क्रिकेट

बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

By खबरहब

June 17, 2024

काठमाडौं – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो ।

बंगलादेशलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुईदुई विकेट हात पारे । बंगलादेशका दुई ब्याट्सम्यान रनआउट भए ।

बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए ।

रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए । उनले दुई चौका प्रहार गरे । रिसाद होसेनले ७ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे ।

बंगलादेशका लागि जाकेर अलीले २६ बलमा १२ रन बनाए भने तास्किन अहमदले १२ र ओपनर लिट्टन दासले १० रन बनाए ।

सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेको खेलमा चार जना बलरले समान दुईदुई विकेट हात पारेका हुन् ।

४ ओभर बलिङ गर्दै सन्दीप लामिछानेले एक मेडेन राख्दै मात्र १७ रन खर्चिएर दुई विकेट लिएका हुन् ।

कप्तान रोहित पौडेलले ४ ओभर बलिङ गर्दै दुई विकेट हात पार्दा २० रन खर्चिए । दीपेन्द्र सिंह ऐरीले ३.२ ओभर बलिङ गर्दै दुई विकेट लिँदा २२ रन खर्चिए।

सोमपाल कामीले पहिलो बलमा विकेट लिँदै नेपालको आत्मबल बढाएका थिए । उनले ३ ओभर बलिङ गर्दै उनले १० रन दिएर २ विकेट लिए ।