अन्तर्राष्ट्रिय

दुबईमा भारी वर्षा, विमानस्थल डुवानमा

By खबरहब

April 17, 2024

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) का अबुधाबी, दुबई, अल ऐनलगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

मंगलबारदेखि सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन् । मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ ।

बहराइन, कतार र साउदी अरबमा भारी वर्षाका कारण पनि अवस्था खराब छ । ओमानमा भारी वर्षाका कारण १८ जनाको मृत्यु भएको छ ।

खाडी मुलुकमा मौसम बदली हुनुको मुख्य कारण दक्षिण–पश्चिमबाट बनेको न्यून चापीय प्रणाली हो । राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनसीएम) ले २ दिन अघि युएई र साउदी अरबमा भारी वर्षा हुने भविष्यवाणी गरेको थियो ।

दुबई, अबुधाबी र शारजाहमा अझै पानीसँगै असिना पनि पर्न सक्ने युएईको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ ।

भारी वर्षा पछिको बाढीले सबैभन्दा धेरै दुबईको ट्राफिकमा असर गरेको देखिएको छ । सडक यातायातदेखि हवाई यातायातमा समेत समेत अवरोध उत्पन्न भएको छ । दुबईका विमानस्थल पानीमा डुबेका छन् । कयौँ उडान रद्द भएका छन् ।