महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अस्ट्रेलिया, न्युजिल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका पुगेका छन्। यी चार टोलीमा दक्षिण अफ्रिकाको उपस्थिति धेरै अर्थमा विशेष छ। दक्षिण अफ्रिका त्यही देश हो, जुन देशको पुरुष टोली धेरै पटक उपाधिको होडमा रहेर कहिले वर्षाले रुवायो त कहिले सूर्यकुमार यादवले बाउन्ड्री लाइनमा लिएको विवादास्पद क्याचले रुवायो।
दक्षिण अफ्रिका त्यही देश हो, जुन देशले समानताका मुद्दामा धेरै वर्ष बिताएको छ। यसै समानताको मुद्दामा दक्षिण अफ्रिका अल्झिरहेको समयमा अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरेको थियो। आरोह र अवरोह सहेको दक्षिण अफ्रिका फेरि एक पटक क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। त्यो भिडन्त परम्परागत प्रतिद्वन्द्वी अस्ट्रेलियासँग नै हुनेछ।
सन् २०२४ को दक्षिण अफ्रिकी सेमिफाइनल यात्रामा पर्दा पछि र अघि केही महत्त्वपूर्ण नामहरू जोडिएका छन्। कुनै समयमा चर्चित स्पिनर पाउल एडम्स टोलीका मोटिभेटर इन चिफ छन्। लाउरा उल्भडार्ट टोलीको सफल कप्तानको रूपमा धेरैले नाम लिने गरेका छन्। उनकै विचारमा पनि एडम्सले केही नयाँ प्रयोग गर्न चाहन्छन्। यसै नयाँ प्रयोग गर्ने कुरामा उनी खेलाडीलाई रोसँग नयाँ योजना सुनाउने गर्छन्।
एडम्सको मुख्य काम भनेकै स्पिन बलिङलाई धारिलो बनाउनु हो। नोन्क्लुबे म्लाबा, क्लोयस ट्रोयन, सुन लु र सुसन लाइडुसँगको उनको सहकार्य यथावतै छ। उनको प्रशिक्षणको असर म्लाबामा देखिएको छ। उनी अहिले प्रतियोगितामा अहिलेसम्म दोस्रो धेरै विकेट लिने खेलाडी हुन्।
सबैलाई माया गर्ने र प्रेरित गर्ने एडम्सको आदत नै टोलीको यो यात्राको सफलता भएको कप्तान उल्भडर्ट बताउँछिन्। गत वर्षका असिस्टेन्ट हेड कोच डिलियन डु प्रिज मुख्य प्रशिक्षक भएका छन्। यसपछि नै अन्य केही कोचिङ स्टाफ तय गरिएका हुन्। दक्षिण अफ्रिकाले पहिलो पटक ब्याटिङ प्रशिक्षक चयन गरेको छ। बकायर अब्राहम ब्याटिङ प्रशिक्षक छन्।
सन् २०२३ मा दक्षिण अफ्रिकी टोली फाइनलमा प्रवेश गरेको थियो। त्यसपछि अहिलेको दक्षिण अफ्रिकी टोलीमा केही नयाँपन र नयाँ अनुहार देखिएका छन्। यसले केही सुधार आउने कुरामा दक्षिण अफ्रिकी कप्तानको विश्वास छ। यस वर्षको सुरुवातमै दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराइ सकेको छ। यो जित एक दिवसीय र टी-२० मै हो। यस कारण दक्षिण अफ्रिकी टोली आशावादी पनि बनेको छ।
