स्वास्थ्य

‘आमाहरूको मोबाइल लतले बालबालिकामा जलन बढ्यो’

By पवन मुडभरी

September 17, 2024

मानिस सुविधामुखी हुँदै जाँदा त्यसले छोड्ने दुष्प्रभाव पनि उत्तिकै छ । बिजुलीको झड्का, ग्यास सिलिन्डर चुहिएर हुने दुर्घटना र आयल निगमको प्रज्वलनशील पदार्थका कारण धेरै घट्ना हुने गरेका छन् । शहरदेखि गाउँसम्म यो प्रकोपले गाँजेको छ । तर जलनको उपचार काठमाडौं केन्द्रित हुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको छ । जलनको उपचार आफैँमा महँगो हुँदा यसको पहुँचबाट धेरै नेपाली टाढा छन् । अझ आश्चर्य त के छ भने बिजुलीको करेन्ट लागेर मानिस मर्छ, विद्युत प्राधिकरणले थाहा पाउँदैन । न ग्यास लिक भएर भएका घटनाप्रति ग्यास उत्पादकहरू संवेदनशील हुन्छन् । तेजाबका आपराधिक घट्नाका फेहरिस्त अझ डरलाग्दो छ । 

जलन उपचारको चेतनामा काम गरिरहेका अभियन्ताहरू नाफामूलक सरकारी संस्थानहरू नेपाल आयल निगम, विद्युत प्राधिकरणलगायत ग्यास उत्पादक कम्पनीहरूले नाफाको निश्चित रकम जलन अस्पतालमा प्रयोग गरी स्वास्थ्य चौकीसम्म उपचारको पहुँच विस्तार गरिनुपर्ने आवश्यकता देख्छन् । एकातिर सन्तान मोबाइल एडिक भएको गुनासो गर्ने अभिभावकहरूले सामाजिक सञ्जालप्रतिको आफ्नो लतमा नियन्त्रण गर्न नसक्दा भएका थुप्रै अनौपचारिक घट्नाको लेखाजोखा छैन । यसतर्फ सचेत हुन आमाहरूलाई जलन उपचारमा निरन्तर १७ वर्षदेखि अभियन्ताको काम गरिरहेका उज्वलविक्रम थापा सम्झाउँछन् । गाउँघरमा गाईबस्तुलाई पकाइएको कुँडो, उमालेको दूध, डढेलो र तातो पानीमा चोपलिएर हुने घटना त कति हो कति । 

वीर अस्पतालमा जलनबाट छटपटाइरहेकी बालिकाको पीडा देखेर जलनमा परेका व्यक्तिहरूको सेवामा लागेका उज्वलविक्रम थापा विगत १७ वर्षदेखि अनवरत यही सेवामा समर्पित छन् । यस क्रममा उनले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनका पक्षमा उल्लेखनीय काम गरे । एसिड आक्रमणविरुद्ध चलाइएको अभियानको फलस्वरुप ध्यान आकृष्ट गर्न कम्मर कसेका उनको लामो प्रयासपछि सरकार एसिड अर्थात तेजाब आक्रमणविरुद्ध कडा कानून ल्याउन बाध्य भयो । उनले रातदिन प्रधानमन्त्री निवास बालुवाटार धाएर सरकारलाई एसिड आक्रमण जस्तो जघन्य अपराधका विरुद्ध अध्यादेशमार्फत कानून संशोधन गर्न बाध्य पारेको बताए ।

एसिड आक्रमण विरुद्ध गरेको कामको कदर गर्दैसरकारले २०७७ सालमा पदकबाट विभूषित गरेको थियो । नेपालमा जलन सँगसँगै प्राकृतिक प्रकोपका घटनाहरु भइरहन्छन् यसको लागि पूर्वतयारी, उद्धार तथा राहतको अवस्था के छ ? सरकारले के गर्नुपर्छ ?जलन र उपचारको स्थिति के छ ? भन्ने विषयमा गरिएको वार्ता । 

 लामो समयदेखि समाजसेवामा लागिरहनुभएको छ । तपाईँलाई यो प्रेरणा कहाँबाट मिल्यो ?

