काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता पनि कराँते, तेक्वान्दो लगायतका खेलहरुमा नेपालको प्रस्तुति कमजोर देखिँदै आएको छ । आखिर के कारणले यस्ता खेलहरुमा नेपालले उल्लेख्य प्रगति गर्न नसकेको होला ? कतै खेलकूद क्षेत्रको नेतृत्वकै कमजोरी त यसमा जिम्मेवार छैन ? यसबारे बहस जरुरी देखिएको छ ।
विश्व कराँते महासंंघको अफिसियल वेभसाइटमा नेपाली कराँते खेलाडीको उपस्थितिको शून्य छ । गएको एसियाली खेलकुदमा एरिका गुरुङले नेपालको तर्फबाट कराँतेमा रजत पदक जितेकी थिइन् ।
एक प्रशिक्षकका अनुसार ओलम्पिक खेल महोत्सव अन्तरगत ( एसियाड र साग) को परिणाम कराँते महासङ्घ अन्तरगत समावेश गरिएको छैन जसले गर्दा पनि बरीयतामा नेपालको अवस्था खराब भएको हो । ती प्रशिक्षकले त्यसो भनिरहँदा पनि बारम्बार कम्ब्याट खेलको रटान लगाउने नेपाली खेलकुद अधिकारीले ती खेलमै नेपालको अवस्थाबारे सही पहिचानमा समेत आनाकानी गरिरहेको देखिन्छ ।
विश्व कराँते महासङ्घका प्रतियोगिताहरुमा नेपालको कमजोर उपस्थितिले कम ब्याट खेलमै नेपालको अवस्थालाई दर्साउँछ । चाहे ती खेलका अधिकारीले विगतको इतिहासमा जस्तोसुकै गर्व गरुन् । केही खेलाडी त्यस बरीयतामा नभएका भने होइनन् । कराँतेको महिला ५० केजीमा एलिना बिके २४२ औं स्थानमा छिन् ।
अन्तर्राष्ट्रिय कराँतेको बरीयतामा नेपालको उपस्थिति एकदमै कम छ । विश्व तेक्वान्दोको अफिसियल साइटका अनुसार तेक्वान्दोको ओलम्पिक बरीयतामा ५८ केजीमा सुमित विष्ट ३०९ औं स्थानमा छन् ।
यसैगरी, सबैभन्दा उत्कृष्ट स्थानमा ६८ केजीमा वीरबहादुर महरा १५७ औं स्थानमा छन् ।
तेक्वान्दोमा पनि उस्तै
अन्य स्पर्धामा नेपालको अवस्था हेर्दा तेक्वान्दोमा पनि सन्तोषजनक देखिँदैन । ८० केजीमा अभिषेक बराल ३८० औं स्थानमा तथा महिला ४९ केजीमा अञ्जली तामाङ २०६ औं स्थानमा छन् । घरेलु प्रतियोगितामा धेरै खेलाडीको प्रतिस्पर्धा रहने सो स्पर्धामा युनिसा राई २८२ औं तथा काजल श्रेष्ठ ३३१ औं स्थानमा छन् ।
यसैगरी ५७ केजीमा आयशा लामा १७० औं र कञ्चन थापा ३४४ औं स्थानमा छन् ।
सबै भन्दा उत्कृष्ट स्थानमा इन्दिरा बस्नेत छिन् । ६७ केजीमा प्रतिस्पर्धा गर्ने उनी ९७ औं स्थानमा छिन् ।
अन्य खेलको अवस्था
पुम्सेमा भने नेपालको अवस्था केही सन्तोषजनक देखिएको छ । पुरुष ३० वर्ष भन्दा कममा प्रेमबहादुर लिम्बुको वरियता ६० औं छ । सो स्पर्धामा शिशिर श्रेष्ठ पनि बरीयतामा अटाएका छन् । उनको वरीयता ७८ औं छ ।
४० वर्ष मुनिको स्पर्धामा भने कमल श्रेष्ठ ३६ औं तथा थानेश्वर दर्लामी ९५ औं स्थानमा छन् । यसैगरी जगन्नाथ अधिकारी १२० आंै स्थानमा छन् भने आशीष चन्द १२६ औं स्थानमा छन् ।
