समाचार

स्वदेशमै पुग्दैन बिजुली, प्राधिकरणलाई निर्यातकै हतारो !

By खबरहब

June 17, 2024

काठमाडौं– यो सिजन चर्को गर्मीका कारण देशभर विद्युत् खपत बढ्दा नेपाल विद्युत् प्राधिकरणलाई लोड व्यवस्थापनमा सकस पर्यो । तराईका जिल्लामा मात्रै होइन, काठमाडौं उपत्यकामा गर्मी अचाक्ली बढेपछि साँझको पिक आवरमा विद्युत् खपत २ हजार १७० मेगावाटसम्म पुग्यो । जुन विगतको भन्दा निकै बढी विद्युत् खपत हो ।

विद्युत् खपत धान्न नसकेर प्राधिकरणले साढे २ सय मेगावाट भारतबाटै आयात गरिरहेको थियो । राष्ट्रिय प्रणालीमा झन्डै ३ हजार २ सय मेगावाटको जडित क्षमता पुगेको छ । तर, देशभर वर्षा नहुँदा हिउँदयामकै अवस्था रहेकाले अहिले १७ सय देखि १८ सय मेगावाट हाराहारी बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।

स्वदेशमा उत्पादित र आयाति बिजुलीबाटसमेत लोड व्यवस्थापन नहुँदा साढे २ सय मेगावाट अपुग भएको प्राधिकरणका प्रवक्ता चन्दकुमार घोषले बताए ।

बिजुली अपुग हुँदा औद्योगिक क्षेत्रका उद्योगहरुले १५ घण्टाभन्दा बढी लोडसेडिङको मार खेप्नुपरेको छ । दिनको ७÷८ घण्टा उपलब्ध हुने बिजुली पनि ‘ट्रिपिङ’ समस्याले उद्योग चलाउन सक्ने अवस्था नरहेको उद्योगीहरुको गुनासो छ ।

४०० मेगावाट निर्यात हल्ला मात्रै

एकातिर स्वदेशमा मागअनुसारको विद्युत् अपुग छ । अर्कातिर भारतबाट आयात गर्नुपर्ने बाध्यता । यस्तो अवस्थामा पनि प्राधिकरणलाई निर्यातकै हतारो छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत जेठ १४ बाट भारततर्फ ४०० मेगावाट बिजुली निर्यात सुरु गरेको दाबी गरेका थिए ।

प्राधिकरणले ‘भारततर्फ विद्युत् निर्यात सुरु’ शीर्षकको तयारी समाचार सञ्चारमाध्यमलाई पठाउनसमेत भ्यायो । गर्मीयामका कारण देशभर विद्युत् खपत बढ्दो थियो । विद्युत् उत्पादन घटिरहेका बेला कसरी निर्यात हुन थाल्यो ? भन्ने जिज्ञासा स्वभाविक पनि हो ।

तर, प्राधिकरणकै प्रवक्ता घोषले तत्कालका लागि नभई विद्युत् उत्पादन बढ्ने बेला बर्खायामको बढी हुने (सरप्लस) बिजुली मात्रै निर्यात गर्ने भनिएको बताए ।

प्राधिकरणले ४०० मेगावाट बिजुली निर्यात थालेको हो भन्ने प्रश्नमा घोषले खबरहबसँग भने, ‘छैन, छैन । प्रणालीमा लोड घट्दा र सरप्लस हुने अवस्थामा मात्रै ४०० मेगावाट निर्यात गर्ने भनिएको हो ।’ प्राधिकरणले स्वदेशमा विद्युत् खपत बढाउनेभन्दा निर्यातमै हतार गर्दा समस्या भएको छ ।

५ सय मेगावाट बिजुली खेर जाने

स्वदेशमा खपत भएर बढी भएको बिजुली निर्यात गर्नै पर्छ । तथापि, स्वदेशमै विद्युत् लोड नपुगेर आयात गर्नुपरेको अवस्थामा प्राधिकरणले विद्युत् निर्यातकै गफ लगाउन नहुने विज्ञहरु बताउँछन् । प्रसारण तथा वितरण लाइन सुधार गरेर प्राधिकरणले स्वदेशमै खपतमा जोड दिनुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की बताउँछन् ।

‘प्रसारण लाइन बनाएर स्वदेशमै विद्युत् खपत बढाउने योजना अघि सार्नुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्रै बढी हुने र बर्खायामको बिजुली निर्यात गर्न सक्नुपर्छ ।’ प्राधिकरणले विद्युत् प्रसारण लाइन समयमै निर्माण नगरिदिँदा बर्खायाममा बिजुली खेर गइरहेको उनले बताए ।

प्राधिकरणले समयमै प्रसारण लाइन नबनाइदिएकाले आउँदो बर्खायाममा ५ सय मेगावाट हाराहारी बिजुली खेर जाने जोखिम रहेको कार्की बताउँछन् । बर्खायाम सुरु हुनासाथ खोलामा पानीको बहाव बढ्दा जलविद्युत् आयोजना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थाल्छ ।

उत्पादित बिजुली ग्रीडसम्म पुर्या‍उन आवश्यक प्रसारण लाइन नबन्नु र कम क्षमताको प्रसारण लाइनका कारण बिजुली खेर जाने गरेको छ ।

नेपालबाट सरदर ८.६७ रुपैयाँ प्रतियुनिटका दरले प्राधिकरणले भारतीय बजारमा विद्युत् बिक्री गर्दैछ। अर्थशास्त्रीका अनुसार प्रतियुनिट ८.६७ रुपैयाँ निर्यात गर्ने बिजुली स्वदेशमै खपत गर्न सकेको भए ४५ रुपैयाँ आम्दानी हुने अनुमान छ ।