मेरो घर सिन्धुली हो । त्यो बेलाको काठमाडौं जुनबेला हामी सानै थियौ, एउटा गाउँजस्तै थियो । त्यो बेलामा सिन्धुलीको मान्छेलाई कुनै दुख पर्दा आउने ठाउँ भनेकै मेरो बुवाको दैलो थियो । म जन्मिएकै खलकमा मेरो दिवङ्गत बुवा मोहनविक्रम थापा बिरामीलाई या पढ्न नसक्नेलाई या अपाङ्गता भएकालाई सहयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो । जन्मेदेखि नै त्यहीँ देखेँ र त्यहीँ घरमा हुर्किए । त्यसैले समाजसेवाको प्रेरणा मलाई मेरो घरबाटै मिल्यो । 

जलनजस्तो पीडादायी समस्यामा परेका व्यक्तिहरूको सेवा गरिरहँदा तपाईँले देखेका अत्यन्तै दुखदायी घटना कस्ता छन् ?

जलनको कुरा गर्नुपर्दा आज भन्दा १५-१६ वर्ष अगाडि जलेकी बालिका वीर अस्पतालमा देखेँ । जसलाई छोपेर राखिएको थियो । यो के रहेछ भन्ने जिज्ञासा लाग्यो । खोलेर हेर्दा मनुष्यले भोग्ने त्यो भन्दा अमानवीय पीडा अरु हुन्छ जस्तो लागेन । जिउँदो जल्नुको पीडा सायदै कुनै शब्दमा वर्णन गर्न सम्भव छ । 

नेपालमा कस्तो हुँदो रहेछ भने त्यो एउटा बालिकालाई सहयोगका लागि उनको अभिभावकले अर्कोसँग कुरा गरे । अर्कोले अन्य व्यक्तिसँग कुरा गरे । उनीहरूले मेरो नम्बर दिए । यो सिलसिला यसैगरी चल्दै गयो । अहिलेसम्म चलिरहेको छ । 

मलाई के लाग्छ भने पहिलो कुरा आजको दुनियाँमा कसैले कसैमाथि आश गर्दैन । गरिहाल्यो भने आशा छोड्नुहुँदैन भन्ने भावनाले यो सेवामा लागिरहेको छु । अब त बानी नै परिसक्यो । यो पीडामा कोही पनि नपरोस् भन्ने चाहना हो । तर वार्षिक रुपमा ६०-७० हजार जलनका घटना हुने देशमा दैनिक कोही न कोही मेरो सम्पर्कमा आउँछन् । सक्दो सहयोग गरेकै छु । 

त्यस्तै अर्को केश मकहाँ आएको थियो । बच्चाको खुट्टा पुरै जलेको कालो थियो । के गरेको भनेर सोध्दा आफन्तहरूले शीतल हुन्छ भन्दै स्वास्थ्यचौकीमा गोबर दलेको बताए । म हत्तपत्त नरिसाउने मान्छे तर त्यो देखिसकेपछि मैले फोन गरेरै मानव भएर जन्मिसकेपछि मान्छेको होस् या जनावरको दिसा लगाउनुहुँदैन भन्ने ज्ञान छैन तपाईँलाई भनेर गाली गरेको थिएँ । जुन अहिले पनि याद छ मलाई । यस्ता धेरै घट्ना छन् जुन मलाई सम्झिँदा पनि दुख लाग्छ । 

समाजसेवा गरिरहँदा एकदमै खुशी भएको सम्झिनलायक कुनै क्षण स्मरण गर्नुहुन्छ ?

खुशी भएका सम्झन लायक क्षणहरू धेरै छन् । जस्तै उदाहरणको लागि मेरो आफ्नै तीनजना छोरीहरू छन् । तर बुवाको मुख हेर्ने दिनमा मलाई १ हजार वटा म्यासेज आउँछ । त्यो भनेको हत्तपत्त कमाउन सकिने माया या भावना होइन । 

सबैभन्दा पीडामा भएको बेलामा जसले मल्हम लाउन आउँछ । जसले साथ दिन्छ, हात समात्छ, त्योसँग सेवाको भावना र नाता रगतको भन्दा कडा हुन्छ भन्ने मलाई लाग्छ र यो यथार्थ पनि हो ।  