महिलातर्फ ३० वर्ष मुनिको बरीयतामा पार्वती गुरुङ ६४ औं तथा स्वस्तिका तामाङ १६७ औं स्थानमा छन् । महिला ४० वर्ष मुनिको स्पर्धामा आयशा शाक्य ६३ औं स्थानमा छिन् ।
बक्सिङको महिलातर्फको बेन्टम वेटमा मिनु गुरुङ ८० औं स्थानमा छिन् । उनी गत एसियाली खेलकुदको स्वर्ण पदक विजेतासमेत हुन् । यसैगरी लाइट वेटमा पुनम रावल ५२ औं स्थानमा छिन् । लाइट मिडिलमा सरस्वती राना ५५ औं स्थानमा छिन् । महिला बक्सिङमा यो उपस्थिति सामान्य हो ।
पुरुष ५४ केजीमा रविन थापा ५४ औं स्थानमा छन् । लाइट वेटमा भूपेन्द्र थापा ८० औं स्थानमा छन् । वेल्टरमा सनिल शाही ८७ औं स्थानमा छन् ।
खेलकूदको नेतृत्व सधैं विवादमा
नेपाली खेलकुदमा विनाकुनै आधार हचुवामा आगामी लक्ष्य भनेर सस्तो लोकप्रियता खोज्ने प्रचलन पुरानै हो । २०६२/६३ को आन्दोलनपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव भएका जीवनराम श्रेष्ठले पनि त्यही परम्परालाई निरन्तरता दिए । उनले त्यसै समयमा भिजन ट्वान्टी ट्वान्टी भन्दै टोकियो ओलम्पिकमा पदकको सपना बाँडेका थिए ।
हाल श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष छन् । खेलकुदका सबै भन्दा धेरै विकृति पनि ओलम्पिकभित्रै छन् । सबै भन्दा आश्चर्य त ओलम्पिक कमिटीको जिम्मेवार तहमा बसेका संघका अध्यक्षहरू नै उनीहरूको संघमा सबै भन्दा धेरै आलोचित रहे ।
संघ नेतृत्वलाई जोगाएर खेलकुदलाई पछि धकेल्ने कामको नेतृत्व नै श्रेष्ठले गरेको आरोप धेरै जनाको छ । चाहे त्यो नेपाल उसु महासङ्घको वीर बहादुर तामाङको हकमा होस् या नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यको हकमा होस् ।
आगामी एसियाडमा स्वर्ण पदक जित्ने लक्ष्य भन्दा वर्तमान सदस्य सचिव टंकलाल घिसिङले भनिरहँदा खेलकुदका सामान्य कुरा पनि पूरा हुन सकेका छैनन् । नेपाल उसु महासंघको विवाद अझै छ । आफैंले प्रमाणपत्र दिएको उसु महासंघको नेतृत्वलाई खुलेर साथ दिन सदस्य सचिव हिच्किचाएका छन् ।
नेपाल ओलम्पिक कमिटी कुनै पनि हालतमा टेबल टेनिस संघको अध्यक्षमा वैद्यलाई निरन्तर राख्न चाहन्छ । यसका बाबजुद सदस्य सचिवले निर्वाचन गराएर सही नेतृत्व ल्याउन आनाकानी गरेको असन्तुष्ट पक्षको आरोप छ ।
नेपाली टेबल टेनिस संघको यो विवादलाई नजिकबाट नियाल्ने एक कर्मचारी भन्छन्, ‘परिषद् सदस्य सचिव घिसिङको कमजोर मानसिकता नै समस्याको कारक हो ।’
अहिले नेपाल ओलम्पिक कमिटीले जतिसुकै अलोकप्रिय भए पनि केही व्यक्तिलाई साथ दिने गरेको छ । उनीहरू अध्यक्ष नभए मान्यता नदिने र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाइने तर्क अघि सारिने गरिएको छ । जबकि ओलम्पिक कमिटीकै कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाइने अवस्था रहँदैन ।