गत वर्षको फाइनलमा अस्ट्रेलियाले लगातार तेस्रो पटक उपाधि जितेको थियो। अहिले दक्षिण अफ्रिकी टोलीको भेट अस्ट्रेलियासँग सेमिफाइनलमा नै हुँदैछ। पहिलो चरणमा इंग्ल्यान्डसँगको हारको कारण दक्षिण अफ्रिकी टोली समूहमा दोस्रो भएको हो। समूह ‘ए’ भन्दा रोमाञ्चक भएको समूहमा बिमा वेस्ट इन्डिज, दक्षिण अफ्रिका र इंग्ल्यान्ड तीन वटै टोलीले समान तीन जित हात पारेका थिए।
अहिले प्रतियोगितामा अस्ट्रेलियाकी फास्ट बलर टायला भ्लेमिन्क चोटका कारण मैदान बाहिर छन्।
दक्षिण अफ्रिका र अस्ट्रेलिया बिचको टी-२० हेड टु हेड रेकर्ड एक पक्षीय झैँ देखिएको छ। यी २ बिच १० खेल हुँदा एकमा मात्र दक्षिण अफ्रिकाले सफलता पाएको छ। गत जनवरीमा क्यानबेरामा भएको एउटा खेलमा मात्र दक्षिण अफ्रिकाले सफलता पाएको थियो। बिहीबार सेमिफाइनल खेल हुने दुबईको मैदानमा दक्षिण अफ्रिकाले यस अघिका तीन वटै खेलमा सहभागिता जनाएको थियो भने अस्ट्रेलियाले एउटा मात्र खेल खेलेको थियो।
सो मैदानमा औसत पहिलो पारीको रन १२६ हो। सबै भन्दा धेरै रन भारतले श्रीलङ्कासँग प्रहार गरेको १७२ रन हो। अस्ट्रेलियाको यो सफलताको कथामा पेस बलर मेगन स्कटको अहिलेसम्मको प्रदर्शन प्रमुख रहँदै आएको छ। उनको हरेक स्पेल उत्तिकै कामीयाव रहे। श्रीलङ्का विरुद्धको खेलमा स्पिन अनुकूल पिचमा पनि १२ रनमा ३ विकेट लिएर उनले प्रतियोगिताको सुरुवात गरेकी थिइन्। न्युजिल्यान्डसँग ३ रनमा ३ विकेट लिएकी उनले पाकिस्तानसँग ३ ओभरमा ७ रन दिएर १ विकेट लिएकी हुन्। भारतसँगको खेलमा पहिलो ३ ओभरमा २४ रन खर्चेकी उनले दोस्रो स्पेलमा एक रन मात्र दिएकी थिइन्।
दक्षिण अफ्रिकाका ताजमिन बिट्सको सानदार पारीको सुरुवात नै सफलताको एउटा आधार बनेको छ। यस प्रतियोगिताको पछिल्ला दुई पारीमा ४० रनको आँकडा पार गरेकी उनले यस वर्षको सुरुवातमा अस्ट्रेलियासँग पाएको सफलतामा २८ बलमा ४१ रन प्रहार गरेकी थिइन्।
दक्षिण अफ्रिका र अस्ट्रेलिया दुवै टिम गेममा नाम चलेका देश हुन्। हक्की, रग्बी , बास्केटबल र फुटबलमा क्षेत्रीय रूपमा त यिनीहरूको प्रभाव छ। क्रिकेटमा यी दुवै विश्व स्तरीय शक्ति भएको कुरा नकार्न मिल्दैन। सन् २०२३ को आलो घाउ दक्षिण अफ्रिकीको मनमा ताजै छ।
दक्षिण अफ्रिकाले एउटा नयाँ नीति बनाएको छ। अस्ट्रेलियाको स्कोरिङ रेटलाई नियन्त्रणमा लिन बलिङ युनिट चनाखो हुनुपर्नेमा उनीहरू सचेत छन्। ६ पटकको च्याम्पियन अस्ट्रेलिया र १ पटकको उपविजेता दक्षिण अफ्रिका बिचको यो भेट दुई चोट पछिको हो।
सन् २०२३ मा घरेलु दर्शकका अघि महिला टोली उपाधि जित्न चुकेको थियो। यस पटक पीडा भुलाउने मौका दक्षिण अफ्रिकाका सामु फेरि आएको छ। स्रोत : क्रिकइन्फो, अलजजिरा