रगतको नातामा यो त मेरो फलानो नाता पर्ने मान्छे हो, मैले उसलाई सहयोग गर्नैपर्छ भन्ने हिसाबमा गर्छन् । मैले मेरो १७ वर्षको अनुभवमा यदि मलाई कसैले सोध्यो भने आफ्नो र पराय हुँदैन । यो स्वार्थी सोच मात्रै हो । जलेको मान्छेको धेरैपटक शल्यक्रिया गर्नुपर्ने हुन्छ । उनीहरूको लागि रगत ल्याइन्छ । त्यो रगत दिएर ज्यान जोगाउने मान्छेलाई हामी पराई ठान्छौँ भने बेडको छेउमा बसेर एक गिलास पानी दिनेलाई आफन्त ठान्छौँ । 

जलनको घटना हुँदा मलाई धेरै टाढा जुम्ला, हुम्ला, डोल्पा, रोल्पालगायत धेरै ग्रामीण भेगहरुबाट फोन आउँछ । उनीहरु जति नै व्यस्त भएपनि म फोन उठाउँछु र उनीहरूको उपचारमा सक्दो सहयोग गर्छु र निको बनाएर पठाउँछु । घर गइसकेपछि पनि मलाई सम्झिरहन्छन् । यस्ता अनैकौँ पलहरू छन् , जसले मलाई खुशी प्राप्त हुन्छ । 

नेपालमा जलन सँगसँगै प्राकृतिक प्रकोपका घटनाहरू भइरहन्छन् । यसको लागि पूर्वतयारी, उद्धार तथा राहतको अवस्था के छ? सरकारले के गर्नुपर्छ ?

प्रकृतिलाई चुनौती दिनसक्ने कोही पनि छैन । जस्तै अघिल्लो वर्ष  नै हामीलाई जानकारी थियो कि यो वर्ष डढेलो धेरै हुन्छ । वर्षा पनि बढी हुन्छ भनेर । तर जुन देशमा दुइटा हातमा स्याउला दिएर प्रहरी खटाइन्छ । यस्तो देशमा पूर्वतयारी छ भन्नु लज्जास्पद विषय हो । 

त्यस्तै पहिरो हटाउन डोजर चल्ने ठाउँमा त डोजर जाला नभए बेल्चा र साबेल दिएर मान्छे खटाइन्छ । हालसालै त्रिशुलीमा खसेको बस अहिलेसम्म खोज्न सकेको छैन । हामी नेपालीहरूको सोच के छ भने पैसा र धन सम्पत्ति भए पुग्छ । आफूले ढोका थुनेर सुरक्षित भएपछि यो विश्व ठिक छ भन्ने भावना छ । 

व्यक्ति व्यक्तिको आआफ्नो जीवनशैली हुन्छ ।कसैको जीवन यसरी नै बाँच्नुपर्छ भन्ने कुनै मापन हुँदैन । तर सरकारमा, सत्तामा भएका मान्छेले त्यो गर्न पाउँदैनन् । उ जनसेवक हो, हामी नेपालीले उसलाई बढी नमस्ते गरेर भगवान बनायौँ । त्यसको प्रतिफल जो जुन निर्वाचन क्षेत्रबाट जितेर आउँछ, उ त्यहाँ जाँदै जाँदैन । गएपनि प्लेन चढेर सदरमुकाम जान्छ अरुको मतलव छैन ।  

गणतन्त्र आइसकेपछि जो व्यक्ति निर्वाचित भएर आए, उनीहरु ग्रामीण क्षेत्रको पीडा र समस्या बुझेका मान्छेहरू आएर अब परिवर्तन हुन्छ भन्ने मलाई लागेको थियो । तर परिवर्तनको त कुरै छोडौं, उनीहरुले त त्यो बुझाई पचाएर खाए । अब नयाँ पुस्ता आएको छ, जो शिक्षित तरे त्यो पीडा उसले बुझेको छैन भने समाधान कसरी गर्छ ?

