समाचार

कांग्रेससँग प्रधानमन्त्रीको वार्ता स्थगित, अब शनिबार बालुवाटारमा बस्ने

By खबरहब

May 17, 2024

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूबीच शुक्रबार साँझ हुने भनिएको वार्ता स्थगित भएको छ ।

संसद्‌मा जारी गतिरोध अन्त्यको प्रयासस्वरुप प्रधानमन्त्रीको पहलमा संसद्‌मा आन्दोलनरत प्रतिपक्षी कांग्रेससँग हुन लागेको छलफल स्थगित भएको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग हुने भनिएको छलफल स्थगित भएको बताए । तर त्यसको कारण भने उनले खुलाएनन् ।

उता प्रधानमन्त्रीको सचिवालयले भने दाँतको उपचारका लागि फलोअपमा वीर अस्पताल जानु परेकाले आज तय भएको वार्ता स्थगित भएको जनाएको छ ।

लेखककाअनुसार अब प्रधानमन्त्रीसँग शनिबार बिहान साढे ८ बजे सरकारी निवास बालुवाटारमा संवाद हुने उनले बताए ।

प्रधानमन्त्रीले शुक्रबार साँझ ६ बजे कांग्रेस नेताहरूलाई छलफलका लागि बोलाएका थिए । तर प्रधानमन्त्री सत्ता पक्षीय नेताहरूसँग रणनीति तय गर्न जुटेका छन् ।

यसअघि शुक्रबार बिहान कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका थिए ।