क्रिकेट

अस्थिर पाकिस्तानको ओरालो क्रिकेट यात्रा

By मनोज घिमिरे

June 17, 2024

इमरान खान नेतृत्वको पाकिस्तान संसारका लागि एउटा आकर्षण थियो। इन्जमाम उल हकको सुझबुझ त छदै थियो, रिभर स्विङका बादशाह वसिम अक्रमको उदय विश्व क्रिकेटमा शक्तिको रूपमा पाकिस्तानको उदय महत्त्वपूर्ण थियो। शक्तिशाली क्रिकेट राष्ट्र पाकिस्तान सन् १९९९ को विश्वकप फाइनलमा सेन र्वानको लेग स्पिनको अघि निरीह साबित भएसँगै एक दिवसीय क्रिकेटमा साख गिरेको थियो। त्यसयता ठुला प्रतियोगितामा पाकिस्तान त्यस शैली र स्वरूपमा अझै देखिएको छैन।

विश्व क्रिकेटको सबै भन्दा अस्थिर टोलीको रूपमा पाकिस्तान रहेको छ। पाकिस्तानका समर्थक पनि संसारभर त्यत्ति नै छन्। कुनै समय दुई वटा स्वरूपको विश्व विजेता पाकिस्तानले पहिलो पटक क्रिकेटमा प्रभाव जमाउने क्रममा सन् १९९२ मा भएको क्रिकेट विश्वकपको फाइनलमा इङ्गल्यान्डलाई हराएको थियो।

त्यो विश्वकपमा पहिलो चरणमा इङ्गल्यान्डले पाकिस्तानलाई फराकिलो ढङ्गले हराएका कारण फाइनलमा पनि इङ्गल्यान्ड सोही शैलीमा विजयी हुने अनुमान गरिएको थियो। अनुमान भन्दा फरक शैलीको नतिजा देखिएको थियो।

फाइनलमा पहिलो ब्याटिङ गरेको पाकिस्तानलाई ३५ ओभरसम्म खुलेर ब्याटिङ गर्नबाट इङ्लिस बलरले रोकेका थिए। ३१ औं ओभरमा पाकिस्तानले बल्ल १०० रन पुरा गरेको थियो। सुरुआतमा नै रमिज राजा र अमिर सोहेल आउट भएको खेलमा इमरान खानको क्याच ग्राहम गुचले नछाडेको भए अवस्था अझ खराब हुन सक्थ्यो। खान र जावेद मियादादले १३१ रनको साझेदारी गरेका थिए।

यी दुई आउट भए पछि इन्जमाम उल हक र अक्रमले छिटो रन बनाए पछि पाकिस्तानले २४९ रनको योगफल खडा गरेको थियो। इङ्गल्यान्डले ४ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २२५ रन जोडेको थियो।

पहिलो पटक उपाधि जितेको पाकिस्तानी टोली सन् १९९९ मा अर्को पटक फाइनल प्रवेश गरेको थियो। सन् १९९९ मा भएको विश्वकप फाइनलमा पाकिस्तान १३२ रनमा सीमित भएको थियो। पाकिस्तानलाई कम योगफलमा सीमित गर्ने क्रममा सेन वार्नले ९ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएका थिए। ग्लेन म्याकग्राथले ९ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए। पाकिस्तान सो खेलमा ३९ ओभर मात्र टिकेको थियो। अस्ट्रेलियाले २० दशमलव १ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो।

त्यसपछि विश्व क्रिकेटमा अस्ट्रेलियाको सानदार युगको सुरुआत भएको थियो। पाकिस्तानको ओरालो यात्रा पनि त्यसै विश्वकपबाट भएको हो। म्याच फिक्सीङ र स्पट फिक्सिङ लगायत विवादमा तानिएको पाकिस्तान त्यस यताका कुनै पनि एक दिवसीय विश्वकपमा फाइनल प्रवेश गर्न सकेको छैन।

सन् २०११ मा पाकिस्तान सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। त्यो बाहेक सन् १९९९ यता २०११ भन्दा बाहेक पाकिस्तान अन्तिम ४ मा प्रवेश गर्न असफल भएको थियो। यसै बिचमा नयाँ स्वरूपमा टी-२० विश्वकप क्रिकेटको सुरुआत भएपछि विश्व क्रिकेटमा पाकिस्तानको साख फेरि बढेको हो।

सन् २००७ मा भएको टी-२० विश्वकपको पहिलो संस्करणमा नै पाकिस्तान फाइनल प्रवेश गरेको थियो। तथापि फाइनलसम्मको यात्रा मै धेरै आरोह र अवरोह पाकिस्तानले सामना गरेको थियो ।

