स्वास्थ्य

निःशुल्क आँखा शिविरबाट एक हजार बढी लाभान्वित

By खबरहब

April 17, 2024

गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।

गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी एक हजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएको गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए ।

शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उनको भनाइ छ ।

पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको अधिकृत अर्यालले बताए ।

शिविरमा ९ सय १७ जनालाई औषधि तथा ७८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।