समाचार

बकर इदले एकताको सन्देश दिएको छ : देउवा

By खबरहब

June 17, 2024

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद उल अजहा) को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले ‘बकर इद’ लाई पवित्र पर्वका रुपमा मनाउने गरिएको उल्लेख गर्दै यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भाव बढाउँदै आएको उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘नेपाल–प्राचीनकालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गमस्थल रहेकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ ।’

सभापति देउवाले यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

उनले ‘बकर इद’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।