तस्बिर : राजेन्द्र आचार्य

समाचार

प्रधानमन्त्रीले भने : बजेट जनताको पक्षमा छ, संसद्‍‍बाट पारित हुन्छ

By खबरहब

June 17, 2024

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट समग्रमा सन्तोषजनक रहेको बताएका छन् ।

उनले आगामी वर्षको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको पनि दाबी गरे ।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मलाई लाग्छ यो बजेट प्रतिनिधिसभाबाट पारित हुन्छ ।’

सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि सरकारबाट थुप्रै सकारात्मक पहल भएको दाहालले बताए ।

‘सरकारको काम सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षाअनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता ठानेको छु’, दाहालले भने ।

उनले नेपाल प्रहरीका महानिरिक्षक वसन्त कुँवरलाई हटाएर नयाँ ल्याउने कुरा हल्ला मात्रै भएको पनि बताए ।

दाहालले केही दिनअघि तीनै सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको पनि जानकारी दिए ।

उनले तीनैजना सुरक्षा प्रमुखहररुलाई आफूले ढुक्कसँग काम गर्न निर्देशन दिएको पनि जानकारी दिएका छन् ।

‘मैले अस्ति मात्रै तीनै आईजीपीलाई बोलाएर केही परिवर्तन हुँदैन, तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु,’ प्रचण्डले भने, त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ, कसैलाई फेर्ने हल्ला मात्रै हो ।’