खेलकुद

यु–१८ युथ लिग : चर्च बोइज युनाइटेड विजयी

By खबरहब

July 17, 2024

काठमाडौं – राजधानीमा जारी एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च बोइजले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

चर्च बोइजको जितमा अमनबहादुर तामाङले गरेको एक गोल नै निर्णायक बन्यो । उनले खेलको ४५औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै चर्चले तीन अङ्क जोडेको छ । यसअघि चर्च पहिलो खेलमा न्युरोड टिम (एनआरटी)सँग २–१ गोलले पराजित भएको थियो । थ्री स्टारको भने यो लगातार दोस्रो हार हो ।

थ्री स्टार लिगको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ७–२ गोलले पराजित भएको थियो ।