अनि मैले मान्छेलाई भन्छु– जात, धर्म, अशिक्षा, धर्म, भूगोलका हामी कुरा गर्छौं । तर मैले गर्ने काममा कुनैपनि भेदभाव निष्पक्ष सेवा मात्रै छ । त्यसैले पक्षपातरहित समाज कसरी बनाउने भन्ने सिक्नका लागि नेताहरूलाई जलन अस्पताल आउनुस् भन्छु । 

करुणा र मानवता मरेको भएर यो देशको यस्तो दुर्गति भएको हो । वर्षैपिच्छे प्राकृतिक घटना हुन्छन् , हाम्रो तयारी शून्य छ । यसबारे सोच्ने नेताहरूलाई फुर्सद नै छैन । ८ बजे कुनै मन्त्रीलाई कार्यक्रममा बोलाइन्छ तर १० बजिसक्दा पनि आउँदैनन् । के उसको मात्रै समय बहुमूल्य हो त ? हामी दास, उनीहरु मालिक हो कि ? तर मैले यो कार्य गरिरहँदा म थाकेको पनि छैन । र हार मानेको पनि छैन । आफ्नो कर्ममा निरन्तर लागिरहेको छु । 

नेपालमा जलन र यसको उपचार अवस्था के छ ? जलनका तीन चारवटा पाटो छन् , जसलाई यो देशका नागरिकले बुझ्नुपर्छ । कुनै प्लेन दुर्घटना होला, ग्याँस पड्किएर होला, कुनै विद्युतीय कारणले होला । तर अधिकांश गरिबी र खुल्ला चुलाको कारण भइरहेको छ । स्रोत सुविधाको कुरा गर्नुपर्दा पहिलेको भन्दा अस्पतालहरू पनि खुले । वीर अस्पतालमा भर्खरै मात्र जलनको उपचार सुरुवात भयो । म के भन्छु भने निजीक्षेत्रले काम गरेर जलनको सहज उपचार सम्भव छैन । यसको लागि सरकारी सक्रियता आवश्यक छ । 

जस्तै टिचिङ अस्पतालमा ९ वटा बेड छ, कान्ति अस्पतालमा २२ वटा बच्चाका बेड छन् । तर समस्या कहाँ छ भने जलनको जतिसुकै अस्पताल खोल्नुस् , त्यो भुइँमान्छे जल्दा २ रुपैयाँ हुँदैन । त्यसैले जलन उपचार कोष नखोलीकन जतिसुकै अस्पताल खोले पनि गरिब यहाँसम्म आइपुग्नै सक्दैन ।

जलन उपचार कोष किन आवश्यक छ भने हामीले समाचारमा सुन्छौं– विद्युत प्राधिकरणले यसवर्ष अरबौं कमायो, आयल निगमले करोडौँ कमायो । मेरो भनाई के छ भने प्रज्वलनशील पदार्थ जस्तै ग्यास, पेट्रोलियम पदार्थ होस् या विद्युत यिनीहरुबाट वार्षिक १५औ १५ करोड रुपैयाँको जलन उपचार कोष खडा गरौँ न । जसले देशभर जलेका मान्छेको उपचार गर्न सकिन्छ । हामीकहाँ के छ भने जलेको मान्छेलाई ८ देखि १० घण्टामा सम्बन्धित ठाउँमा पुर्याएर उपचार दिनुपर्छ । पैसा छैन, सहुलियतको सिफारिस लिन गाउँ जान भन्छ । 

विपन्न तथा गरिब हो भने निवेदन दिएर ल्याउनुस् भन्छ । जलेको बच्चा बोकेर अस्पताल जाने किवडा कार्यालय दौडिने ? त्यसैले जलिसकेपछि जल्नुको कारण र मान्छेप्रति गरिने भेदभाव बन्द हुनुपर्छ । पीडितलाई पहिले उपचारको खाँचो हुन्छ, त्यसपछि मात्रै अन्य प्रक्रिया र कारणहरु खोज्नुस् । सबै मान्छेको आफ्नै आत्मसम्मान हुन्छ । एकाध मान्छे होलान् जसले हुँदाहुँदै पनि मसँग छैन भन्दै सहयोग माग्लान् । तर जलन अस्पतालमा उपचारका लागि आउने अधिकांश भुइँमान्छे साँच्चिकै निर्धन हुन् । त्यसैले जबसम्म उपचार कोष खोलिँदैन, तबसम्म कसैले पनि बचाउन सम्भव हुँदैन । 