इङ्गल्यान्डसँगको हारबाट प्रतियोगिताको सुरुआत गरेको पाकिस्तान नेदरल्यान्ड्स सहितको ३ टोलीको समूहमा दोस्रो हुँदै सुपर एटमा प्रवेश गरेको थियो। सुपर एटमा पनि श्रीकलासँग पराजित पाकिस्तान

न्युजिल्यान्डलाई पछि पार्दै सेमिफाइनल प्रवेश गरेको थियो। फाइनलमा पाकिस्तानको भेट श्रीलङ्कासँग नै भएको थियो। फाइनलमा श्रीलङ्कालाई १३८ रनमा सीमित गरेपछि पाकिस्तानले ८ बल बाँकी रहँदा लक्ष्य पुरा गरेको थियो।

विश्व क्रिकेटमा पाकिस्तानको त्यो नै अन्तिम प्रभावशाली प्रदर्शन रहेको थियो। त्यस यता पाकिस्तानको प्रदर्शन कमजोर रहँदै आएको छ।

भारतका कप्तान रोहित शर्मा र पाकिस्तानका कप्तान बाबर आजम । तस्बिरः क्रिकइन्फो

टी-२० विश्वकपको नवौँ संस्करणमा आइपुग्दा त झन् सो टोली पहिलो चरण पार गर्न नै असफल भएको हो। अमेरिकासँगको सुपर ओभरको हार नै पाकिस्तानको खराब यात्राको मुख्य कारण बनेको छ। भारतले प्रतिस्पर्धात्मक खेलमा पाकिस्तानलाई हराएपछि पाकिस्तान त्यसपछि खेलमा फर्कन असफल भएको हो।

सन् २०२३ मा भएको एक दिवसीय विश्वकपमा पनि पहिलो दुई खेलमा जित हात पार्दै शानदार सुरुआत गरेको पाकिस्तान अन्त्यमा पाँचौँ स्थानमा रहँदै बाहिरिन पुगेको थियो। सो विश्वकपमा लगातार ४ खेलमा हारको सामना गर्ने क्रममा अफगानिस्ताने पनि पाकिस्तानलाई हराएको थियो।

टी-२० विश्वकपमा एक दिवसीयमा भन्दा एसियाली देशको प्रभाव बढी छ। विगतमा साख राखेका श्रीलङ्का र पाकिस्तान बाहिरिए पनि बङ्गलादेश र अफगानिस्तान अहिले सुपर एटमा प्रवेश गरेका छन्।

न्युजिल्याण्डमाथि ८४ रनको शानदार जितपछि अफगानिस्तानको खुशी । तस्बिर : क्रिकइन्फो

भारतपछि एसियाली पावर हाउसको रूपमा अफगानिस्तान उदाएको छ। सुपर एटमा प्रवेश गरिसकेको अफगानिस्तानले समूह चरणको अन्तिम खेल वेस्ट इन्डिजसँग खेल्ने छ। छिमेकका दुई टोलीमा पाकिस्तानको ओरालो यात्रा र अफगानिस्तानको उदयको रूपमा यस टी-२० विश्वकप रहेको छ।

यी दुवै देश उही अवस्थाबाट गुज्रिएका छन्। यी दुवै देशमा राजनीतिक अस्थिरता छ। दुवै देशको अर्थतन्त्र विगतका केही वर्षदेखि सही बाटोमा छैन। पाकिस्तानी अर्थतन्त्र ओरालो यात्रामा लागेको केही समय भइसकेको थियो।

यसै बिचमा विश्वकपमा उपस्थिति जनाएको थियो। लगातारका दुई भिन्न स्वरूपको विश्वकपमा पहिलो चरण पार गर्न नसकेको पाकिस्तान सन् २०२३ मा भएको एसिया कपमा सुपर फोरमा प्रवेश गरेको थियो। तर फाइनल प्रवेश गर्न असफल भएको थियो। गिरेको पाकिस्तानी क्रिकेटको यो साख कहिले फर्कने भन्ने धेरैका लागि प्रतीक्षाको विषय बनेको छ।

अस्थिर क्रिकेट इतिहास बोकेको पाकिस्तान फेरि शक्तिमा उदाउन धेरै लामो समय लाग्नसक्छ। पाकिस्तान र श्रीलङ्का कमजोर हुँदै गर्दा प्रभावशाली क्रिकेट देशको रूपमा अफगानिस्तान उदाउन सक्नेछ। स्रोतः क्रिक इन्फो, क्रिक बज