ सम्मको क्षेत्रफललाई ‘क्लस्टर एक’ तोकेको छ । फोहर स्थानान्तरणको सम्भावित केन्द्र वडा नम्बर ७ मा तोक्ने तयारी छ ।

क्लस्टर २ मा वडाहरू १०, ११, २८, २९ र ३० समावेश गरिएको छ । यी वडाको फोहर स्थानान्तरण केन्द्र वडा नं. ११ मा राख्न प्रस्ताव गरिएको छ । क्लस्टर ३ अन्तर्गत वडा नम्बर ६, ८ र ९ पर्नेछ । यहाँको फोहर स्थानान्तरण केन्द्र वडा नं. ६ मा राख्न प्रस्ताव गरिएको छ ।

वडाहरू १६, १७ र २६ क्लस्टर ४ अन्तर्गत पर्नेछ । यसको स्थानान्तरण केन्द्र वडा नम्बर १६ मा प्रस्ताव गरिएको छ । क्लस्टर ५ मा वडाहरू १३, १४ र १५ पर्नेछन् । यो क्षेत्रको फोहर स्थानान्तरण केन्द्र १४ मा रहने प्रस्ताव गरिएको छ । क्लस्टर ६ मा वडा ३१ र ३२ राखिएको छ । यहाँको फोहर स्थानान्तरणको केन्द्र वडा नं. ३१ मा प्रस्ताव गरिएको छ ।

क्लस्टर ७ मा वडा १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २६ पर्नेछ । यसको स्थानान्तरण केन्द्र हाल कायम रहेको वडा १२ मै रहनेछ । हरेक क्लस्टरको स्थानान्तरण केन्द्रबाट फोहर डम्पिङ साइटमा पठाइनेछ ।