प्रज्वलनशील पदार्थ उत्पादन गर्ने निकायहरूले उपचार कोष खडा गर्ने कुरा कत्तिको सम्भव छ ? हरेक अर्गनाइजेशनको सोसल रेस्पोन्सिबिलिटीको एउटा बजेट हुन्छ । सबैभन्दा पीडादायी मान्छे जल्ने कुरा हो । त्यसैले सीएसआर त्यहाँ लगाउनुपर्‍यो या सेफ्टीमा लाउनुपर्‍यो  या त जनचेतनामा लाउनुपर्‍यो । 

अहिले आफूखुसी लगाइरहेका छन् । सोध्यो भने स्कुलको भवन बनाउने, पानीको ट्याङ्की हाल्ने, त्यो उनीहरूको सीएसआर होइन । उनीहरूको सीएसआर भनेको ज्वलनशील पदार्थ हो । यसले आगलागी हुनसक्छ । यसरी बच्नुस्, प्राथमिक उपचार यसरी गर्नुस् । त्यही पनि यदि भइहाल्यो भने हामी उपचार गराउन कोष खडा गर्छौं भन्ने उनीहरूको दायित्व हो ।  

मलाई जानकारी भएअनुसार नाफाको १ प्रतिशत सीएसआरअन्तर्गत खर्च गर्नुपर्छ । तर आजसम्म न कुनै सुरक्षाको कुरा आएको छ, न जलनसम्बन्धी चेतना छ । विश्वको जुनसुकै देशमा पनि हाइटेन्सन वायर वा ठूला ठूला ट्रान्समिटर नजिकै एउटा मुर्कुटा छाप हुन्छ , जसले खतराको संकेत गर्छ । तर हाम्रो यहाँ कुनै पनि ठाउँमा त्यो छैन । 

उनीहरूले नेता खुशी पार्ने बाहेक अरु कुनै काम गरेको देखिँदैन । त्यसैले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो कोष उनीहरूले खोल्नै पर्छ । नखोले सरकारले दबाब दिएर भए पनि खोलाउन आवश्यक छ । 

विद्युतीय आगलागीमा परेका धेरै बच्चाहरूको बिजोग छ । कसैले कसको गल्ती भन्छन् , कसैले कसको गल्ती भन्छन् । अर्को एउटा ग्रामीण भेगहरूमा लघु विद्युत भन्ने पनि रहेछ । त्यसले जल्यो भने झन केही व्यवस्था छैन । वैकल्पिक उर्जाले लाइसेन्स दिने जिम्मेवार नहुने । यसरी गरिब तथा बालबालिकामाथि खेलवाड भइरहेको छ । त्यसैले जिम्मेवार निकायले कोष खोल्नुपर्छ नभए सरकारले दबाब दिएर भए पनि खोल्न लगाउनुपर्छ । सरकारले चाह्यो भने यो पक्कै सम्भव छ । 

सरकारले सबै प्रदेशहरूमा जलन उपचार खोल्ने भनेको छ, यसले पनि केही राहत  पुर्‍याउँछ  कि? जलनको सबैभन्दा ठूलो उपचार भनेको जनचेतना हो । मेरो भनाइ के छ भने ग्रामीण विद्युतीकरण गर्दाखेरि त्यहाँ गएर सिकाउनुपर्‍यो । गाउँ गाउँमा ग्यास पुऱ्याउँदा ग्यास कम्पनीहरू पनि त्यहाँ पुग्नुपर्यो । उनीहरु आफ्नो कर्तव्य केही नगर्ने त छँदैछ, जलिसकेपछि उपचार पनि नदिने कस्तो विडम्बना ? मकहाँ त कस्ता कस्ता घटना आउँछन् भने ७औ८ वर्षका बच्चाहरू हाइटेन्सन पावरमा परेर हातखुट्टा छैन । यसको कारण खोजी गर्नुपर्यो । मान्छे मरिसक्छ, त्यो खर्बौँको कमाई के काम? विद्युत प्राधिकरण, आयल निगम या ग्यास कम्पनीहरूलाई यस्तो उपचार गराउनु कुनै ठूलो कुरा होइन । 

यदि उनीहरूले जिम्मेवारी नलिने भएपछि सरकारले आफूले जिम्मा लिएर उनीहरुमार्फत उपचार कोष खडा गरेर जलेर आउने नागरिकलाई निशुल्क उपचार दिनुपर्छ । जस्तै क्यान्सर, मिर्गौलाका बिरामीलाई राहत दिएको छ, त्यसैगरी जलनलाई पनि दिन आवश्यक छ । 

यो कुनै जीवनशैलीमा आधारित रोग होइन । अकस्मात् हुने दुर्घटना हो । कुनै कुनै २, ४ वटा घटना अपराध हुन् । तर अधिकांश दुर्घटना नै हो । जीवनशैलीमा आधारित रोगलाई भने सरकारले पैसा दिने दुर्घटनामा परेर सबैभन्दा मानव पीडामध्येको एक नम्बरमा पर्छ । एउटी महिलाले बच्चा जन्माउँदा जुन दुख र पीडा सहन्छिन् , त्यो विश्वको २ नम्बरमा पर्छ भने एक नम्बरमा जिउँदै जल्ने हो । 

त्यति पीडादायी चिज जसमा धेरै गरिबहरू जल्छन् , जसलाई कसैले सम्बोधन नै गर्दैनन् । सबै प्रदेशहरूमा जलन अस्पतालको कुरा छ । सबै ठाउँमा अस्पताल चाहिने होइन । प्राथमिक उपचार चाहिने हो । 

प्राथमिक उपचारको बारेमा ज्ञान बाँड्ने एउटा पाटो भयो । प्रदेशले कति बिरामीलाई त्यहाँ उपचार गर्न सक्ने, कतिलाई रेफर गर्ने त्यो अर्को पाटो हो । अर्को जटिल समस्या के छ भने शिक्षण अस्पताल १६-१७ कतिवटा छ, जुन सहरैपिच्छे छ । त्यहाँ जलनको एउटा च्याप्टर पढाइन्छ । तर जलन सम्बन्धी ज्ञान दिइँदैन । किनकी जलन कक्ष नै छैन । त्यसैले शिक्षण अस्पतालहरूमा जलन कक्ष अनिवार्य गरियोस् । ताकि भविष्यका डाक्टर तथा नर्सहरूले पनि जलनको उपचार गर्न सिकून् । 

अहिले त जटिल अवस्था के छ भने जसको बच्चा दुर्घटनामा पर्छ, ऊ पहिला त पैसा खोज्न थाल्छ । जस्तै सोलुबाट कुनै बिरामी आउनुपर्‍यो भने ६० घण्टा लाग्छ । यदि उपचार कोष छ र जलिहाल्यो भने नजिकको स्वास्थ्यचौकीमा ल्याउनुस् भन्यो भने सबैले ल्याउँछन् । यो स्थितिमा मान्छेलाई बचाउन सकिन्छ । 

यो कुनै ठुलो कुरा पनि होइन जतिपनि मान्छे जल्छन् , त्यसको १२ देखि १५ प्रतिशतलाई मात्रै अस्पतालमा राखेर उपचार गर्नुपर्ने हुन्छ । नेपालमा ७० हजार मान्छे जल्छन् भने ८ हजारलाई अस्पतालमा राख्नुपर्ने हुन्छ । त्यसैले प्रादेशिक अस्पताल भन्दा पनि जहाँ शिक्षा दिइरहेको छ, पहिले त्यहाँ चाहिँ लागू गर्नुपर्छ । 

देशका विभिन्न ठाउँमा गएर सेवा दिनुहुन्छ । कुन प्रदेशमा जलनका घटना बढी हुने गरेको पाउनुभएको छ ? प्रदेशमा कहाँ धेरै जल्छन् भन्नु भन्दा पनि सबै अस्पताल काठमाडौंमा भएकाले नजिकका प्रदेशबाट बिरामी चाँडो आइपुग्छन् । टाढा ग्रामीण भेगका बिरामीहरू ल्याउन सम्भव नै छैन । किनभने ६–७ दिन लगाएर काठमाडौँ ल्याउँदा त मान्छे मरिसक्छ । त्यसैले यताको र उताको चिकित्सकबीच कुरा गराएर प्राथमिक उपचार स्थानीय स्वास्थ्यचौकीमै गराएर मात्रै ल्याउने हो । 

विश्वमा हामी नेपालीले अनेकौँ रेकर्ड राखेका हौँला तर हाम्रो सेना मात्रै हो, जसकोमा जलन उपचार कक्ष नै छैन । युद्ध भनेपछि बम बारुद आगो जे पनि हुनसक्छ । उनीहरुकै व्यक्ति जल्दा सैनिक अस्पतालमा जलन उपचार कक्ष छैन । यो विश्व रेकर्ड नेपाललाई थाहा हुनुपर्छ । अनेकौँ घटनाहरू छन् , जहाँ प्रहरीका जवान जलेका छन् । तर प्रहरीकै अस्पतालमा उपचार हुँदैन । 

सशस्त्र प्रहरी जसले डिजास्टर म्यानेजमेन्ट हेर्छ, त्यहाँ पनि जलन उपचार कक्ष छैन । त्यसैले जलनलाई त यति हेपेका छन् भनेर साध्य नै छैन । निजीक्षेत्रमा सबै थोकको उपचार हुनुपर्छ । पहुँच भएकाहरू र तिर्नसक्ने मान्छे स्वेच्छाले जान्छन् । तर सक्दै नसक्ने भुइँमान्छेको जिम्मा सरकारले बोक्नैपर्छ । वीर अस्पतालमा यसको सुरुवात भएको छ । यो सेवा सेना, प्रहरी, सशस्त्र सबै अस्पतालहरूमा हुनुपर्छ । माओवादी युद्धताका भूमिगत राखिएका विस्फोटक पदार्थ पड्किएर अहिले पनि धेरै बालबालिकाले ज्यान गुमाइरहेको अवस्था छ । यो परिस्थितिमा सेना–प्रहरीले तत्काल जलन उपचार व्यवस्था मिलाउन आवश्यक छ । 

पहिलेको भन्दा परिवर्तन भएको छ, सामाजिक सञ्जालका कारण चेतना पनि बढेको छ । अस्पतालहरू पनि धेरै छन् । यो क्षेत्रमा काम गर्ने दक्ष चिकित्सक नर्सहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । उपचारमा खर्च कति लाग्छ भन्ने कुरा छुट्टै पाटो हो । तर उपचारमा सुधार भएको छ । 

कुन कारण जल्दा कस्तो प्राथमिक उपचार आवश्यक हुन्छ ? अधिकांश घरायसी तातो तेल, तातो दूध, तातो पानी या अन्य तातो वस्तु जुनसुकै कारणले जले पनि पहिलो उपचार भनेको पानी नै हो । जल्ने बित्तिकै १५ देखि २० मिनेट पानीले पखालिरहने त्यसपछि मात्रै शरीर जल्न छोड्छ । त्यसपछि सफा कपडाले छोपेर बाहिरी फोहोरबाट जोगाउँदै अस्पताल लिएर जाने । 

अस्पताल टाढा छ र बिरामी पानी पिउन सक्ने अवस्थामा छ भने जीवनजल खुवाउँदै गर्ने हो । यदि बेहोस छ भने स्लाइन लगाएर ल्याउने । जाडो महिनामा अत्यधिक जलन हुन्छ, त्यसमा पनि वृद्धवृद्धाहरू धेरै पर्ने गर्दछन् । दियो बोल्दाखेरी होस् गर्ने । पुजाकोठामा पर्दा नलगाउने । मोबाइल फोनको प्रयोग भान्सामा नगर्ने । काखमा बच्चा राखेर एक हातले मोबाइल चलाउँदै तातो चिया कफी नपिउने । 

धेरै महिला दिदी बहिनी रिसाउलान् तर अहिले बच्चा भन्दा मोबाइल प्यारो भएको छ । बच्चाहरू चञ्चल हुन्छन् , त्यसैले मोबाइल भन्दा बढी बच्चाहरूको रेखदेख गर्नुपर्छ । हाम्रो सामान्य एकैछिनको गल्तीले बच्चाको भविष्य नै बिग्रिन सक्ने भएकाले उनीहरूको लागि पनि हामीले धेरै सचेतना अपनाउन आवश्यक छ । 

त्यस्तै कोठामा ग्याँस गन्हाएको छ भने बत्ती नबाल्नुहोस् , सबैभन्दा पहिले झ्याल ढोकाहरू खोल्नुहोस् । आगो ताप्‍दा मुख फर्काउने, घाम ताप्‍दा ढाड फर्काउने ढाड फर्काएर आगो ताप्‍दा ढाडमा जलेको पत्तै हुँदैन ।